यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट झापामा  जन्मियो बच्चा

मंगलबार, ०३ पुस २०८०
झापा । झापाको सुरुङ्गापछि दमकमा यौनिक तथा लैङ्गिक अल्पसख्यक समुदाय (तेस्रो लिङ्गी) बाट बच्चा जन्मिएको छ । लिड नेपाल झापाकी प्रमुख नुमा लिम्बू ‘चञ्चला’ले दिएको जानकारी अनुसार दमकमा हालै यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदायले बच्चा जन्माएका हुन् । यसअघि सुरुङ्गा घर भएका अन्तरलिङ्गी समुदायका व्यक्तिले नोवेल अस्पतालमा बच्चा जन्माएका थिए । तर, पछिल्लो समय दमकमा रहेका अन्तरलिङ्गीले बच्चा जन्माएका हुन् । अहिले पनि मेरो सम्पर्कमा १२ जना छन्– चञ्चलाले भनिन्– अन्तरलिङ्गी समुदायले बच्चा जन्माएको यो पहिलो होइन्, मेरो रेकर्डमा झापाका १२ जना छन् । अन्तरलिङ्गी भनेका महिला तथा पुरुषका दुबै अंग लिएर जन्मिएका हुन्छन्– चञ्चलाले भनिन्– त्यस्तो समुदायबाट बच्चा जन्माउन सम्भव छ । भर्खरै मात्रै दमकमा ‘इन्टरसेक्स’ समुदायबाट बच्चा जन्मिएको हो । लिड नेपालको कार्यालयमा यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा जानकारी गराउँदै नुमना लिम्बू चञ्चला (दायाँ) र रुविना नेपाल (बायाँ) । सामान्यतया कोही व्यक्ति शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक र अन्य हिसाबले आफूलाई महिलाका रूपमा मान्छ या कोही शारीरिक रूपमा महिलाका रूपमा जन्मिएर पनि भावनात्मक र अन्य हिसाबमा आफूलाई पुरुष ठान्छ भने उनीहरु लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायभित्र पर्दछन् । यस्तै समुदायबाट दमकमा बच्चा जन्मिएको हो– चञ्चलाले भनिन् । खासगरी यौनिक तथा लैङ्गिक अल्पसख्यक समुदायभित्र पनि बिभिन्न ‘फ्याक्टर’ हुने उनको भनाइ छ । उनका अनुसार यो समुदायभित्र लैङ्गिक तथा यौनिक अल्पसख्यक लेस्बियन (महिला समलिङ्गी), गे (पुरुष समलिङ्गी), बाइसेक्सुअल (उभयलिङ्गी), ट्रान्सजेन्डर (पारालिङ्गी पुरुष÷महिला), इन्टरसेक्स (अन्तरलिङ्गी), असेक्सुअल ( प्रत्यक्ष लिङ्ग वा लैङ्गिक इन्द्रिय नभएको) आदि हुन्छन्, जसलाई छोटकरीमा ‘एलजिबिटिआइक्युए’ भनिन्छ । फरक खालको यौन अभिमुखीकरण र लैङ्गिक पहिचान भएका कारण यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरुमाथि विभिन्न लाञ्छना र अमानवीय व्यवहार हुने गरेको रुविना नेपाल बताउँछिन् । उनी भन्छिन्– ‘हाम्रो समाजले अहिले पनि हामीलाई स्वीकार गर्न सकेको छैन । तर, पहिचानका लागि पनि हामी संघर्षरत छौं ।’ उनी लिड नेपालमा आवद्ध छिन् । उनले यौनिक तथा लैङ्गिक अल्पसख्यक समुदायका मुद्दा बोकेर हिँड्ने गरेकी छिन् । हामीलाई ‘रेन्ट’ मा बस्नदेखि नै समस्या हुन्छ– नेपालले भनिन्– कोठा खोज्दा शुरुमा हामीलाई कोठा दिइन्छ तर पछि हामी फरक समुदाय (इन्टरसेक्स) भन्ने थाहा पाएपछि हामीलाई विभिन्न वहाना बनाएर निकालिन्छ’– रुविनाले भनिन्– हामी अहिले लैङ्गिक पहिचानसहितको मुद्दामा केन्द्रीत छौं । जन्मदर्ता, नागरिकता, राहदानी, विवाहदर्ता प्रमाणपत्रको समस्याबाट पीडित छौं । कतिपयले नागरिकता बनाउनुभएको छ, कतिपयको जन्म दर्ता नै हुनसकेको छैन, हामी त्यसैको लडाइँमा छौं ।’ हामीलाई कोठा बस्ता होस् या त बाहिर कतै हिँड्दा नै किन नहोस् अझैं पनि ‘ह्यारेस्ट’ गर्छन्– रुविनाले भनिन् । सम्वाद समूहले केही दिनअघि झापाको दमकमा रहेको लिड नेपालको कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भनिन्– हामीलाई सार्वजनिक ठाउँमा पनि हरेक कुराले असर गर्छ । सार्वजनिक शौचालय प्रयोग गर्न जाँदा हामी कहाँ जाने उनले प्रश्न गरिन्– ‘सार्वजनिक शौचालय त महिला र पुरुषका लागि मात्रै बनेको हुन्छ, त्यस्तो अवस्थामा हामी कति समस्यामा पर्छाैं । बिस्तारै खुल्दैछन् यौनिक तथा लैड्डिक अल्पसख्यक समुदाय परिवार र समुदायबाट नै बहिस्कारमा परेको यौनिक तथा लैङ्गिक अल्पसख्यक समुदाय अहिले बिस्तारै खुल्दै गएको लिड नेपाल झापाकी प्रमुख नुमाले बताइन् । ‘हिजोसम्म हामी खुलेर हिँड्न सक्ने अवस्थामा थिएनौं तर, अहिले हाम्रो समुदायपनि बिस्तारै खुल्दैछ’– नुमाले भनिन् । सवल र सक्षम हुने केही व्यक्तिले आफ्नो शारीरिक बनावट नै परिर्बतन गरेका छन्– आफ्नै उदाहरण दिँदै उनले भनिन्– म पनि त्यसभित्रै पर्छु । तर, सबै सक्षम हुँदैनन्, उनीहरुलाई अहिले पनि समाजले हेर्ने दृष्टिकोण फरक छ, हामी त्यस्तालाई समाजमा खुल्ने वातावरण सृजना गर्न प्रयत्नरत् छौं । तर, राज्यपक्षबाट नै हामीहरुलाई उपेक्षा हुने गरेको छ भन्दै उनले दुःखेसो पोखिन् । ‘बैंक तथा वित्तीय संस्थाले अहिले पनि हामीलाई ऋण दिँदैन, केही गर्छु र समाजमा सबल भएर हिँड्छु भन्दा राज्यबाट नै उपेक्षामा परेका कारण हामीलाई समस्या हुने गरेको छ’– नुमाले भनिन्– तर, राज्यसंग पनि कानूनी लडाइँ लड्दै हामी बाहिर निस्किएका छौं, अब हामी आफ्ना अधिकारका लागि पछि हट्दैनौं । यही समुदायकी ब्रियना राई अहिले आफ्ना अधिकारका लागि लडाइँ लडिरहेकी छिन् । उनी अहिले २२ वर्षकी भइन् । पाँच वर्षअघिसम्म उनी छोराका रुपमा समाजमा चिनिएकी थिइन् तर अहिले शारीरिक परिर्वतनसँगै आफूलाई छोरीका रुपमा चिनाउन संघर्षरत् छिन् । पहिला परिवारसंग अहिले राज्यसंग ब्रियनको लडाई पहिला परिवारसंग र अहिले राज्यसंग आफ्नो अधिकारका लागि लडाइँ म लड्दै छु– ब्रियनाले भनिन्– म यौनिक अल्पसंख्यक समुदायको हुँ भन्ने पत्तो नपाउँदासम्म बाध्यताले पुरुषको स्वरूपमा परिवारसँग लडाइँ गरिरहेँ, तर अहिले म महिलाका रुपमा चिनिन राज्यसंग लडाइँ गर्दैछु । त्यसो त बिद्यालयमा हुँदा आफ्नो हाउभाउका कारण साथीभाइको खिसिट्युरीबाट आजित बनेकी उनी अहिले सबै कुरालाई बेवास्ता गर्दै निर्धक्क जिउन पाउने अधिकारको लडाइँमा लागेकी छिन् । उनले लिड नेपालको कार्यालयमा आयोजित कार्यक्रममा भनिन् – मसँग पुरुष हुँदाको नेपाली नागरिकता र शैक्षिक प्रमाणपत्र छ । अहिले पुरुषको नागरिकता त्यागेर ब्रियना नामको नागरिकता लिने लडाइँमा लागेकी हँु । कक्षा १० पास गरेपछि आफू केटा होइन भन्ने पत्तो पाएँ– उनले भनिन्– त्यसपछि मेरा दुःखका दिन शुरु भए, ब्रियनाले भनिन्– बुवाको निधन र आमाले अर्को विवाह गरेर गएपछि जीवनको यात्राले अर्को मोड लियो । जसका कारण मेरो पढाइ समेत पूरा हुन सकेन । कक्षा ११सम्म अध्ययन गरेकी उनले नागरिकता ब्रियनाको नाममा नभएकाले रोजगारीबाट वञ्चित हुनु परेको दुःखेसो पोखिन् । ब्रियनाको जस्तै बिर्तामोडकी पल्लवी मगरको पनि समस्या छ । २३ वर्षीया पल्लवी आफ्नो पहिचान खुल्ने नागरिकता नहुँदा जागिरबाट बञ्चित हुनुपरेको बताउँछिन् । कक्षा १२ सम्म अध्ययन गरेकी उनी अहिले राज्यसंग आफ्नै पहिचानको लडाइँमा छिन् । ‘मसँग पुरुष हुँदाको नागरिकता छ, अहिले म पल्लवी हुँ। अहिलेको नागरिकता छैन मसँग– उनले भनिन्– सरकारले विभेदकारी कानून ल्याएकाले पनि हामी जस्ताले सहजै नागरिकता लगायतका सेवा राज्यबाट पाउन सकेका छैनौं । त्यसो त २०६४ पुस ६ गते सर्वोच्च अदालतले लैंगिक पहिचानसहितको नागरिकता दिनु भनेर फैसला गरे पनि नागरिकता लिएपछिको प्रावधान सहज तरिकाको नभएको चञ्चलाको भनाइ छ । नागरिकताको पहुँचमा आफ्नो समुदायका नागरिक नहुँदा राज्यबाट प्राप्त गर्ने कुनै पनि सेवासुविधा धेरैले पाउन सकेका छैनन् । जस्तै यही समुदायका नागरिकले वृद्धभत्ता जस्ता सेवा लिनबाट बञ्चित हुनु परेको चञ्चलाको भनाइ छ । नेपालको जनजणना २०७८ अनुसार कोशी प्रदेशमा यौनिक तथा लैंगिक अल्पसंख्यकको समुदायको संख्या ४ सय २० को हाराहारीमा देखाइएको छ । तर, झापामा नै यौनिक तथा लैंगिक समुदायको संख्या २० हजार रहेको उनको तर्क छ । नेपालको जनगणना २०७८ ले हाम्रो समुदायभित्र पर्नेको देशभरको संख्या २९०० देखाइए पनि हामी दश लाखको हाराहारीमा छौं– चञ्चलाले भनिन् । समलिंगीको विवाह हुन्छ, दर्ता गर्न समस्या झापामा धेरै समलिङ्गीले विवाह गरेका छन् । तर, विभेदकारी कानूनका कारण समलिङ्गीको विवाहलाई कानूनी मान्यता दिलाउन समस्या हुने गरेको नुमाको भनाइ छ । यस्तो विभेदकारी कानून संशोधन हुनुपर्छ– उनले भनिन्– राज्यका लागि नागरिक सबै बरावर हुन्, हामीलाई चाहिँ किन आरक्षण कोटामा समेत अटाइँदैन ? विवाह दर्ता मात्र होइन हामीलाई लोक सेवा आयोग खुलाउँदा समेत कोटा छुट्याइँदैन, यो राज्यको विभेद होइन्– उनले प्रश्न गरिन् – हामी यौनिक तथा लैङ्गिक अल्पसख्यक भएर जन्मनुमा के दोष छ ? तर, राज्यले नै हामीलाई दोषी बनाइदिन्छ । चञ्चलाले अरु देशमा झैं नेपालमा पनि समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने व्यवस्था बनाउन माग समेत गरेकी छिन् । उनले सीमान्तकृत लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायमाथि हुने सबैखाले विभेद अन्त्य गरी महिला÷पुरुष सरह सम्मानजनक बाँच्न पाउने संवैधानिक अधिकार व्यवहारमा सुनिश्चित गर्न माग गरेकी छिन् । त्यस्तै हरेक राजनीतिक दलका सबै तहका समिति र आसन्न तीनै तहको निर्वाचनमा सीमान्तकृत लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समेत माग गरिन् । उनले सरकारी निकाय, निजी क्षेत्र तथा राजनीतिक लगायत सबै क्षेत्रमा आरक्षणको व्यवस्था गर्न समेत माग गरेकी छिन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार