उद्योगी राजेन्द्र राउतले २ अर्ब ५० करोड लगानीमा नयाँ अस्पताल बनाउने 

बुधबार, ०४ पुस २०८०
विराटनगर । उद्योग, वाणिज्य र निर्माणको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका विराटनगरका प्रतिष्ठित उद्योगी राजेन्द्र राउतले स्वास्थ्य क्षेत्रमा लगानी गर्ने भएका छन् । उनले मोरङको बूढीगंगा गाउँपालिका–१ टंकीसिनवारीमा २ अर्ब ५० करोड रुपैयाँ लगानी गरेर नयाँ अस्पताल निर्माण गर्न लागेका हुन् ।
अस्पताल राउतकै शिवम् अर्गनाइजेसनले निर्माण गर्ने छ । बुधवार शिलान्यास गरिएको अस्पतालको नाम ‘आरआर इन्टरनेशनल हस्पिटल’ राखिएको छ । मुटु रोगको उपचारलाई प्राथमिकतामा राखेर अर्गनाइजेसन परिसरकै १८ कट्ठा क्षेत्रफल जग्गामा अस्पताल निर्माण गरिने राउतले बताए ।
उनी आफैँ अस्पताल सञ्चालक समितिका अध्यक्ष हुन् भने छोराहरू प्रतीक र प्रत्यूष राउत सञ्चालक समिति सदस्य छन् । राउतले बर्सेनि हजारौँको सङ्ख्यामा बिरामीहरू उपचारका लागि काठमाडौँ र भारतसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले नयाँ एवं सुविधा सम्पन्न अस्पताल सञ्चालन गर्न लागिएको बताए ।
उनका अनुसार सुरुवातमा अस्पताल २ सय शैयाको हुने छ । त्यसमध्ये सय शैयाको ‘मल्टी स्पेशलिटी अस्पताल’ सञ्चालन गर्ने र क्रमशः ३ सय शैयासम्म विस्तार गर्ने लक्ष्य छ । शिलान्यासपछि आयोजित पत्रकार सम्मेलनमा राउतले नेपाल सरकारबाट निर्धारित कानुनी प्रक्रिया पूरा गरेर बनाउन लागिएको अस्पतालको निर्माण अवधि ३ वर्षको भएपनि २ वर्षभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याइने जानकारी दिए ।
उनले उद्योग, वाणिज्य र निर्माण क्षेत्रसँगै मानवीय भावनाले गुणस्तरीय स्वास्थ्य सेवामा योगदान दिनका लागि नयाँ अस्पताल निर्माण गर्न लागिएको जानकारी दिए ।
नाफामूलक क्षेत्रपछि सेवामूलक स्वास्थ्य क्षेत्रमा अघि बढ्न लागेकाले चुनौती र अवसरलाई आत्मसात् गर्दै सेवा प्रवाह गर्नतर्फ ध्यान दिने उनले बताए । भने, ‘उपचारका लागि विदेशसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्य छ । आगामी दिनमा पारा मेडिकल, मेडिकल, नर्सिङ कलेजसमेत सञ्चालनमा ल्याउने लक्ष्य छ ।’ बूढीगंगामै विराट शिक्षण अस्पताल र नजिकै विराटनगरमा नोबेल शिक्षण अस्पताल छन् ।
राउतले अस्पतालबाट मुटु रोगको उपचारलाई प्राथमिकतामा राखेर २४ घण्टा नै आकस्मिक तथा क्याथ ल्याबजस्ता विशिष्टिकृत उपचार सुविधा प्रदान गरिने बताए ।
साथै, जनरल मेडिसिन, न्युरो सर्जरी, जनरल सर्जरी, मिर्गौला रोग, मुत्ररोग, प्रसूति तथा स्त्रीरोग, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नशाको विशिष्टिकृत उपचार सेवा उपलब्ध गराउने योजना रहेको जानकारी दिए । सबै किसिमका शल्यक्रियामा आधुनिक र विश्वसनीय प्रविधि तथा उपकरणको प्रयोग गर्ने योजना छ ।
राउतका अनुसार स्वास्थ्य सेवामा रोगको पहिचान अत्यन्तै महत्त्वपूर्ण पाटो भएकाले ‘डाइग्नोस्टिक डिपार्टमेन्ट’लाई अन्तर्राष्ट्रिय स्तरको बनाइने छ । देशको समग्र स्वास्थ्य सेवाको माग र आपूर्ति तथा गुणस्तरबिचको खाडल कम गर्न खुला अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास उनको छ ।
आरआर अस्पताललाई एउटा व्यावसायिक घरानाको मात्र नभएर कोसी प्रदेशकै सम्पत्ति र सेवाग्राहीको विश्वासको केन्द्रका रूपमा स्थापित गराउने उद्देश्य रहेको उनले बताए ।
लामो समयदेखि उद्योग व्यवसायका क्षेत्रमा आबद्ध राउतले गार्मेन्ट निर्यात उद्योगबाट आफ्नो व्यावसायिक एवं औद्योगिक यात्राको सुरुवात गरेका हुन् ।
हाल चुनढुङ्गा खानी सञ्चालन गरी सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ उपलब्ध गराउँदै आएका उनले पछिल्लो समय सिमेन्ट, पेट्रोलियम, जुत्ता चप्पल, टे«डिङ कारोबारजस्ता उत्पादनमूलक उद्योग तथा व्यवसाय सञ्चालन गरिरहेका छन् ।
राउतले केही समयमै काठमाडौँमा ५ तारे होटेल सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । विराटनगरमा हाउजिङ कम्पनी र ५ तारे होटेल सञ्चालन तथा स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य रहेको उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेशका अध्यक्षसमेत रहेका राउत नेपाल उद्योग वाणिज्य महासङ्घका स्थायी समिति सदस्य तथा सार्क चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार