मोरङ व्यापार संघ ट्रेड एक्स्पो’ को प्रधानमन्त्रीद्वारा उद्घाटन, भन्छन्, मुलुक संकटमा छैन, दबाबमा चैं छ

शुक्रबार, ०६ पुस २०८०
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गम्भीर संकटमा नभएको तर, दबाबमा भने रहेको बताएका छन् । विराटनगरमा शुक्रबार ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’को उद्घाटन गर्दै उनले अहिलेको स्थिति प्रगतिउन्मुख रहेको र अर्थतन्त्र चलायमान बनाउन सरकार लागि परेको उल्लेख गरे । ‘अर्थतन्त्रमा परेको दबाबबाट मुलुकलाई मुक्त गर्नुपर्ने छ,’ दाहालले भने, ‘एक वर्षको प्रयास र निजी क्षेत्रको सहयोगमा मुलुकको अर्थतन्त्र सुधार हुँदै गइरहेको छ ।’ विराटनगरलाई विशेष आर्थिक क्षेत्र बनाउने, चक्रपथ निर्माणलाई उच्च प्राथमिकतामा राखेर गति दिनेलगायतका काममा सरकार लाग्ने उनको प्रतिबद्धता छ । ‘रेमिटेन्स अर्थतन्त्रको दीर्घकालीन समाधान हैन । तत्कालको समाधान निवारणको दृष्टिले रेमिटेन्सले महत्वपूर्ण भूमिका खेलेको छ । एकतर्फ बैंकको ब्याजदर घटाइएको छ । कर्जा लगानी बढेको छ,’ उनले भने, ‘नकारात्मकता र निराशाको भाष्य चाहिनेभन्दा बढी भयो भने देशलाई बर्बाद बनाउँछ । देश अँध्यारो मात्रै हैन, उज्यालोतर्फ पनि जाँदैछ भन्ने सोच्नुपर्छ ।’ पछिल्लो समय जलवायु परिवर्तनको नाकारात्मक प्रभाव देखा परेको बताउँदै दाहालले संकट निवारणका लागि नेपालले प्राप्त गर्नुपर्ने क्षतिपूर्तिका निम्ति आफूले कुरा राखिसकेको बताए । मोरङ व्यापार संघले विराटनगर महानगरपालिका–२ मा आयोजना गरेको ‘एक्स्पो’को प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन् । आगामी पुस १६ गतेसम्म सञ्चालन हुने ‘एक्स्पो’मा ४ देशमा उत्पादन भएका २ सय ४० स्टलहरू रहेको संघका अध्यक्ष नवीन रिजालले बताए । उनका अनुसार मेलामा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानमा उत्पादित वस्तुहरुको स्टल राखिएको छ । ‘एक्स्पो’ले स्वदेशी उद्योग व्यवसायको प्रवर्धन, नेपाल व्यापार रणनीतिअन्र्तगत पहिचान गरिएका कोशी प्रदेशका अधिकांश वस्तुसहित अन्तर प्रादेशिक उत्पादन र सेवाहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तार, स्वदेशी एवं विदेशी लगानीकर्ताबीच व्यवसायीक सम्बन्ध र सहकार्य स्थापना गर्ने विश्वास आयोजकको छ । ‘एक्स्पो’मा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका साथै कोशी प्रदेशको महत्व झल्कने कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादनको प्रदर्शनी हुने जानकारी रिजालले दिए । उनका अनुसार सुनसरी–मोरङ आर्थिक करिडोरको प्रवर्धन, विकास, वृद्धि र अर्थतन्त्रलाई पुनः प्राप्ति गर्ने उदेश्यले मेला आयोजना गरिएको हो । मेला अवधिभरमा करिब १० करोडको कारोबार हुने र ४ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको उनको भनाइ छ । रिजालका अनुसार मेला आयोजना गर्दा ४ करोड खर्च हुने अनुमान छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार