लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगको उपाधि जितेको छ । विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै उपाधि जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०९ रनमा सिमित भयो ।
विराटनगरका लागि ओपनर अर्जुन साउदले ४० बलमा सर्वाधिक ३४ रन बनाए ।अर्का ओपनर गौरान्सु शर्मा ४ रनमा आउट भए । कप्तान रोहितकुमार पौडेल पहिलो बलमै आउट भए । हुसेन तलात ८ बलमा १३ रनमा रन आउट भए । पृथु बास्कोटाले २९ बल खेल्दै ३१ रन बनाए । बलिङमा लुम्बिनीका सागर ढकाल र हर्मित सिंहले समान २–२ विकेट लिए । विपुल शर्मा र किशोर महतोले १ –१ विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी १९.२ ओभरमा अलआउट हुँदै १३३ रनमा समेटिएको थियो । ओपनर हरमित सिंह र लाहिरु मिलन्थाले ६४ रनको साझेदारी गर्दै सानदार सुरुवात गरेका थिए । हरमित ३० र लाहिरु ४१ रनमा आउट भए । कप्तान दिपेन्द्र सिंह ऐरी २० र इशान पाण्डले १८ रन बनाउँदा बाँकी कसैले पनि दोहोरो अंकको स्कोर गर्न सकेनन् ।
विराटनगरका लागि नन्दन यादव र राज ननन्ले २–२ विकेट लिए । हुसेन तलात, केन जोसेफ, सूर्य तामाङ र कप्तान रोहितकुमार पौडेलले समान १ विकेट लिए ।
उपाधिसँगै लुम्बिनीले ५५ लाख रूपैयाँ पुरस्कार पाएको छ । उपविजेता विराटनगरले ३० लाख रूपैयाँ पुरस्कार पाएको छ । तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ पाउनेछ ।
प्रतिक्रिया