कोसी प्रदेशका तीन उद्योगको विद्युत् काटियो

आइतबार, १५ पुस २०८०
विराटनगर : कोसी प्रदेशमा विद्युत् उपयोग गरेबापत २ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रकम नबुझाउँदा तीन वटा ठुला उद्योगको विद्युत् प्रसारण कटौती गरिएको छ । विराटनगरस्थित नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख इन्जिनियर उमेश झाका अनुसार लामो समयदेखि विद्युत् उपभोग र प्रिमियमसहितको महसुल नतिरेको अवस्थामा मोरङ, धनकुटा, र सुनसरीका तीन वटा उद्योगको लाइन काटिएको हो । मोरङको बाबा जुट मिल्स, धनकुटाको निगाले सिमेन्ट र सुनसरीको खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको प्रमुख झाले जानकारी दिए । निर्देशनालयका अनुसार हालसम्म बाबाले ५ करोड ६१ लाख, सुनसरीको रिलायन्स स्पिनिङले १ अर्ब ९४ करोड २६ लाख र धनकुटास्थित निगाले सिमेन्टले १४ करोड २० लाख रुपैयाँ प्राधिकरणलाई तिर्न बाँकी रहेको छ । प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाईन फिडर  प्रयोग गरेपछि रकम नतिरेको जनाउँदै पहिलो चरणमा सुनसरीको रियलान्यसको विद्युत् काटेको हो । निर्देशनालयका प्रमुख झाका अनुसार उदयपुरस्थित उदयपुर सिमेन्टको विद्युत् कटौतिबारे निर्णय हुन बाँकी रहेको जानकारी दिए । उदयपुर सिमेन्टले प्राधिकरणको ३८ करोड ७८ लाख रकम तिर्न बाँकी रहेको छ। त्यसैसरि, सुनसरीको अरिहन्त मल्टिफाइवर्स, अरिहन्त पोलिप्याक र मोरङको रघु पति जुटमिल्सले समेत ४५ करोड बढी रुपैयाँ प्राधिकरणलाई बक्यौता तिर्न बाँकी रहेको छ। यद्धपी, तीन वटै उद्योगले जिल्ला अदालत मोरङमा प्राधिकरणविरुद्ध मुद्दा दायर गरेका थिए । सो क्रममा पुस ८ गते अदालतले स्टे अर्डर जारी गरेसँगै हाल प्राधिकरणले तीन उद्योगको विद्युत् सेवा कटौती गरेको छैन । प्राधिकरणका अनुसार २०७२ सालदेखि २०७५ सालसम्मको  समयमा मुलुकका २३९ वटा उद्योग तथा कम्पनीले ३३ केभिएको डेडिकेटेड फिडर र ट्रङ्क लाइन फिडरको सेवा लिएका थिए । सोही सेवा लिएका उद्योगहरूले प्राधिकरणको ठुलो रकम नतिरेपछि विद्युत् सेवा काट्न थालेको हो । यस क्रममा १७८ वटा उद्योगहरूले विद्युत् महसुल तिरेको र बाँकी ६१ वटा उद्योगको करिब २२ अर्ब बढी रकम प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार