बरामद भएका काठ र सवारी लिलाम बिक्री गर्दै वन कार्यालय

आइतबार, २९ पुस २०८०
टीका खतिवडा इलाम, पुस : वन कार्यालयले बरामद गरी लामो समय देख कार्यालय हातामा रहेका चिरान काठ लिलाम प्रक्रिया अगाडी बढाएको छ । गोलिया काठ सँगै तस्करहरूले काठ तथा गोलिया ओसार्न प्रयोग गरेका साइकल, मोटरसाइकल, पीक अप, जिप, भ्यान ट्याक्टर र ट्रक समेत लिलामी गरिने डिभिजन वन कार्यालयका प्रमुख दानबहादुर श्रेष्ठले जानकारी दिएका छन् । पहिलो चरणमा बरामद भई ल्याएर राखिएका शव डिभिजन कार्यालय चुलाचुली र डिभिजन वन कार्यालयका चिरान काठ लिलाम विक्रि गर्न लागिएको हो । शव डिभिजन कार्यालय चुलाचुली मार्फत पाँच सय ११ दशमलव २४, पाँच सय १९ दशमलव २३ र पाँच सय १२ दशमलव ७८ क्युबिक फिट काठ बिक्रीका लागि सूचना प्रकाशन गरिएको छ । त्यस्तै डिभिजन वन कार्यालय मार्फत दुई सय ४१ दशमलव ०४ क्युबिक काठ लिलामीका लागि प्रक्रिया अगाडी बढाइएको डिभिजन प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस अघि धेरै वर्ष अगाडि देखि बरामद भई आएका  काठ समेत लिलाम बिक्री गर्न लागिएको छ । डिभिजन वन कार्यालय मातहत चुलाचुली र माई शव डिभिजन कार्यालयमा चुरे क्षेत्रमा भएको तस्करीबाट विभिन्न समयमा पक्राउ गरी थाँती रहेका काठ गोलिया घाट गद्दीको अभावमा बिग्रिएका थिए । धेरै काठहरू दशकौँदेखि खुल्ला ठाउँमा थुप्रिएकाले कुहिएका छन् । डिभिजन प्रमुख श्रेष्ठले भने माइ शव डिभिजनमा काठको सर्टिङ गरिएको र यस पछि ग्रेडिङ गरेर लिलामी गरिने भएको छ । यस्तै कार्यालय हातामा अस्तव्यस्त रहेका ट्रक, बस, जिप, पीक अप , ट्याक्टर , मोटरसाइकल, भ्यान, साइकल लगायतका सवारी साधन समेत लिलामीका लागि जिल्ला प्रशासनमा लगत पठाइको छ । लामो समयदेखि सवारी साधन रहेकाले प्राय सबै सवारी कवाडीमा मात्र लिलाम हुने अवस्थामा रहेको पाइएको छ । बिग्रिएर राजश्व नोक्सानी बेहोर्ने स्थितिमा पुगेको भन्दै यस्ता बरामद सामग्रीको उचित व्यवस्थापन गर्नु पर्ने चौतर्फी सुझाव आइरहेको थियो । सब डिभिजन कार्यालय माइमा बरामद भई आएका चिरान काठ समेत बरामद गर्न प्रक्रिया अगाडी बढाइएको छ । हाल माइमा समेत सटिङ र नाप जाँच भइरहेको बताइएको छ । काठ तस्करहरूले तस्करी गर्दै गरेको अवस्थामा डिभिजन र शव डिभिजन वन कार्यालयले बरामद गरेर राखिएका काठ सहित गाडीहरू समेत कार्यालयमा राखिएको छ । शव डिभिजन कार्यालय मार्फत चार सय ७५ थान साइकल लिलाम बिक्री भइसकेको जनाइएको छ । हाल सबैभन्दा बढी शव डिभिजन कार्यालय माईमा तस्करीका लागि प्रयोग भएका सवारीहरू थुपारिएको छ । लामो समय देखी विभिन्न कारण सहित गाडी लिलामी हुन नसक्दा कवाडीको मूल्यमा बेच्नु पर्ने अवस्था आएको बताइएको छ । डिभिजन वन कार्यालय र शव डिभिजन वन कार्यालय चुलाचुलीमा समेत तस्करीमा प्रयोग भएर बरामद भएका सवारीहरू राखिएको छ । यस आर्थिक वर्ष भित्रमा सबै गाडी र काठ लिलाम बिक्री गरी सक्ने डिभिजन प्रमुख श्रेष्ठले बताए । विभिन्न मुद्दा परेर अड्किएका सवारी लिलाम विक्रि गर्न समस्या भएर लामो समयसम्म लिलाम बिक्री गर्न नसकिएको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार