पशुपतिनगरमा राजश्व सङ्कलन केन्द्र स्थापना

सोमबार, ०८ माघ २०८०
इलाम / इलामको पशुपतिनगरमा सवारीसाधनको बाटो इजाजत राजश्व सङ्कलन केन्द्र स्थापना गरिएको छ । कोसी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल भारत सीमा नाका पशुपतिनगरमा राजश्व सङ्कलन केन्द्र स्थापना गरेको हो । केन्द्र यातायात व्यवस्था कार्यालय इलाम मार्फत सञ्चालन हुने छ । सो राजश्व सङ्कलन केन्द्रको भारतबाट नेपाल प्रवेश गरेका सवारी धनीलाई राजश्व कटाएर उद्घाटन गरिएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका महाशाखा प्रमुख गणेश नायकले सो कार्यको उद्घाटन गरे । नेपाल प्रवेश गर्ने सवारी पशुपतिनगर नाका हुँदै नेपाल आउँदा भ्रमणका लागि पर्यटक लिएर आउने सवारीसाधनले सडकको पटके कर काट्न इलाम र झापा पुग्नुपर्ने बाध्यता हटेको छ । यस अघि सो पटके कर झापा वा इलाम धाउनु पर्ने बाध्यता थियो । सो नाका भएर नेपाल प्रवेश गर्ने सवारीहरूबाट वार्षिक करिब डेढ करोड माथि राजश्व सङ्कलन हुने अपेक्षा लिइएको छ । सो प्रवेशद्वार भएर नेपाल आउने पर्यटक तथा सवारी व्यवसायीलाई सहज हुने यातायात व्यवस्था कार्यालय इलामका प्रमुख छविलाल खतिवडालेको भनाई छ । पशुपतिनगर नाका भएर दैनिक एक सय बढी भारतीय सवारीसाधनमा पर्यटकहरू नेपाल भित्रिने गरेको बताइएको छ । कर सङ्कलन केन्द्रबाट विशेष गरी भारतीय सवारीसाधनलाई सुविधा थपिएको सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले बताए । कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री समसेर राईको पहलमा सो कार्यालय स्थापना भएको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार