‘सिटौला राष्ट्रिय सभा अध्यक्ष हुने प्रबल सम्भावना’

शुक्रबार, १२ माघ २०८०
काठमाडौं। राष्ट्रिय सभाको निर्वाचन सकिएसँगै सभाको नेतृत्वकसले गर्ने भनेर प्रमुख राजनीतिक दलहरु परामर्शमा जुटेका छन् । १९ रिक्त स्थान हिजोको निर्वाचनबाट पूरा भएको छ । सत्ता गठबन्धनले १८ स्थान लिएका छन् भने मुख्य विपक्षी एमालेको हातमा एक स्थान परेको छ। मतभारको हिसाबले एक स्थान पनि पाउन नसक्ने स्थितिमा रहेको एमाले कसरी शून्य हुनबाट जोगियो भन्ने बिषय पनि यति बेला निकै चर्चामा छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र अरु सत्तारुढ दलहरुले आफ्ना मतदातालाई गुप्त संकेत गरेकाले एमालेलाई खाली हात हुनबाट बचाएको भन्ने एकथरीको तर्क रहेको छ । प्रमखु तीन दलका शीर्ष नेताहरुको पछिल्लो समयको बाक्लो भेटघाटकै परिणाम ठानिएको छ १९ र १ को परिणामलाई । सिटौला बन्लान् त राष्ट्रिय सभाअध्यक्ष ? निर्वाचनको मिति तय भएदेखि नै चर्चामा रहेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य चुनिएका छन् । संसदको तल्लो सदन प्रतिनिधि सभाको निर्वाचनमा झापा ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग पराजित सिटौला वर्षदिन बित्दा नबित्दै संसदकै माथिल्लो सदनको सदस्य चुनिएका हुन् । त्यसो त प्रत्यक्ष निर्वाचनमा पराजित अरु पनि नेता सिटौला जसरी नै माथिल्लो सदनको सदस्य चुनिएका छन् । नव-निर्वाचित सांसद सिटौलालाई राष्ट्रिय सभाको सम्भावित अध्यक्षका रुपमा पनि हेरिएको छ । सत्ता गठबन्धनले उनलाई त्यही प्रयोजनका लागि सदस्यमा चुनेको बताएको छ । सिटौला आपैm पनि वधाई ग्रहण गर्दै प्रचलित मुस्कान मात्र छरिरहेका छन् । आज बिहानै उनी बिराटनगर स्थित कोइराला निवास पुगेका थिए । कोइराला परिवारको विरासत बोकेका नेता शेखर कोइरालाको वधाई थापेर सिटौला काठमाडौं फर्कँदैछन् । काठमाडौं आएर प्रधानमन्त्री दाहाल र सभापति देउवासँग परामर्श गरेपछि भने सिटौलाको भावी भूमिका प्रस्ट हुने छ । माघ २२ मा संघीय संसदका दुवै सदनको अधिवेशन सुरु हुँदैछ । त्यसपछि माथिल्लो सदनको नेतृत्व चयनको प्रक्रिया थालिने छ । त्यसअघि गठबन्धन दलहरुले कसलाई अध्यक्ष बनाउने भन्ने बारेमा मन्थन गर्नेछन । प्रधानमन्त्री पुष्पकमल दाहालले रुचाएका केही नेता मध्येका निकट मानिने सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाएर शान्ति प्रक्रियाका थाँतीकाम सम्पन्न गर्ने एकमात्र मनसुवा दाहालले राखेको थाहा भएको छ । सिटौला निकट सूत्रकाअनुसार, १२ बुँदे सहमति, वृहतशान्ति सम्झौता र दुइ दुइ पटक भएका संविधान सभाकानिर्वाचनसम्म सिटौलाले निर्वाह गरेको भूमिकाबाट द्वन्द रुपान्तरणमा योगदान पुगेकाले उनलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनुपर्ने प्रधानमन्त्रीदाहालले जोड दिँदै आएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दाहालको यो तर्कसँग सहमत छन् । तत्कालिन प्रधानमन्त्री तथा सभापति गिरिजा प्रसाद कोइरालाका विश्वास पात्र रहेका सिटौला कोइरालाको पार्थीव अवसानपछि अलग्गै समूहबनाएर राजनीतिमा आफ्नो उपस्थिति जनाईरहेका छन् । उनले नेपाली कांग्रेसको विगतका महाधिवेशनहरुमा आफ्नो समूहलाई अस्तित्वमा उभ्याइरहने गरी देउवालाई साथ दिँदै आएका छन् । सिटौलाको भूमिका देउवालाई सभापतिमा चुनिन निकै सहयोगी रहेको मानिन्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार