डेढ अर्ब ठगेको आरोपमा सप्तरीका डम्बर शाह पाँचथरमा पक्राउ

बुधबार, १७ माघ २०८०
पाँचथर / क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले पाँचथरबाट एक युवकलाई नियन्त्रणका लिएको छ । सप्तरीको राजविराज नगरपालिका १० डुम्री निवासी ३२ वर्षीय डम्बर शाहलाई प्रहरीले पक्राउ गरेको हो । क्यास एपमार्फत उनले २ वर्षमा १ अर्ब ४९ करोड रुपैयाँको कारोबार गरेको देखिएको कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । यो प्रकरणमा कम्तीमा पनि ३४ जना ठगिएको प्रहरीले जनाएको छ । शाहसहितले अनलाइन जुवाका लागि अवैध रुपमा रकम लोड गरिदिनुका साथै ह्वाट्सएप, फेसबुक र ईमो जस्ता सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिहरूलाई पार्सल पठाईदिन्छु भन्दै ठग्ने गरेको भेटिएको छ । साहले संचालन गरेको उद्गम भेन्चर क्यापिटल, प्रोफिस्ट र उनकै नामको खाताबाट विभिन्न चरणमा अवैध अनलाइन जुवाका लागि रकम पठाउने गरेको पनि अनुसन्धानबाट खुलेको छ । अन्य व्यक्तिले खोजेको बेलामा साहले त्यसरी अवैध रुपमा रकम पठाइदिने गरेका थिए । साहले अनलाइन जुवा र ठगीका लागि नगदै, क्रिप्टो करेन्सी र ब्याज लिएर बैंक ट्रान्सफरबाट पनि रकम पठाउने गरेको भेटिएको हो । साहसँग मिलेका मिथलेश कुमार मण्डलले नगद र क्रिप्टो किनबेच गर्ने गरेको प्रहरीले जनाएको छ । अवैध रुपमा रकम लेनदेनका लागि साहले उद्गम भेन्चर क्यापिटलका चारवटा बैंक खाता खोलेका थिए। ती चारवटा खाताबाट मात्रै उनले ९१ करोड ६२ लाख ३८ हजार ६०९ रुपैयाँ कारोबार गरेको भेटिएको छ। यो काम उनले सन् २०२२ जुलाईदेखि २०२३ जुन अन्तिमसम्म गरेका हुन् । उता साहले आफ्नै नाममा पनि विभिन्न बैंकमा ११ वटा खाता खोलेको भेटिएको छ । उनले ती खाताबाट ५८ करोड ३५ हजार ६३४ रुपैयाँ कारोबार गरेको भेटिएको छ । यो कारोबार पनि २०२१ जुनदेखि २०२३ जुनसम्म भएको भेटिएको हो । कम्पनीका चारवटा र आफ्ना ११ वटा खाताबाट साहले यी दुई वर्षको बीचमा १ अर्ब ४९ करोड ६२ लाख ७४ हजार २४९ रुपैयाँ कारोबार गरेको भेटिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार