३९ हजारले मापसे गर्दा राज्यलाई चार करोड राजस्व

विहीबार, १८ माघ २०८०
विराटनगर : सरकारले मापसे गरेर सवारी चलाउनेलाई कारबाही गर्ने गरेको छ । ट्राफिक प्रहरीले सडकमा जाँच गरेर सवारी नचलाउन आग्रह गर्दछ । र चलाएको फेला पारे जरिमाना समेत गर्दछ । यसै क्रममा नेपाल प्रहरीले गत ६ महिनामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई ७२ चालकलाई कारबाही गरेको छ । सोही अवधिमा लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने दुई सय ४२ चालक पनि कारबाहीमा परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले मापसेविरुद्धको कारबाहीबाट चार करोड राजश्व सङ्कलन भएको जानकारी दिए। यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्‍याउन तथा दुर्घटना न्यूनीकरण गर्न मापसे तथा लापसे जाँचलाई प्राथमिकता दिँदै आइएको उनले बताए। लामो दूरीको यात्राका क्रममा मापसे गरी सवारी साधन चलाउने प्रवृत्तिले आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको तथ्याङ्कले देखाएको छ । सिसिटिभीको पहुँच न्यून र सीमित ठाउँमा मात्र ट्राफिक प्रहरीको उपस्थितिका कारण मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दो रहेको प्रहरीको निष्कर्ष छ । त्यस्तो प्रवृत्तिलाई निरूत्साहित गर्दै मापसे र लापसे नियन्त्रणलाई प्रभावकारी बनाउन प्रहरीले विभिन्न समयमा विविध नीति लागू गरी कार्यान्वयन गर्दै आएको छ ।   चालु आर्थिक वर्षको छ महिनामा मापसे गरी सवारी चलाउने काठमाडौँ उपत्यकामा १८ हजार ६२७, कोशी प्रदेशमा दुई हजार ५२४, मधेशमा दुई हजार २१, बागमतीमा एक हजार ९८, गण्डकीमा आठ हजार ९२३, लुम्बिनीमा दुई हजार ७७३, कर्णालीमा एक हजार २६४ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ४२ जना कारबाहीमा परेको बताइएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार