राष्ट्रका लागि महत्त्वपूर्ण योगदान दिने नागरिकको निर्माणको कार्यको प्रारम्भ घरपरिवारबाटै हुने प्रा.डा.न्यौपाने बताउँछन् । उनले भने, हजुरबुबा-हजुरआमासंगको सामिप्यता पाएका साना बालबालिकाले माया प्रेम, आफ्नो पुर्खाको विरासत र संस्कार पाउँछन् । जसले गर्दा उनीहरूको वृत्ति विकास विकासमा सकारात्मक सहयोग पुग्छ ।हजुरबुबा -हजुरआमा पुस्ताले दिएका ज्ञानमा उनीहरूको जीवनको इतिहास लुकेको हुन्छ । बच्चाहरूको उचित विकासको लागि हजुरबा–हजुरआमाको साथ महत्त्वपूर्ण हुन्छ । बालबालिकालाई सम्हाल्ने सवालमा बाबुआमा पुस्ताभन्दा पनि हजुरबा-हजुरआमा पुस्ता परिपक्व हुने उनको भनाई छ । उनले भने, ज्येष्ठ नागरिक पुस्ता बाल मनोविज्ञान सहजै बुझ्न सक्छन् । उनीहरूसँग आफ्ना छोराछोरीलाई हुर्काएको अनुभव हुन्छ । त्यही अनुभवका कारण उनीहरूले बालबालिकाको स्याहारसुसार राम्ररी गर्न सक्छन् । त्यसैले ज्येष्ठ नागरिक पुस्ता र नाति नातिनी पुस्ता बिचको निकटता फलदायी हुन्छ ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष सञ्जीव वाग्लेका अनुसार अन्य समयमा अभिभावक दिवसको समयमा विद्यार्थीका बा–आमा मात्रै आउने भए पनि यो कार्यक्रममा भने ज्येष्ठ नागरिक हजुरबुबा-हजुरआमाको छत्रछायाँमा हुर्किएका नाति–नातिनाको प्रस्तुति देखाइएको हो ।‘कुनै समय आजका हजुरबुबा-हजुरआमा हात समाएर ल्याउनुभएका छोराछोरीहरू आज आफ्ना छोराछोरीको हात समाएर विद्यालय आउनुहुन्छ,’ उनले भने, ‘आज उनै हजुरबुबा-हजुरआमालाई सम्मान समेत गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।’ पछिल्लो समय पारिवारिक विखण्डन बढ्दै गएकाले पनि विद्यार्थीहरूबिच पारिवारिक सम्बन्ध सुमधुर बनाउन पनि उक्त कार्यक्रमले सहयोग पुग्ने उनको विश्वास छ । बालबालिकाहरूले आफ्ना हजुरबुवा -हजुरआमाबाट निस्स्वार्थ प्रेम, भावनात्मक समर्थन तथा सुरक्षा प्राप्त गर्दछन् । यसले बच्चाको विकासको जग राख्नमा अहम् भूमिका खेलेको हुन्छ । उनीहरूले बच्चाको असल आनीबानीको विकास गर्दछन् र आफ्नो संस्कारसँग पनि परिचित गराउँने विद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलले बताए । आफ्ना नाति–नातिनाको प्रस्तुति हेर्दा आमन्त्रितहरू प्रफुल्ल देखिएका थिए । कार्यक्रममा डायनामिक करियर एजुकेसनकी शैक्षिक परामर्शदाता अन्जु रेग्मीले स-साना बालबालिका र ज्येष्ठ नागरिक हजुरबुबा-हजुरआमालाई केन्द्रित कार्यक्रम इटहरीमा पहिलो पटक देखेको बताइन । साना नानीहरूलाई आफ्ना हजुरबुबा-हजुरआमासँग भावनात्मक रूपमा जोड्ने यस्ता कार्यक्रमले बालबालिकामा सकारात्मक मनोवैज्ञानिक प्रभाव पार्ने उनको भनाई थियो । कार्यक्रममा अभिभावकहरू कौशिला चौधरी, शेखर शाही, गोठाले लगायतले विद्यालयका शैक्षिक गतिविधिले आफ्ना बालबालिकामा आएको परिवर्तनबारे चर्चा गरेका थिए । उनीहरूले ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्नुपर्छ भन्ने उद्देश्यले राखिएको उक्त कार्यक्रम रचनात्मक र सकारात्मक भएको भन्दै खुसी व्यक्त गरेका थिए । उक्त कार्यक्रममा पूर्व प्राथमिक तहका करिब सय बालबालिकाहरूले दर्जन बढी प्रस्तुतिहरूमा सहभागिता जनाएका थिए । कार्यक्रममा उपस्थित हजुरबुबा-हजुरआमा मध्ये उमेरका आधारमा ज्येष्ठ सदस्यलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया