नेपाल लिटरेचर फेस्टिवलमा सुर्तीजन्य पदार्थको विज्ञापन, कानुनको धज्जी उडाइएको भन्दै आपत्ति

मंगलबार, ०१ फागुन २०८०
काठमाडौँ- नेपालमा सुर्तीजन्य पदार्थको सेवनले ३७,५२९ अर्थात् प्रति घण्टा ४ जना भन्दा धेरै मानिसहरुले ज्यान गुमाइरहेको तथ्य सार्वजनिक भएको र सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाइएपनि कानुनको धज्जी उडाइएकोमा आपत्ति जनाइएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानका कार्यक्रम संयोजक डा. जय कुमार गुरुङ र नेपाल अर्बुद रोग निवारण संस्थाका महासचिव दीपेन्द्र बान्तवाद्धारा जारी विज्ञप्तिअनुसार जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीको मुख्य प्रायोजनमा फाल्गुन ३ देखि ७ गते सम्म हुन् गइरहेको “नेपाल लिटरेचर फेस्टिवल २०२४” प्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । जहाँ सुर्तीजन्य पदार्थको उत्पादक कम्पनी सूर्य नेपालको लोगोसहित प्रचार प्रसार गरिएको छ, जुन कानुनविपरित रहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ को दफा १० मा विज्ञापन तथा प्रायोजन गर्न नपाइने सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘उत्पादक लगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, ईमेल जस्ता विद्युतीय सञ्चार माध्यम,अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन ।’ यसैगरी सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २२ मा संस्थागत सामाजिक उत्तरदायित्वको नाममा काम गर्न नपाउने कुरा स्पष्ट उल्लेख छ । जसको उपदफा १ र २ मा भनिएको छ, ‘सरकारी वा गैह्रसरकारी वा नीजि क्षेत्रबाट संचालित शिक्षण संस्था, मदरसा, नाट्यशाला, धार्मिक प्रवचन, सत्सँग, स्वास्थ्य संस्था आदिलाई आर्थिक, प्राबिधिक, भौतिक, संरचनागत तथा अन्य कुनै पनि प्रकारको सहयोग उत्पादक लगायतले प्रदान गर्न पाउनेछैन । कसैले पनि उत्पादक लगायतले प्रदान गर्ने आर्थिक, भौतिक र संरचनागत सहयोग ग्रहण गर्न पाउनेछैन र उत्पादक लगायतले पनि यस्तो सहयोग गर्न पाउने छैन । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ को दफा ४० मा उत्पादकलगायत कसैले पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यसको लोगो, संकेत, चिन्ह, कुनैपनि तरिकाबाट सुर्तीजन्य पदार्थको प्रबर्द्धन गर्न वा कुनै कार्यक्रम प्रायोजन तथा विज्ञापन गर्न नपाउने उल्लेख छ । सार्वजनिक ब्यक्तित्वहरुको सहभागिता गैरकानुनी सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को परिच्छेद ३ दफा २२ को उपदफा ६ मा भनिएको छ, ‘सार्वजनिक निकायका पदाधिकारीहरुलाई सुर्ती उद्योगबाट प्रदान गरिने कुनैपनि प्रकारका सहयोग र पुरस्कार प्राप्त गर्न, सुर्ती उद्योगबाट प्रायोजित कार्यक्रममा सहभागिता, सुर्ती उद्योगको सहयोगमा वा सुर्ती उद्योगको आमन्त्रणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बैठक, भ्रमण, तालीम, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रमहरुमा सहभागीता स्वीकार गर्नु हुदैन । ’ यसै गरि दफा २४ मा सार्वजनिक सार्वजनिक निकायका पदाधिकारीहरुले सूर्ति उद्योगको कुनै पनि क्रियाकलापमा सहभागिता जनाउनु नहुने कुरा स्पष्ट उल्लेख छ । तर आयोजकले फेस्टिभलमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय लेखक, कलाकार, अभियन्ता, पत्रकार, बुद्धिजीवी, अर्थशास्त्री, सेलिब्रेटी र राजनीतिक व्यक्तित्वहरूलाई सहभागी गराउने भनि प्रचार गरिएको छ । कानुन कार्यन्वयनमा प्रत्यक्ष सरोकार राख्ने व्यक्तित्वहरुले नै कानुनको कार्यन्वयन नगरी धज्जी उडाउनु विडम्बना रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार