अस्पतालको शैयामा छटपटाउँदै माओवादीका पूर्वलडाकु, आर्थिक अभावले उपचारमा समस्या

सोमबार, ०७ फागुन २०८०
विराटनगर । माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धकै बलमा मुलुकमा लोकतन्त्र र गणतन्त्र स्थापना भयो । शान्ति सम्झौतापछि माओवादी पटकपटक सरकारमा पुग्यो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले पनि मुलुकको प्रधानमन्त्री छन् । तर, उनलाई सरकारको नेतृत्वमा र मुलुकको बागडोर सम्हाल्ने तहसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाहरु भने अनेक संकट भोगिरहेका छन् । माओवादीले सरकारको नेतृत्व गरिरहँदा त्यही पार्टीका पूर्वलडाकुले भने आफ्नो उपचारमा आर्थिक अभावको सामना गर्नु परिरहेको छ । प्रभावकारी उपचार नपाएर उनीहरु छटपटाइरहेका छन् । माओवादी युद्धमा होमिएर जेलनेल, आक्रमण तथा यातना भोग्दै मुलुकको व्यवस्था परिवर्तनका लागि लडेका पूर्वलडाकुहरु यतिबेला विभिन्न अभाव र संकटको सामना गरिरहेका छन् । तीमध्ये एक हुन्, माओवादीका पूर्वलडाकु संखुवासभाको पाँचखपन नगरपालिका–२ श्याबुनका ४५ वर्षीय टेकनाथ जनप्रेमी दाहाल । उनी अहिले अस्पतालको शैयामा रोग, अभाव र संकटसँग जुधिरहेका छन् । आर्थिक अभावकै कारण समस्याग्रस्त र तनावपूर्ण अवस्था उत्पन्न हुँदा उनले प्रभावकारी उपचार पाउन सकेका छैनन् । भूमिगत भएर माओवादी सशस्त्र युद्धमा होमिएका उनी उपचारका क्रममा खर्चको अभाव झेलिरहेका छन् । टेकनाथ जनप्रेमीलाई उपचारका लागि माघ २६ गते विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । दमका बिरामी उनलाई ६ दिनसम्म आईसीयूमा राखियो । अवस्था सामान्य बन्दै गएपछि फोक्सो वार्डमा सारियो । अहिले फोक्सो वार्डको बेड नम्बर ३० मा छन् । उपचार जारी छ । तर, स्वास्थ्य अवस्था थप बिग्रदै गएको छ । ‘म बाँच्छु कि बाँच्दिनभन्दा पनि तत्काललाई उपचार गराउने पैसा भएन,’ टेकनाथले भने, ‘अस्पतालमा कति दिन बस्नुपर्ने हो टुंगो छैन ।’ परिवारको आम्दानीको स्रोत नहुँदा अभाव र संकटसँगै रोगले पनि शिथिल बनाएर लगेको गुनासो उनी गर्छन् । परिवारले आफन्तसँग ऋण गरेर उनलाई उपचारका लागि विराटनगर ल्याएका थिए । ऋण गरेर ल्याएको पैसा पनि सकिएपछि समस्या भएको उनले सुनाए । उपचारका लागि लिएको ऋण कसरी तिर्ने होलाभन्ने चिन्ता भइरहेका बेला थप उपचारका लागि रकम अभाव भएको हो । ‘उपचार खर्च कति लाग्ने हो भन्ने टुंगो छैन । ५ लाख रूपैयाँजतिको बिल भइसक्यो,’ टेकनाथ भन्छन्, ‘ऋण सापटी नै भएपनि अहिलेसम्म त आफन्तहरुले दिएका थिए । अब आफन्तले पनि सहयोग गर्नसक्ने अवस्था छैन ।’ उनका अनुसार उपचार र औषधि उधारोमा चलिरहेको छ । ल्याबमा परीक्षण गरेको ७० हजार रूपैयाँ मात्रै तिरेको टेकनाथ बताउँछन् । उनकी पत्नी पार्वता थापा ‘कल्पना’ पनि माओवादीकी पूर्वलडाकु हुन् । पत्नी पार्वतासँगै जेठान बलबहादुर थापामा टेकनाथको उपचारमा संलग्न छन् । ‘म बिरामी छु । काम गर्न सक्दिन । श्रीमतीले सामान्य खेती किसानी र वस्तुभाउ गरेर परिवारको संकट टार्थिन्,’ उनले भने, ‘पारिवारिक अवस्था निक्कै तनावपूर्ण छ । त्यहाँमाथि रोगले कमजोर बनाउँदै लग्यो । म थलिएपछि झन बिजोग भएको छ ।’ ज्वाईं टेकनाथको उपचारमा खर्चको अभाव भएको र ऋण गरेर ल्याएको पैसा सकिसकेको बलबहादुरले सुनाए । ‘थप उपचार उधारोमा हुँदैछ । अस्पतालले पैसा जम्मा गर्नु भनिरहेको छ,’ उनले भने, ‘तर, रकम बुझाउन सकिएको छैन । ५ लाखभन्दा बढीको बिल उठिसकेकाले कसरी तिर्ने होलाभन्ने तनाव छ ।’ ज्वाईंको उपचारमा पार्टी र सरकारले बेवास्ता गरेको गुनासो बलबहादुरको छ । उनका अनुसार बहिनी–ज्वाईंलाई घरव्यवहार र जीविका चलाउनै मुस्किल भइरहेका बेला थप संकट आइपरेको हो । ‘माओवादीमै लागेका कारण ज्वाईंको स्वास्थ्यमा समस्या भएको हो,’ उनी भन्छन्, ‘तर, पार्टी र सरकारले वास्तै गर्दैन ।’ टेकनाथकी पत्नी पार्वता पनि सहयोद्ध पतिको सहज उपचार गराउन नसकेर पीडामा छन् । पार्टी र सरकारले सहयोग नगरेको तथा व्यक्तिगत हिसाबबाट मात्रै सहयोगको आश्वासन आएको उनले बताइन् । उनले आफू र पति नै माओवादीको जनमुक्ति सेनामा आवद्ध भएर युद्ध लड्दै पार्टीलाई योगदान दिएको बताइन् । ‘हाम्रो आर्थिक अवस्थाले उपचार खर्च धान्न सक्दैन । भएको रकम सबै सकियो । आफन्तसँग ऋण गरेर ल्याएको पनि बाँकी छैन,’ पार्वता भन्छिन्, ‘थप उपचारमा समस्या भयो । अझै कति खर्च थपिँदै जाने हो भन्ने थाहा छैन । आईसीयू हुँदै नर्मल बेडमा उपचाररत श्रीमानलाई अस्पतालले डिस्चार्ज दिएपछि कसरी बाहिर निकाल्ने भन्ने चिन्ताले पिरोलेको छ ।’ आफूहरुजस्ताको साथ पाएर युद्धमा लडेको पार्टीले सरकारको नेतृत्व गर्दा पनि विगतमा दिएको योगदानलाई बिर्सिनु एकदमै पीडादायी रहेको उनको गुनासो छ । पार्वताका अनुसार घरमा वृद्ध सासू ससुरा छन् । ‘सासू बिरामी हुनुहुन्छ । ससुरा पनि केही गर्न सक्नु हुन्न,’ उनले भनिन् । खर्च धान्न नसक्दा छोरीहरुलाई माइतीले र छोरालाई फुपूले राखेर पढाइरहेको पार्वता बताउँछिन् । पार्टीले राज्यसँग लड्दा हतियार बोकेर युद्धमा होमिए पनि अहिले समस्यामा पर्दा बेवास्ता गरिरहेको गुनासो उनको छ । युद्धमा दिएको योगदानलाई अवमूल्यन गरिएको र कैयौं पूर्वलडाकु तथा कार्यकर्ता समस्यामा परेको पार्वता बताउँछिन् । कोशी प्रदेशका सामाजिक विकासमन्त्री एवं माओवादी नेता राजेन्द्र कार्की टेकनाथलाई भेट्न नोबेल अस्पतालमा पुगेका थिए । उनले टेकनाथको उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ‘उहाँ (टेकनाथ)को परिवारले पार्टीका लागि धेरै गर्नु भएको हो । मुलुकको व्यवस्था परिवर्तनमा उहाँजस्तै योद्धाहरुको महत्वपूर्ण योगदान छ,’ संखुवसभाबाट प्रदेशसभा सदस्य निर्वाचित मन्त्री कार्कीले भने, ‘उहाँको उपचारमा सहयोग गर्न सक्दो प्रयास भइरहेको छ । मैले पनि व्यक्तिगत हिसाबले पहल गरिरहेको छु ।’ उपचाररत टेकनाथले पनि मन्त्री कार्की र माओवादीका केही कार्यकर्ताबाहेक आफूलाई भेट्न अस्पतालमा अरु कोही नआएको गुनासो पोखे । कार्कीले भने स्वयं अस्पताल आएर सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए । पार्टीले आफूजस्ता धेरैले दिएको योगदानलाई बिर्सिएको गुनासो टेकनाथको छ । ‘पार्टीले मलाई मात्रै हैन, मजस्ता धेरै जनालाई हेरेन । युद्धमा लड्दा कैयौं घाइते भए, अंगभंग भए । कतिपयको शरीरबाट बमका छर्रा र गोली निकालिएको छैन । अहिले पनि उनीहरुको दैनिकी निक्कै पीडादायी छ,’ उनले भने, ‘यो समस्या देशैभरिकै हो । गुनासो जति गरेर पनि सुनुवाई हुँदैन ।’
आफूहरुकै योगदानका कारण मुलुकमा लोकतन्त्र र गणतन्त्र आएको बताउँदै टेकनाथले भने, ‘हाम्रा कमाण्डर मुलुकको प्रधानमन्त्री भएर सरकारको नेतृत्व गरिरहेका छन् । तर, हामीजस्ताले यही उपहार पायौं । भोगिरहेको पीडालाई शब्दमा बयान गरिसाध्य छैन । युद्धमा मर्नबाट जोगिएकाले अहिलेसम्म जीवितै छु ।
नाफाको जीवन कति समयसम्म रहन्छ थाहा छैन । जति चिच्याए पनि सुनुवाई हुँदैन ।’ पूर्वलडाकु तथा युद्धका घाइतेहरु उपचार अभावमा छटपटाइरहँदा सरकार र पार्टीले नसुन्नु आश्चर्यजनक भएको उनको गुनासो छ । ‘मेरो उपचारमा आआफ्नो ठाउँबाट सहयोग गरिदिनु हुन सबैमा अनुरोध गर्छु,’ टेकनाथले भने, ‘सिकिस्त अवस्थामा म अस्पताल भर्ना हुँदा अवस्था राम्रो नभएपनि कहिले केही सुधार हुँदैछजस्तो लाग्छ ।’ तर, कहिँ कतैबाट सहयोग नपाउँदा थप समस्या भएको गुनासो उनको छ । संखुवासभाको खाँदबारी नगरपालिकाका पूर्वमेयर एवं एमाले नेता मुरारी खतिवडाले दाहालको उपचारमा समस्या भइरहेको बताए । उपचारमा सहयोग गर्न उनले सबैलाई आग्रह गरेका छन् । पूर्वमेयर खतिवडाले दाहालको उपचारमा सहयोग गर्न सबैमा आह्वान गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत बैंक खाता नम्बर सार्वजनिक गरेका छन् । ‘उहाँ (दाहाल)ले माओवादीलाई लामो समयदेखि योगदान दिनु भयो । पछि पार्टी एउटै हुँदा नेकपामा आवद्ध भएर भूमिका खेल्नु भयो,’ उनले भने, ‘अहिले उपचार खर्च अभाव भएको छ । सहयोग गरिदिनु हुन सबैमा अनुरोध गर्छु ।’ खतिवडाले गरिब र विपन्नको उपचारलाई राज्यले जतिसक्दो चाँडो सहज बनाउनुपर्ने पनि बताए । भने, ‘अझ उहाँ (टेकनाथ)ले त अहिले सरकारको नेतृत्व गरिरहेको पार्टीलाई सशस्त्र युद्धाकालदेखि नै सहयोग गरेर आउनु भएको हो । पार्टीका लागि हतियार बोकेरै युद्धमा जानु भयो । यस्ता व्यक्तिहरुलाई सरकारले बेवास्ता गर्नु ठीक हैन ।’ टेकनाथ र पार्वताको भूमिगत कहानी टेकनाथ र उनकी पत्नी पार्वताको भूमिगत जीवन कहानी निक्कै रोचक छ । टेकनाथ माओवादी सशस्त्र संघर्षलाई साथ दिँदै २०५७ साल पुस १६ गतेदेखि भूमिगत भएका थिए । एरिया सदस्य, जिल्ला सदस्य हुँदै तत्कालीन मेची–कोशी ब्युरो सचिवसम्म भए । अहिले पनि आफू माओवादीमै आवद्ध रहेको उनी बताउँछन् । तर, पार्टी र सरकारले पूरै बेवास्ता गरिरहेको गुनासो उनको छ । युद्धरत माओवादीले त्यतिबेला संखुवासभा, भोजपुर, धनकुटा र तेह्रथुम गरी ४ जिल्लालाई समेटेर एउटा जिल्ला बनाएको थियो । दोलखाबाट २०७९ को चुनावमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका गंगा कार्की ‘विश्व’ त्यसको जिल्ला सेक्रेटरी थिए । हालका संघीय सांसद गंगाले त्यतिबेला जिल्ला सेक्रेटरीको भूमिका निर्वाह गरिरहँदा टेकनाथ भने धनकुटा एरियाको सदस्यको जिम्मेवारीसहित भूमिगत भएका हुन् । माओवादीले बनाएको जिल्लाभित्र पनि संखुवासभा, भोजपुर, धनकुटा र तेह्रथुम गरेर ४ वटा एरिया छुट्याइएको थियो । टेकनाथले आफू २०५८ सालदेखि माओवादी लडाकुको भूमिकामा रहेको बताए ।
लडाकुको भूमिकामा रहेर २०५८ साउन ९ गते तेह्रथुमको पोक्लाबुङमा युद्ध लडेको स्मरण उनले गरे । लडाकुको भूमिकामा रहेर पोक्लाबुङसहित पाँचथरको गोपेटार, सिरहाको लाहान, मोरङको बेलबारी र सिन्धुलीको भीमानलगायतमा सेनासँग युद्ध लडेको टेकनाथले सुनाए ।
‘कुनै युद्धमा जनमुक्ति सेनाको विजय भयो । कुनैमा हामीले हा¥र्यौं,’ उनी भन्छन्, ‘पूर्वतयारी राम्रोसँग गरेर जाँदा जितियो । तयारी नपुगेका ठाउँमा हारियो ।’ सुरुवाती भूमिगत नाम ‘ज्वाला’ भएपनि पछि परिवर्तन गरेर पार्टीले ‘अतास’ राखिदिएको उनले सुनाए । उनका अनुसार अरुण र तमोर नदी तथा सभा खोलाले छुट्याएको भू–भाग एवं क्षेत्रलाई समेटेर माओवादीले २०५७ फागुनदेखि अभियान चलाएको थियो । अरुण, तमोर र सभाभित्रको भू–भाग केन्द्रित अभियानलाई ‘अतास’ नाम दिइयो । भूमिगतकालमा माओवादीले राजनीतिक, फौजी र सांगठनिक अभियान चलाएको थियो । ‘अतास’ त्यही अभियानभित्रको एउटा कार्यक्रम हो । अभियान सफल भएपछि त्यसमा सबैभन्दा सफल र उत्कृष्ट काम गरेको भन्दै भूमिगत नाम परिवर्तन गरेर पार्टीले ‘अतास’ राखिदिएको टेकनाथ बताउँछन् । उनले आफू माओवादी सेनामा हुँदा सहकमिसारको भूमिकामा रहेको बताए । ‘अरुण, तमोर र सभाले भेटेजतिको क्षेत्रलाई समेटेर अभियान चलाइएको थियो । त्यो सफल भएपछि मेरो भूमिगत नाम ‘अतास’ राखियो,’ टेकनाथ भन्छन्, ‘पार्टीमा अर्को ‘ज्वाला’ नाम गरेको साथी हुनुहुन्थ्यो । दुई जनाको जुध्ने भएकाले पनि एक जनाको नाम परिवर्तन गर्न आवश्यक देखियो ।’ २०६० भदौ १९ गते आफूलाई पक्राउ परेर २०६३ माघ १६ गतेसम्म मोरङ कारागारमा राखिएको उनले बताए । ‘पक्राउ परेको लामो समयपछि कारागार मुक्त भएँ,’ उनले भने, ‘त्यो बेला भागेको यातनाको बयान गरिसाध्य छैन । ’ तत्कालीन जनमुक्ति सेनाले बेलबारीमा चलाएको फौजी कारबाहीपछि आफू पक्राउ परेको उनले सुनाए । भने, ‘५ महिनासम्म सेनाले आँखामा पट्टी बाँधेर राख्यो । चरम यातना दियो । त्यही यातनाका कारण मेरो स्वास्थ्यमा समस्या भएको हो । अहिले आएर यो नियती भोग्दै छु ।’ उनीभन्दा अघि पत्नी (श्रीमती) पार्वता माओवादीमा लागेर भूमिगत भएकी थिइन् । माओवादीको तत्कालीन जनमुक्ति सेनामा आवद्ध पार्वता २०५७ जेठदेखि भूमिगत भएकी हुन् । टेकनाथका अनुसार पार्वतालाई प्रहरीले २०५७ चैत २७ गते संखुवासभाको चिचिलास्थित कुवापानीबाट पक्राउ गरी मातृका यादव, नारायण दाहाललगायतको टोलीसँगै हनुमानढोकामा लगेर राखेको थियो । पक्राउ परेको १ महिना १९ दिनपछि उनी रिहा भएको टेकनाथ बताउँछन् । ‘हामी दुवै जना पति–पत्नी’ नै जनमुक्ति सेनामा आवद्ध थियौं । श्रीमतीको भूमिगत नाम कल्पना हो,’ टेकनाथले भने, ‘संखुवासभामा पहिलोपटक पक्राउ पर्ने माओवादी उनै हुन् । पार्वता माओवादीको प्लाटुन कमाण्डर थिइन् ।’ उनका अनुसार पार्टीको एउटा संगठनात्मक अवस्थासम्म पुग्न जनमुक्ति सेनामा भर्ना हुनुपर्ने र हतियार बोक्नुपर्ने हुन्थ्यो । ‘अहिले पनि पार्टीमा आवद्ध छु । संगठक भएर पार्टीकै काममा सक्रिय छु । माओवादी शान्ति प्रक्रियामा आएपछि जनमुक्ति सेना र संगठकको विभाजन भयो । म चाहिँ संगठक बनेर पार्टीको काममा लागें,’ टेकनाथ भन्छन्, ‘जनमुक्ति सेनाहरु क्यान्टोनमेन्टमा जाने भए । त्यहाँ नजानेलाई सेना भनिएन । सुरुमा जनमुक्ति सेना भएर युद्ध लडेपनि पछि पार्टीको संगठकका रूपमा सक्रिय भएँ ।’ बुवा–आमा लडाकु, त्यही बेला जन्मिइन् छोरी टेकनाथ र पार्वताका ३ सन्तान छन् । टेकनाथका अनुसार दुवै जना भूमिगत भएर माओवादी लडाकु भई विभिन्न युद्धमा सामेल हुँदै गर्दा २०५९ साल वैशाख २४ गते जेठी छोरी उषाकिरण जन्मिन् । ‘युद्धकालमै छोरी जन्मिएसँगै हामीले धेरै हण्डर खायौं । नाबालक छोरीको बोकाइ र सुताइ सहज हुन भएन । हेरचाह र स्वाहार सुसार राम्रोसँग गर्न पाइएन । बाबु–आमा युद्ध लड्न जानु पर्ने थियो । कतिपय युद्धमा छोरी बोकेरै गइयो,’ उनी भन्छन्, ‘राज्यको आक्रमणबाट छल्दै र जोगाउँदै हुर्काइयो । लडाइँकै क्रममा जन्मिएकी छोरीको अहिले देब्रे पाटो चल्दैन । शारीरिक रूपमा अपांगता छिन् । उपचारका लागि विभिन्न ठाउँमा पु¥याउँदा पनि समस्या ठीक भएन ।’ तर, धेरै उपचार गराइसकेपछि थोरै मात्रामा शरीरका भागहरु चल्न थालेको दाहालले बताए । उपचारका लागि भारतको मुम्बईस्थित अंकुर अस्पतालसम्म पु¥याएको र त्यहाँ उपचार गराएपछि अलि सुधार भएको उनले बताए । उपचारमा संलग्न चिकित्सकले पूर्ण सुधार हुन नसक्ने बताएको उनको भनाइ छ । टेकनाथका अनुसार अहिले २२ वर्ष पुगेकी जेठी छोरी उषाकिरण कक्षा १२ मा पढ्दैछिन् । उनी मावली घरमा बस्छिन् । दाहाल दम्पतीका दोस्रो सन्तान छोरा छन् । २० वर्षीय छोरा मुस्कान दाहाल वैदेशिक रोजगारीमा जानका लागि कोरियन भाषा पढ्दैछन् । आफ्नो पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले सुनसरीस्थित इटहरीमा कान्छी फुपू बेदकुमारी थापाले राखेर मुस्कानलाई पढाइरहेकी छिन् ।
कान्छी छोरी सजना दाहाल कक्षा ११ मा पढ्दैछिन् । १५ वर्षीया उनी दिदीसँगै मावलीमा बसेर पढ्छिन् । मावली संखुवासभाकै धर्मदेवी नगरपालिका–९ आँखीभुइँ हो । ‘घरको आर्थिक अवस्था नाजुक भएकाले खर्च जुटाउन नसक्दा हामीले छोराछोरीलाई सँगै राखेर पढाउन सकेनौं ।
दुवै छोरी मावलीमा बसेर पढ्दैछन्,’ टेकनाथले भने, ‘हाम्रो पारिवारिक स्थितिकै कारण मावलीले छोरीहरुलाई पढाइदिन्छौं भनेर लैजानु भएको हो । फुपूको सहयोगमा छोरा पढ्दैछन् ।’ सामान्य खेती किसानी गरेर जीविका चलाउने गरिएका कारण छोराछोरीलाई पढाउने खर्चसमेत जुटाउन नसकिएको उनको भनाइ छ । जेठान पनि माओवादी टेकनाथ र पार्वता मात्रै हैन, उनीहरुभन्दा अघिदेखि नै टेकनाथका ससुराली खलक पनि माओवादीमा आवद्ध थिए । जेठान ४८ वर्षीय बलबहादुर थापा ‘नारायण’ २०५४ सालदेखि नै माओवादीमा लागेका हुन् । भारतको मुम्बईमा ‘नेपाली एकता समाज’मा आवद्ध भएर पार्टीको प्रवास कमाण्ड सम्हालेर बसेका थिए । बलबहादुरका अनुसार त्यतिबेला मुम्बईमा रहेको ‘नेपाली एकता समाज’ले भूमिगत माओवादीलाई अप्रत्यक्ष सहयोग गर्ने गरेको थियो । पछि त्यो थाहा पाएर भारत सरकारले प्रतिबन्ध लगाएको उनले बताए । त्यसपछि ‘नेपाली जनअधिकार सुरक्षा समिति भारत’ नामक संस्थान खोलेर माओवादीलाई सहयोग गरेको उनी सम्झन्छन् । ‘हाम्रो परिवारले भूमिगत र युद्धरत अवस्थामा माओवादीलाई ठूलो सहयोग गरेको थियो,’ बलबहादुर भन्छन्, ‘तर, पार्टी सरकारमा पुगेर शासन गर्न थालेपछि सबै कुरा बिर्सियो ।’ (फोटो क्याप्सन ः पत्नी पार्वताको साथमा नोबेल अस्पतालमा उपचाररत पूर्वलडाकु टेकनाथ जनप्रेमी दाहाल ।)  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार