टीका खतिवडा
इलाम / निर्वाचन आयोगले इलाम २ को प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचनको मिति तय गरेसँगै चुनावी सरगर्मी बढेको छ ।
नेताहरू टिकटका लागि आफ्नो नजिकका माथिल्लो तहका नेता भेट्न दौडधुप गर्न थालेका छन् ।
आयोगले आगामी वैशाख १५ गते शनिवार उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ ।
गएको चुनावमा सरकारमा रहेको गठबन्धन दल र एमाले बिचकै कढा प्रतिस्पर्धा भएको थियो ।
अर्थात् गठबन्धनका उम्मेद्धार नेपाली काँग्रेसका उम्मेद्धार डम्बर खड्कालाई झिनो अर्थात् एक सय १४ मतले पछि पार्दै एमालेका उम्मेद्धार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए ।
सोही क्षेत्रबाट निर्वाचित तत्कालीन प्रतिनिधि सभा सदस्य नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । उनै नेम्वाङको मृत्यु पछि यस क्षेत्रमा चुनाव हुन लागेको हो ।
नेताहरू आफ्नो जित्ने दाबी सहित आफू पक्षीय नेतासमक्ष पुग्न थालेका छन् । नेपाली काँग्रेसका तर्फबाट जिल्ला सभापति डम्बर खड्का र महासमिति सदस्य भेषराज आचार्यको नाम चर्चामा रहेको छ ।
पूर्व जिल्ला सभापति तथा पूर्व सांसद केशव थापा र नगेन्द्र कुमालको नाम समेत चर्चामा आउने गरेको छ ।
स्वर्गीय नेम्वाङका छोरा सुहाङ नेम्वाङको समेत चर्चा छ । जिल्ला सचिव उमेश गुरुङ, उपसचिव रवीन्द्र सुवेदीको समेत उत्तिकै चर्चा छ । स्वर्गीय नेम्वाङका पूर्व स्वकीय सचिव बुद्धि खनालको नाम चर्चामा रहँदै आएको छ ।
काङ्ग्रेससँग सत्ता साझेदार माओवादी केन्द्रका केही नेताहरूको समेत नाम चर्चामा रहेको छ ।
माओवादी केन्द्रको तर्फबाट प्रदेश समितिका अध्यक्ष हर्क बहादुर नेम्बाङ (मिक्सो), जिल्ला इन्चार्ज कुलप्रसाद लिम्बु, पूर्व जिल्ला इन्चार्ज धिरेन्द्र सर्मा (रमन) जिल्ला सह–इन्चार्ज कान्छा लावती र जिल्ला अध्यक्ष विजय राईको नाम चर्चामा रहेको छ ।
राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष खड्गप्रसाद (केपी) पालुङ्गाको समेत नाम चर्चामा रहेको छ । उनी गएको निर्वाचनमा समेत उठेका थिए । उनले सम्मानजनक मत प्राप्त गरेका थिए । उनै पालुङ्वालाई पहिचान पक्षधरले समेत सहयोग गर्ने एक थरीको भनाई छ ।
एकीकृत नेकपा समाजवादी पार्टीका तर्फबाट समेत उम्मेद्धारी दिने चर्चा हुन थालेको छ ।
पूर्व प्रधानमन्त्री समेत भइसकेका झलनाथ खनालको समेत चर्चा हुन थालेको छ । उनी गएको निर्वाचनमा इलाम एकबाट पराजित भएका थिए । तर जिल्ला कमिटीको निर्णयबाट मात्र उम्मेद्धारको टुङ्गो लगाउने बताइएको छ ।
स्वतन्त्र पार्टी तथा स्वतन्त्र उम्मेद्धारको समेत चर्चा हुन थालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट केन्द्रीय प्रतिनिधि जिल्लामा खटाउने र अवस्था बुझ्ने बताइएको छ । केन्द्रबाट खटेका नेताले अवस्था बुझ्ने र स्थानीय उम्मेद्धारलाई प्राथमिकता दिएर उम्मेद्धार छनौट गर्ने बताइएको छ ।
स्वतन्त्र उम्मेद्धारले समेत उम्मेद्धारी दिने सामाजिक सञ्जालमा चर्चा हुन थालेको छ । तर कसैले आधिकारिक घोषणा भने गरिसकेका छैनन् ।
युवा देखी बद्धसम्मले टिकट पाए आफूले जित्ने दाबी गर्ने प्रचलन पुरानो हो । यस निर्वाचनमा समेत युवा देखी वृद्धसम्म नै उम्मेद्धारको चर्चा छ । नागरिकले नयाँ अनुहार खोजी रहेका छन् ।
लामो समय देखी जितेर गए पनि इलाम क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसदले ठोस काम गर्न नसकेको गुनासो छ । काम गर्न सक्ने, क्षमता वान, विकास प्रेमी नेता इलाम क्षेत्र नम्बर दुईले चाहेको छ ।
प्रतिक्रिया