इलाम– किसानले दूधको मूल्य नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । अखिल नेपाल किसान महासङ्घ केन्द्रीय सदस्य हेम कट्टेल र इलाम अध्यक्ष महानन्द सापकोटा सहितको टोलीले पाउनु पर्ने दूधको मूल्य भुक्तानीको माग गर्दै जिल्ला प्रशासन कार्यालय इलाम मार्फत ज्ञापन पत्र बुझाएका हुन् ।
पछिल्लो समय दूधको मूल्य नपाएको भन्दै किसान सम्बद्ध विभिन्न १५ सङ्घ–संस्था आन्दोलित छन् । इलाम सहित देशै भरका किसान यति बेला आन्दोलनमा रहेका छन् । गएको फागुन १० गते देखि आन्दोलनका कार्यक्रम निरन्तर गर्दै आइएको उनीहरूले बताएका छन् ।
ज्ञापन पत्र बुझाउँदै उनीहरूले लम्पी स्किन रोगले पशु मरेर समस्या हुँदा समेत सरकारले सहयोग नगरेको, रोगबाट बचेका पशुको दूध बेचेको रकम समेत नआएपछि समस्यामा परेको गुनासो गरेका छन् ।
ज्ञापन पत्र बुझाउँदै उनीहरूले दूध बिक्ने वातावरण बनाउनु पर्ने सहित बिक्री भएको दूधको मूल्य पाउनु पर्ने लगायत १८ बुँदे माग पत्र बुझाएका छन् ।
किसान महासङ्घ, अखिल नेपाल किसान महासङ्घ, राष्ट्रिय प्रजातान्त्रिक किसान सङ्गठन, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल दुग्ध व्यवसायी सङ्घ, दुग्ध उत्पादक किसान सङ्घलगायत किसानका सङ्घ–सङ्गठनले संयुक्त रूपमा आन्दोलनका कार्यक्रम अघि बढाएको बताएका छन् ।
आन्दोलनरत उनीहरूले सरकारले किसानको समस्यामा गम्भीर नभएको भन्दै किसानका मुद्रामा सरकार गम्भीर हुनु पर्ने धारणा राखेका थिए ।
प्रतिक्रिया