महामन्त्री शर्माले जारी गरेको चार बुँदे ध्यानाकर्षण पत्रमा घटनामा घाइते भएका सबैको आवश्यक उपचारको व्यवस्था गरिनु पर्ने, सीमा क्षेत्रमा कुनैपनि प्रकृतिको अव्यवस्था वा बेथितिका घटना भए त्यसलाई नियन्त्रण गर्न राज्य(प्रशासन तदारुक हुनैपर्छ र त्यसमा नागरिकको सहयोग रहनुपर्छ । वेथितिमा कोही कसैको पनि सहभागीतालाई निरुत्साहित गर्न राज्यले पक्राउ गर्न पाउँछ र कानुनी कारवाही गर्न सक्छ भनिएको छ । तर पुरै गाउँ आतंकित बन्ने गरी, निहत्था नागरिक गम्भीर घाइते भएर अस्पताल पु¥याउनु पर्ने गरी घटना हुनु अत्यन्तै दुःखद भएको छ । यो घटना कसरी हुन गयो । यसको निष्पक्ष छानबिन र सत्यतथ्य बाहिर ल्याउन जरुरी छ महामन्त्री शर्माद्वारा जारी ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
त्यसतै यस्तो प्रकृतिको घटना आगामी दिनमा दोहोरिन नदिन राज्य प्रशासन र नागरिकबीचको सम्बन्धलाई सहजीकरण गर्न जरुरी रहेको भनिएको छ । त्यसका लागि घटनाको ढाकछोप र अमैत्रीपूर्ण, टालटुले समाधान होइन, दोषी जो सुकै भएपनि कारवाही गर्ने वातावरण निर्माण गर्नुपर्छ भनिएको छ । त्यस्तै सीमा क्षेत्रमा हुने बेथितिका गतिविधिलाई निरुत्साहित र नियन्त्रण गर्न सुरक्षा निकाय र सचेत स्थानीयबासीबीच समझदारीपुर्ण सहकार्य जरुरी छ । स्थानीय सरकारको समन्वयमा समझदारी र सहकार्यको वातावरण निर्माण गरिनुपर्छ भनिएको छ ।
शर्माले झापाका प्रमुख जिल्ला अधिकारी, झापाका सशस्त्र प्रहरी प्रमुख लगायतलाई समेत ध्यानाकर्षण गराएका छन् ।
यता सशस्त्र प्रहरीले समेत सो घटनाको छानबिन शुरु गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाका (गणपति) सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले मेचीनगर भएको घटनाको सशस्त्र प्रहरीले आन्तरिक रुपमा छानविन शुरु गरेको बताए । सातजना घाइते हुनेगरी स्थानीयसंगको विवादमा सशस्त्र प्रहरीले खुकुरी प्रहार गरेको थियो ।
सशस्त्र प्रहरीको खुकुरी प्रहारबाट घाइते बनेकाहरुको अहिले बिर्तामोडस्थित बीएण्डसी र बिर्तासिटी अस्पतालमा उपचार भइरहेकाो छ ।
सशस्त्र प्रहरी उपरीक्षक राई नेतृत्वको टोलीले घाइतेहरु उपचाररत अस्पताल पुगेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । त्यस्तै मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीलगायतका जनप्रतिनिधिहरुले समेत अस्पताल पुगेर घाइतेहरुको अवस्थावारे जानकारी लिएका छन् ।
सशस्त्र प्रहरीसंगको झडपमा परी मेचीनगरका १८ बर्षीय दिपक चौधरी, २४ बर्षीया दिपा सरदार, ३५ बर्षीय हरि चौधरी, १७ बर्षीय बिशेषसिंह राजवंशी, १८ बर्षीय मिलन चापागाई, २२ बर्षीय आनन्द यादव घाइते भएका थिए । उनीहरु सबै मेचीनगर ७ गैरीगाउँ निवासी हुन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
यता सशस्त्र प्रहरी बल नेपाल बीओपी सतिघट्टामा कार्यरत सवारी चालक चालक सशस्त्र प्रहरी सहायक हवल्दार ३५ बर्षीय दुर्गाचन्द्र बस्नेत घाइते भएका छन् । उनको बाँया हातको औँलामा चोट लागेको छ ।
अवैध रुपमा भारतीय सामान नेपाल भित्र्याउने क्रममा सशस्त्र प्रहरीले स्थानीयको सामान पक्राउ गरेपछि सशस्त्र प्रहरीमाथि स्थानीयले हमला गरेको र आत्मरक्षाको क्रममा घटना भएको सशस्त्र प्रहरी उपरीक्षक राईले बताए ।
‘सशस्त्रले सामान बरामद गरेर गाडीमा ल्याउने क्रममा स्थानीयले गाडीमाथि नै आक्रमण गरे,’ उनले भने, ‘थोरै संख्यामा गाडीमा भएका सशस्त्रमाथि ५०–६० जनाको आक्रमण भयो , उनीहरुले मुस्किलले ज्यान बचाए ।’
सशस्त्र प्रहरी निरीक्षक गणेश श्रेष्ठ नेतृत्वको टोलीले अवैध रुपमा ल्याउँदै गरेको १ लाख २० हजार मूल्यको कपडा बरामद गरेको थियो । सो क्रममा सामान्य विवाद भएपछि बीओपी सतिघट्टाबाट सशस्त्र प्रहरी निरीक्षक हरिप्रसाद रिमालको मोबाइल टोली गएर सो बरामद सामान ल्याउने क्रममा स्थानीय र तस्करले घरेलु हातहतियारसहित प्रहरीमाथि सांघातिक आक्रमण गरेको प्रहरीले दावी गरेको छ ।
प्रतिक्रिया