उनले इलाम नगरपालिकाका प्रवक्ता समेत रहेका वडा ४ का वडाध्यक्ष नुतनदेव दुलालले जलविद्युतका दर्जनौँ समस्या भए पनि जिम्मेवार नभएको आरोप लगाए । यता निर्माणाधीन सिद्धि खोला जलविद्युत आयोजना भने आन्तरिक ठेकेदार बिचको द्धन्दका कारण विवादमा तानिएको छ ।
रोङ ७ मा सञ्चालन भइरहेको आयोजनाको पावर हाउस, साइफन लगायतका कार्य गर्न ठेकेदार कम्पनी अभीरु कन्स्ट्रक्सनलाई दिइएको भए पनि उक्त ठेकेदार कम्पनीलाई हटाइएपछि विवाद भएको हो । कम्पनीले आफ्नो निर्माण सामाग्री लगायतको रकम उपलब्ध हालसम्म नगराएकोले उपलब्ध गराइदिन जिल्ला प्रशासन कार्यालय इलाममा निवेदन दिएको थियो । आयोजनाका सञ्चालक विश्व कँडेलले आफ्नै लगानी फसिरहेकाले आफूले कुनै कम्पनीको जिम्मा नलिएको बताए ।
इलाम जिल्लाका चारखोला माइखोला, पुवाखोला, सिद्धि खोला, जोगमाझ खोलामा एक सरकारी सहित १८ वटा जलविद्युत आयोजना मध्ये दुई निर्माणाधीन रहेका छन् । आयोजना प्रभावित क्षेत्रमा कुनै पनि आयोजनाले दिगो विकासका काम गरेका छैनन् । न त सडक काल पत्र भएको छ । नत आयोजनाले पुल नै बनाएको छ । जोगमाझ खोला आयोजनाले जोगमाझ कल्भर्ट र सानीमा माइले पुल निर्माणमा नगद उपलब्ध गराएको बताइएको छ ।
इलाम जिल्लामा भएका जलविद्युत कम्पनी र प्रभावित बासिन्दा बिचको समस्या प्रशासनसम्म आइपुगेपछि प्रमुख जिल्ला अधिकारी यादवले गत बुधवार समन्वय बैठक राखेका थिए । बैठकमा जलविद्युत कम्पनीमा उत्पन्न हुनसक्ने कुनै पनि तत्कालीन समस्याहरूको आवश्यक सहकार्य र समन्वय गर्न मेगनाथ ढुङ्गाना संयोजक रहेको पाँच सदस्यीय जिल्ला स्तरीय हाइड्रो समन्वय समिति गठन गरिएको छ । ढुङ्गाना इलामका बढी जलविद्युत आयोजनाका संस्थापक शेयर हुन् ।
यस्तै समितिको सदस्यमा सानिमाका देवराज गुरागाईँ, जोगमाझ खोला जलविद्युत आयोजनाका हरिबाबु न्यौपाने, पुवाखोला वान र सिद्धि खोला जलविद्युत आयोजनाका सन्तोषराज नेपाल, र माइवेनी जलविद्युतका दीपक ढुङ्गाना रहेका छन् । बैठकमा उठान भएका विषयहरू कर राजश्व, स्थानीय आवश्यकता, खोलामा पानीको आपूर्ति, वातावरणीय अध्ययन प्रतिवेदन, आपसी लेनदेन तथा सहमतिका विषयमा तोकिएका हाइड्रोपावरले जिम्मेवारी लिई तत्काल पुरा गर्नुपर्ने निर्णय भएको छ ।
यस्तै हाइड्रो सञ्चालित रहेका स्थान तथा मार्गहरूमा कुनै पनि बहानामा बन्द हडताल चक्काजाम आन्दोलन जस्ता गतिविधिहरू कुनै पनि पक्षबाट गर्न नपाइने निर्णय गरिएको छ । प्रजिअ यादवले खोलामा नियमानुसार दश प्रतिशत पानी हाइड्रोले नछाड्ने गरेको गुनासो बारम्बार आइरहेको प्रति पनि सचेत गराएका थिए ।
एक मेगावाट बराबर साढे सत्र हजारले एक सय १५ मेगावाटको रकम कसले कता लग्यो ?
इलामको जलविद्युत कम्पनीहरूले नीति नियम विपरीत निश्चित गाउँपालिकामा लाखौँ रकम खर्च गरेको पाइएको छ । सन्दकपुर गाउँपालिका भई बग्ने माई र पुवा माई खोलामा पानीको बहावलाई बढाउन सन्दकपुर क्षेत्रमा बृक्षरोपण गर्ने भनेर जलविद्युत कम्पनीहरूलाई सम्झौता गराई रकम असुल गरेको पाइएको छ ।
तत्कालीन सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईले आफ्नो पहुँचको आधारमा डिभिजन वनका प्रमुख समेत संलग्न गराएर २०७५ माघ तीन गते आर्थिक दायित्व बाँडफाँड गरिएको भन्दै प्रति मेगावाट सत्र हजार पाँच सयका दरले रकम उठाउने निर्णय गराएका थिए ।
तत्कालीन अवस्थामा निर्माण सम्पन्न भएको ८४ मेगावाटमध्ये धेरै आयोजनाले राईको यो अभियानलाई वातावरणीय महत्वको भनेर लाखौँ रकम उपलब्ध गराएका थिए । जसमध्ये माई खोलामा सम्पन्न भएका आयोजनाले जम्मा १५ लाख पुवा खोलामा निर्माण भएका आयोजनाले एक लाख ५० हजार र जोगमाझ खोला जलविद्युत आयोजनाले ५० हजार रकम उपलब्ध गराएका थिए ।
वार्षिक रूपमा बुझाउने गरी भएको सम्झौता अनुरूप तत्कालीन गा।पा अध्यक्ष राईले रैथाने जातका वनस्पतिको बिरुवा वितरण गर्न नर्सरी स्थापना गरेका थिए । तर बिरुवा कता कसले लग्यो र हालसम्म उठेको रकम कता गयो भन्ने यकिन विवरण नभएको वर्तमान अध्यक्ष तुलाराम गुरुङ बताउँछन् ।
गुरुङले सम्झौता अनुसारको विवरण लिनका लागि सबै जलविद्युत आयोजना प्रतिनिधिलाई बोलाएको भए पनि दुई आयोजनाका प्रतिनिधि मात्र आएको बताए । उनले गाउँपालिकाको खातामा कुनै रकम समेत नभएको बताए । सानिमा माईका देवराज गुरागाईँले हालसम्म आफ्नो आयोजनाले मात्र साढे ६ लाख बुझाएको तर काम भने नदेखिएको गुनासो गरे ।
यस्तै सुपरमाईका सञ्चालक थापाले हालसम्म ३६ लाख रकम जम्मा गरिएको बताए । जलविद्युत कम्पनीहरूले तत्कालीन जिल्ला प्रशासकको दबाबमा गाउँपालिकालाई लाखौँ रकम वार्षिक उपलब्ध गराउन कबोल गरिएको बताउँछन् ।
इलाममा दश वटा स्थानीय तह भए पनि प्रभावित क्षेत्रमा रहेको समस्या विपरीत पहुँचका आधारमा रकम निकास गरी अनियमितता भएको पाइएको छ ।
प्रतिक्रिया