ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुलुङ) मा सङ्कलित विदेशी मुद्रा र सिक्का रकम साट्न समस्या भएको छ । विभिन्न देशबाट आएका नागरिकले दान गरेको रकम साट्न समस्या भएको हो ।
भारतीय रुपियाँ साट्न समस्या नरहे पनि अन्य देशका पैसा साट्न समस्या भएको हो । विदेशी मुद्रा चलनचल्तीमा नभएको र बैङ्कहरूले पनि लिन नमान्ने गरेका कारण समस्या उत्पन्न भएको छ । पाथीभरा दर्शनमा आउने भक्तजनले विदेशी मुद्रा र सिक्का चढाउने तथा दान गर्ने गर्दछन् ।
हालसम्म सङ्कलन भएको विदेशी मुद्रा र भारतीय तथा नेपाली सिक्का रकम सटही (कारोबार) मा समस्या रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले विदेशी मुद्रा साट्नलाई पहल गरिरहेको भए पनि हालसम्म सटही गर्न नसकिएको बताए ।
कार्यकारी निर्देशक हाङ्बाङका अनुसार मुद्रा साट्नका लागि विभिन्न बैङ्कहरूसँग समन्वय गर्दासमेत सम्भव भएको छैन ।
विदेशी मुद्रा र सिक्का सटही नभएपछि समितिले भण्डारण गरेर राखिराख्नु परेको उनले बताए ।
समितिका अनुसार पाथीभरामा सङ्कलन भएको अमेरिकी डलरसहित विभिन्न ४६ देशको विदेशी मुद्रा रहेको छ । हालसम्म सङ्कलित विदेशी मुद्रामध्ये तीन हजार ९३३ अमेरिकी डलर रहेको छ । यस्तै सबैभन्दा बढी दक्षिण कोरियाको आठ लाख ६० हजार मुद्रा रहेको छ ।
इन्डोनेसियाको १६ हजार, जापानको १४ हजार १२९, इरानको १० हजार, ओमनको नौ हजार ७४० मुद्रा रहेको छ ।
कतारको चार हजार ९२, साउदी अरबको एक हजार ७२५, भियतनामको दुई हजार ४०० मुद्रा रहेको छ ।
अन्य लिबिया, आइसल्यान्ड, जोर्डनलगायत देशका मुद्रा रहेको समितिले जनाएको छ । हालसम्म विदेशी मुद्रा सटहीका लागि गरिएको पहल सफल नभएपछि थन्क्याएर राख्नुपरेको पाथीभरा क्षेत्र विकास समितिले जानकारी दिएको छ ।
प्रतिक्रिया