मोरङ, तेह्रथुम र भोजपुरमा आगलागी : ३ बालबालिकाको मृत्यु, ३२ घर जलेर खरानी

शनिबार, ०३ चैत्र २०८०
विराटनगर । मोरङ, तेह्रथुम र भोजपुरमा आज भएका आगलागीको घटनामा परि ३ जना बालबालिकाको मृत्यु भएको छ भने ३२ वटा घर जलेर नष्ट भएका छन् । मोरङको पुरानो सदरमुकाम रङ्गेली नगरपालिका–३ आज अपराह्न भएको आगलागीमा परी स्थानीय सन्थाल समुदायका २२ वटा घर जलेका छन् । सन्थाल समुदायको बसोबास रहेको वडा नम्बर ३ को बाबुसाहेब टोलमा आगलागी भएको प्रहरीले जनाएको छ । आगो निभाउन रङ्गेली नगरपालिका, कानेपोखरी गाउँपालिका, सुन्दरहरैँचा नगरपालिका लगायत आसपास क्षेत्रका पालिकाहरूको दमकल प्रयोग गरिएको छ । प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाउने काम भइरहेकाले क्षतिको विवरण आइसकेको छैन । आगो पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । बाँस, सन्ठी जस्ता स्थानीय सामग्री प्रयोग गरी बनाइएका घरहरूमा आगो चाँडै फैलिएको जनाइएको छ । यसैबिच, भोजपुरको भोजपुर नगरपालिका–१२ मालबाँसेमा आजै भएको आगलागीमा केही स्थानीयको घर जलेर नष्ट भएको छ । प्रहरीका अनुसार जङ्गलबाट सुरु भएको आगो हावा चलेपछि बस्तीसम्म आइपुगेको थियो । आगोले स्थानीय बासिन्दाका ६ वटा घर जलेका छन् । यसैबिच भोजपुरको हतुवागढी गाउँपालिका वडा नं. ७ पात्लेपानीमा आगालागि हुँदा एउटै परिवारका ३ जना बालबालिकाको मृत्यु भएको छ । आगालागिबाट ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । धनबहादुर कार्कीको खोल्मामा आगलागी हुँदा उनका २ नाति १ नातिनीको दुखद निधन भएको हो । मृत्यु हुनेमा एका घरका दाजुभाइका छोराछोरी केदार कार्कीको छोरा वर्ष ५ को प्रनिष कार्की, रमेश कार्कीको छोरी वर्ष ७ की दिप्सिका कार्की र निजको भाइ वर्ष ३ को दिउनिस कार्की खेल्ने क्रममा आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक सुदिप राज पाठकले बताए । यसैगरी, तेह्रथुमको आठराई गाउँपालिका–१ संक्रान्तिबजार नजिकै गाउँमा भएको आगलागीमा चार वटा घर जलेका छन् । प्रहरीका अनुसार स्थानीय देवी गौतम, बलराम गौतम, गणेश गौतम, गोविन्द गौतमको घर र दुई वटा गोठ जलेका हुन् । आगोले स्थानीयको घरसहित कपडा, अन्न, केही चौपाया सहित धनमाल जलेको छ । नजिकै रहेको जङ्गलमा लागेको डढेलो बस्तीमा आइपुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार