मोरङको पथरीशनिश्चरेमा मिलमा आगलागी हुँदा डेढ करोड बढीको क्षति

आइतबार, ०४ चैत्र २०८०
विराटनगर । मोरङको पथरीशनिश्चरेस्थित एउटा मिलमा शनिवार राति आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको छ । प्रहरीका अनुसार आगलागीमा १ करोड ७१ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । पथरीशनिश्चरे नगरपालिका–१ स्थित कर्णकुमारी लिम्बूको कोशी चिउरा मिलमा आगलागी हुँदा ठुलो क्षति भएको हो । काठ र इँटा प्रयोग गरेर बनाइएको कर्कट पाताको छानो भएको घरमा मिल सञ्चालन गरिएको थियो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले नेपाल र सशस्त्र प्रहरी, दमकल तथा स्थानीयको सहयोगमा आइतबार बिहानका राति २ः२५ बजेतिर आगो नियन्त्रणमा आएको जानकारी दिए । आगोले मिलसहित मिलभित्र रहेको ९० मन धान, २ सय मन गहुँ, ५० मन मकै, २० मन खुँदी, २० मन चिउरा, २ सय मन भुस जलेर खरानी भएको उनको भनाइ छ । उनका अनुसार आगोले मिल छेउमा रहेको बङ्गुरको खोरसमेत जलेको छ । खोरभित्र रहेका ४ वटा बङ्गुर जलेर मरेका छन् । आगलागीमा मानवीय क्षति भने हुन पाएन । आगलागीको कारण खुल्न बाँकी रहेको र अनुसन्धान सुरु गरिएको डिएसपी दाहालले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार