विराटनगर । मोरङको पथरीशनिश्चरेमा शनिवार साँझ मोटरसाइकलले ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५२ प २२१७ नम्बरको मोटरसाइकलले पथरीशनिश्चरे नगरपालिका–१ स्थित पश्चिम बस स्टेण्डमा साँझ ६ः२० बजेतिर साइकल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर साइकल यात्री पथरीशनिश्चरे–१० का ५० वर्षीय प्रेमबहादुर चौहानको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार साइकलमा यात्रा गरिरहेका बेला दुर्घटनामा परेर गम्भीर घाइते भएका चौहानलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो ।
अस्पताल ल्याइपुर्याउनसाथ उनलाई चिकित्सकले मृत घोषित गरेका हुन् । दुर्घटनामा मोटरसाइकल चालक पथरीशनिश्चरे–१ का ५१ वर्षीय किरण घिमिरेसमेत सामान्य घाइते भएका छन् । पथरी अस्पतालमा सामान्य उपचारपश्चात् उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोटरसाइकल चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको दाहालले बताए । चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)समेत थिएन ।
प्रतिक्रिया