कालो धनलाई वैध बनाउन खुलेका तारे होटलमा नेपालका व्यवसायीहरुको पुँजी दिनहुँ लुट्दा समेत प्रहरी मुकदर्शक बनेको भन्दै सीले क्यासिनोको नाममा हुने अवैध गतिविधि रोक्न चेतावनीपूर्ण विज्ञप्ति जारी गरेका छन् ।
साना, ठूला होटलसहित तारे होटलमा हुँदै आएका कुकृत्य नरोके संघर्षका कार्यक्रमहरु रोक्न आफू पछि नहट्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । तारे होटल र क्यासिनोबाट ठगीमा परेका स्थानीय व्यापारीहरुले दिनानुदिन गुनासो गर्दै आएको र नेपाली चेलीबेटीको मोलमोलाइ र व्यापारपछि झापाका स्थानीय बजारमा भइरहेका छलफल, वित्तीय क्षेत्रमा क्यासिनोका कारण भयानक असर परेको विज्ञप्तिमा उल्लेख छ ।
क्यासिनोमार्फत नेपाली पुँजी पलायन भइरहेको भन्दै त्यसलाई रोक्न सरकार गम्भीर हुनु पर्ने विज्ञप्तिमा उल्लेख छ । चेलीबेटीको मोलमोलाई र यौनजन्य गतिविधिमा सम्लग्न गराई सिंगो झापा र झापाली लज्जित हुनबाट जोगाउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
झापामा खुलेका तारे होटल र अन्य साना ठूला होटलमा हुने गरेका अवैध गतिविधि आफैंमा निन्दनीय भएको र यसलाई रोक्न झापाका राजनीतिक दल, नागरिक समाज, प्रहरी प्रशासन, सरोकारवाला निकाय सबै लाग्नु पर्ने सीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाली चेलीबेटीलाई खेलौनाको रुपमा प्रयोग गर्दै आएको कार्य पार्टीका लागि स्वीकार्य नरेको उल्लेख गर्दै यस्तो कुकृत्य तत्काल बन्द गर्न समेत होटल सञ्चालकलाई चेतावनी दिइएको छ ।
झापामा दुईवटा पाँचतारे होटल सञ्चालनमा छन् । योसँगै अन्य दुईवटा होटलसमेत निर्माणाधीन रहेका छन् ।
हाल बिर्तामोड र मेचीनगरमा सञ्चालनमा रहेका दुबै तारे होटलमा खुलेआम रुपमा नेपालीले क्यासिनोमा प्रवेश गर्ने गरेको बताइएको छ ।
क्यासिनोमा नेपाली व्यवसायी लुटिँदा समेत स्थानीय प्रशासन मौन रहेको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
विदेशी जुवाडेलाई क्यासिनो ठेक्कामा दिने र नेपालीलाई जुवाजन्य खेल खेलाएर टाट पल्टाएपछि व्यवसायीहरु सडकमा रुँदै हिँडेको स्थितिमा समेत प्रशासन मुकदर्शक बन्नु आफैंमा दुःखद हो भन्दै विज्ञप्तिमा यस्तो हुन नदिन सबैलाई आग्रह गरिएको छ ।
तारे होटलमा हुने जुवाजन्य खेल लामो समयदेखि निर्वाधरुपमा खेलाइँदा समेत प्रशासन मुकदर्शक बन्नुले उनीहरुको समेत संलग्नता रहन सक्ने आशंका गरिएको छ । स्रोतका अनुसार दलका ठूला नेता र पहुँचवाला व्यक्तिलाई होटलले नजराना बुझाउने गरेको बताइएको छ । कतिपयलाई होटलले खाने र बस्नेको प्रवन्ध मिलाई दिएकाले तारे होटलमा हुने गरेका कुकृत्य बाहिर आउन नसकेको स्रोतको भनाइ छ ।
प्रतिक्रिया