मोरङमा हत्यापछि शव गाडिएको घटना : लामो समयपछि पक्राउ परे प्रतिवादीहरु

मंगलबार, ०६ चैत्र २०८०
विराटनगर । मोरङको रमितेमा एक जनाको बीभत्स हत्या गरेर शवलाई जंगलमा गाडिएको घटनामा संलग्न प्रतिवादीहरु लामो समयपछि पक्राउ परेका छन् । घटना गराएको १६ वर्षपछि ३ जना प्रतिवादीलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमिते (साविकको रमिते गाविस–४) का ४८ वर्षीय जीतबहादुर राई, ४१ वर्षीय गंगा भनिने ज्ञानबहादुर राई र ४० वर्षीय लक्ष्मण राईलाई पक्राउ गरिएको छ । अदालतले यसअघि नै जन्मकैदको फैसला सुनाइसकेका उनीहरुलाई इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दासको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दामा अदालतले जन्मकैदको फैसला सुनाएको भएपनि तीनै जना सजाय भुक्तान नगरिकन लामो समयदेखि भागिरहेका थिए । गाउँघरमै लुकिछिपी बसिरहेका जीतबहादुर र ज्ञानबहादुर सोमबार राति पक्राउ परेका हुन् । लक्ष्मणलाई झापाको काँकडभिट्टाबाट मंगलबार बिहान पक्राउ गरिएको डीएसपी दाहालले बताए । उनका अनुसार जीतबहादुर र ज्ञानबहादुर पक्राउ परेको खबर पाएसँगै लक्ष्मण काँकडभिट्टा नाका हुँदै भारततिर भाग्न खोजेका थिए । तत्काल पक्राउ गर्न प्रहरी सफल भएका कारण भारत भाग्ने उनको योजना सफल नभएको जानकारी दाहालले दिए । पक्राउ परेकाहरुलाई प्रहरीले मंगलबार मोरङ अदालतमा बुझाएको छ । अदालतका सूचना अधिकारी ओमराज सुवेदीका अनुसार प्रहरीले पेस गरेपछि तीनै जना प्रतिवादीलाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ । साविकको रमिते गाविस–४ का ३८ वर्षीय सन्तोष राईको १६ वर्षअघि बीभत्स हत्या गरेर शव जंगलमा गाडिएको थियो । स्थानीय हर्कराज राईको घरपैँचोमा जम्मा भएका स्थानीयबीच विवाद हुँदा उनको हत्या भएको हो । लाट्ठी, भाटालगायतले प्रहार गरेर सन्तोषको हत्या गरी केमुना भञ्ज्याङको जंगलमा खाल्डो खनेर गाडेको अवस्थामा प्रहरीले शव उत्खनन् गरेको थियो । प्रहरीले घटनामा संलग्न रहेको भनेर ११ जनालाई प्रतिवादी बनाएको थियो । उनीहरुविरुद्ध त्यतिबेला मोरङ अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरियो । अदालतले २०७७ साल फागुन १८ गते मुद्दाको फैसला गरेको हो । अदालतले ११ जना प्रतिवादीमध्ये ५ जनालाई जन्मकैद, ३ जनालाई जनही ५ वर्ष कैद र ३ जनालाई सफाइ दिने फैसला गरेको थियो । जिल्लाको फैसला उच्च अदालत विराटनगर र सर्वोच्च अदालतले पनि सदर गरिसकेका छन् । जन्मकैदको फैसला सुनाइएकामध्ये ३ जना हाल पक्राउ परेकाहरु हुन् । प्रहरीका अनुसार १ जना प्रतिवादीको मृत्यु भइसकेको छ भने अर्का १ जना विदेशमा छन् । जनही ५ वर्ष कैद सजाय सुनाइएकामध्ये २ जनालाई इन्सपेक्टर देवेन्द्र दास नेतृत्वकै टोलीले गत मंसिरमा पक्राउ गरेको थियो । मंसिर २ गते ५० वर्षीय धनकुमार राई र मंसिर ५ गते ७० वर्षीय देवीप्रसाद राई पक्राउ परेका थिए । प्रहरीका अनुसार ५ वर्ष कैद सुनाइएका अर्का १ जना प्रतिवादी अझैसम्म फरार रहेकाले खोजी जारी राखिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार