सीमा क्षेत्रका समस्या समाधानमा दुई पक्षीय प्रयास भइरहेको छ : गृहमन्त्री

शनिबार, १७ चैत्र २०८०
इलाम । सरकारले साझा मुद्दा र साझा सवालमा काम गरिरहेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताएका छन् । इलाममा भएको जिल्ला स्थित राजनीतिक दल एवम् समाजसेवीहरूसँगको अन्तरक्रियालाई सम्बोधन गर्दै लामिछानेले दलहरू साझा एजेन्डामा एक जुट हुनु पर्ने बताएका हुन् । सीमा, सडक, स्वास्थ्य, शिक्षा र कृषिका समस्याहरू साझा समस्या भएको भन्दै दलहरूले ती विषयमा एक जुट हुनु पर्ने लामिछानेको भनाई छ । देशमा धेरै समस्याहरू रहेको र ती समस्या एकै पटक समाधान गर्न नसकिने भन्दै क्रमशः समस्या समाधानमा आफूहरू लागेको लामिछानेको भनाई छ । कार्यक्रममा स्थानीय तह, व्यापारी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले जिल्लामा रहेका कृषि, स्वास्थ्य, शिक्षा तथा सीमामा उत्पन्न हुने समस्याहरूका बारेमा जानकारी गराउनु भएको थियो । कोभिडका समयमा सरकारले दिने भनिएको छुटका विषयमा हालसम्म आइपुग्दा सरकारले सुनुवाइ गर्न नसकेको भन्दै स्थानीय अमिर राईले समस्या राखेका थिए । त्यस्तै सीमा क्षेत्रमा समस्या रहेको र चौकीहरूको अवस्था समेत नाजुक रहेको नेपाली काँग्रेसका जिल्ला सदस्य हुकुम थेबेले समाधान गर्न आग्रह गरे । मेची राजमार्गका विभिन्न स्थानमा समस्या आएको भन्दै तत्काल सडक मर्मत गर्न स्थानी रिना घिमिरेले आग्रह गरे । राष्ट्रिय जनमुक्ति पार्टीका ललितबहादुर थेबेले दैनिक उपभोग्य वस्तुमा महँगी बढेकाले मूल्य वृद्धिमा सरकारले अनुगमन गर्नु पर्नेमा जोड दिए । जनता समाजवादी पार्टीका छेकेन शेर्पाले उत्पीडित वर्ग र समुदायले आन्दोलन नगरेका कारण देशमा शान्ति छाएको बताए। सञ्चारकर्मी भीम चापागाईँले सीमा क्षेत्र पशुपतिनगरमा रहेको अध्यागमन कार्यालय कर्मचारी विहीन रहेको भन्दै भारतसँगको सहकार्यमा सो कार्यालय चालु गराउनु पर्ने धारणा राखे । होटेल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेलले भारतीय नागरिकले २५ हजार माथि रकम बोक्न नपाउने नीति परिवर्तन गर्नु पर्ने बताए । उनले पर्यटकीय जिल्लामा आउँदा खुलेर विदेशी पर्यटकले खर्च गर्न पाउनु पर्ने लामिछानेको भनाई छ । इलाम नगरपालिकाका प्रवक्ता नुनदेव दुलालले किसानले समस्या भोग्नु परिरहेकाले समस्या समाधानमा पहल गर्नु पर्ने बताए । इलाम नगरपालिकाका मेयर केदार थापाले जिल्लामा लागु औषध प्रयोगकर्ताको सङ्ख्या वृद्धि भइरहेकाले यसलाई नियन्त्रण गर्नुपर्ने धारणा राखे । त्यस्तै भारतीय तरकारी नेपालमा सहज रुपमा आयात भइरहेकाले यसलाई रोक्दै नेपाली उत्पादनलाई बढवा दिनुपर्ने धारणा राखे । त्यस्तै युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले युवा र खेलकुदका समस्या समाधानमा आफूहरू लागिरहेको बताए । एकै पटक सबै समस्या समाधान हुन नसक्ने भन्दै क्रमैसँग समस्या समाधानमा आफूहरू लागिपरेको बताए । त्यस्तै उपप्रधान तथा गृहमन्त्री लामिछानेले देशमा धेरै समस्या रहेकाले क्रमश प्राथमिकताका आधारमा समस्याहरू समाधान गर्दै जाने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर दुईमा आज उम्मेद्धारी घोषणा समेत गर्ने भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार