गोरखा / क्यान्सरबाट ज्यान गुमाएका शंकर रोकाको पशुपति आर्यघाटमा दाहासंस्कार गरेर काजकिरिया गर्न गाउँ फर्किएको परिवार त्रिशुलीमा बिलाएपछि पौवाखेत गाउँ नै शोकमा डुबेको छ।
गोरखाको गोरखा नगरपालिका–७ पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको चैत १६ मा क्यान्सरबाट मृत्यु भएपछि आमा ७० वर्षीया जुनकिरी रोकासहित सिङ्गो परिवार शोकमा परेको थियो। उपचारका क्रममा मृत्यु भएका शङ्करको पशुपति आर्यघाटमा गए राति अबेर दाहसंस्कार गर्न आमा जुनकिरी गाउँबाट काठमाडौं पुगेकी थिइन्।
छोराको निधनले मर्माहत भएकी जुनकिरी शंकरको दाहसंस्कार सकेर गाउँमै काजकिरिया गर्न तीन वटा गाडी लिएर गोरखा फर्कंदै थिइन्। घर फर्कंदै गरेका तीन गाडीमध्ये दुई गाडी मुग्लिन पुगेर रोकिए। दुई छोरी, ज्वाइँ र दुई नातिसँगै जुनकिरी फर्कंदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आइपुगेन।
निक्कैबेर प्रतिक्षापछि पनि गाडी नआएपछि अनेक शङ्काउपशङ्का बढ्दै गयो। मुग्लिन पुगेका आफ्न्तले प्रहरीलाई जानकारी गराए।
तत्कालै चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिकै बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुली नदीमा खसेर दुर्घटनामा परेको जानकारी प्रहरीमा आएपछि रोका परिवारमा अर्को बज्रपात प¥यो।
घटनालगत्तै आफन्त र परिवार घटनास्थलमा पुगे। प्रहरीले दुर्घटनास्थलबाट पाँच जनाको शव निकाल्यो। घटनामा परेका एक जना अझै भेटिएका छैनन्।
क्यान्सरबाट निधन भएका छोराको गाउँमै काजकिरिया गर्न भनेर ट्याक्सीमा घर फर्कंदै गरेकी आमा जुनकिरी दुई छोरी, एक नाति र ज्वाइँसँगै अब कहिल्यै गाउँ फर्किने छैनन्। उनीहरूको दुर्घटनामा ज्यान गएको छ।
जुनकिरीसहित उनकी जेठी छोरी ४१ वर्षीया हरिमाया उपरकोटी, कान्छी छोरी २८ वर्षीया अञ्जना रोका, माइलो ज्वाइँ ३५ वर्षीय अर्जुन सिर्मल र नौ वर्षीय नाति आगमन उपरकोटी मृत्यु भएको वडाध्यक्ष विष्णु श्रेष्ठले बताए। दुर्घटनामा परी १८ वर्षीया दिवस रोका हराइरहेका छन्। उनी क्यान्सरबाट मृत्यु भएका शङ्करका छोरा हुन्।
मृतक पाँचै जनाको शव अहिले गोरखा अस्पतालमा परीक्षणका लागि राखिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए। दुर्घटनामा परी रोका परिवारमा पाँच जनाको मृत्यु र एक जना हराएको घटनाले अहिले सिङ्गो पौवाखेत गाउँ नै शोकमा डुबेको छ।
अस्पतालमा परिवार र आफन्तलाई सान्त्वना दिन पुगेकाहरूसमेत बोल्न र सम्झाउन सक्ने अवस्था नरहेको वडाध्यक्ष श्रेष्ठले सुनाए।
प्रतिक्रिया