सुनसरी / सुनसरीमा दुई समुदायबीचको झडप नियन्त्रणका लागि लगाइएको कर्फ्यु जारी छ । शुक्रबार हरिनगरस्थित भुटाहाबाट चर्केको हिन्दु–मुस्लिम बीचको झडपले दक्षिणी भेगको शान्ति सुरक्षामा खलल पुगेपछि लगाइएको कर्फ्युलाई आज पनि निरन्तरता दिइएको हो ।
सदरमुकाम इनरुवा र हरिनगर गाउँपालिकासहित ५ वटा स्थानीय तहमा लगाइएको कर्फ्युलाई निरन्तरता दिइएको सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी देवराज फुयाँलले जानकारी दिए ।
स्थानीय प्रशासनले अवाञ्छित र उछृङ्खल गतिविधि हुन नदिनका लागि सम्भावित झडप हुने ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । कर्फ्यु जारी भएपछि जनजीवनमा सामान्य बन्दै गएको पनि फुयाँलले बताए ।
जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन आग्रह पनि गरेको छ । घटनाबारे अनुसन्धान गरी कारबाही, सुरक्षा र समस्या समाधानका लागि संवादलाई पनि अघि बढाइएको फुयाँलको भनाइ छ । समस्या समाधानका लागि सर्वदलीय बैठक समेत बोलाइएको छ ।
सुनसरी प्रहरीले हिन्दु युवा कुटपिटमा संलग्न उपरको जाहेरीका आधारमा केही मुस्लिम युवालाई पक्राउ गरिएको र अन्यको खोजी जारी रहेको जनाएको छ । सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले अघिल्लो दिनको दाँजोमा अवस्था सामान्य बन्दै गएको बताए ।
प्रतिक्रिया