इटहरी खानेपानीको निर्वाचनमा ५२ प्रतिशत मात्रै मतदान , मतगणना भोलि देखि हुने

शनिबार, २४ चैत्र २०८०
इटहरी / इटहरी खानेपानी निर्वाचनमा अपेक्षा गरे भन्दा कम मत खसेको छ । इटहरी खानेपानी उपभोक्ता समितिको सदस्य चयनको लागि भएको निर्वाचनमा ५२.५८ प्रतिशत मात्रै मतदान भएको निर्वाचन समितिका सहसंयोजक चन्द्र प्रसाद भट्टराइले जानकारी दिए । करिब अठार हजार नौ सय मतदाता रहेकामा नौ हजार छ सय अठार जनाले मात्रै मतदान गरेको उनले बताए । धेरै मतदाता इटहरी भन्दा बाहिर रहेको र मृत्यु भएर गएका व्यक्तिहरूको नाममा जडान भएको धाराको नामसारी नभएको कारणले अपेक्षा गरेअनुरूप मतदान नभएको उनले बताए । ११ वटा मतदान केन्द्रका २० वटा बुथमा मतदान भएको थियो । "हामीले ६० देखि ७० प्रतिशत मतदान हुने अनुमान गरेका थियौ तर अपेक्षा गरे अनुरूप मतदान भएन" सहसंयोजक भट्टराइले भने । यस्तै भोलि देखि मतगणना सुरु हुने समेत उनले बताए । भोलि बिहान ८ बजे सर्वपक्षीय बैठक बस्ने र मतगणना सुरु हुने भट्टराईले जानकारी दिए । खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा २० मध्ये १३ वटा वडाबाट १६५ पदका लागि २८० जना उम्मेदवारहरू प्रतिस्पर्धामा थिए । सुरुमा वडाबाट उपभोक्ता समितिको सदस्य निर्वाचित हुनुपर्ने र निर्वाचित सदस्यहरूबाट पदाधिकारी चयन हुने व्यवस्था छ । वडा नं १ र २० मा खुल्लातर्फ ७ जना, महिलातर्फ ४ जना, वडा नं ८ मा खुल्लातर्फ १० जना, महिलातर्फ ५ जना उम्मेदवारहरू निर्विरोध चयन भइसकेका छन् । यसै गरी वडा नं ९ र १० का महिला उम्मेदवारहरू क्रमशः ५ र ३ जना निर्विरोध चयन भइसकेका छन् । प्रत्येक चार वर्षमा हुनुपर्ने निर्वाचन कोरोना महामारी, स्थानीय निर्वाचन लगायतका कारण देखाउँदै ९ बर्ष सम्म स्थगित थियो । यो निर्वाचनसँगै खानेपानी इटहरीमा झन्डै दुई दशक नेतृत्व गरेका एमाले नेता रामप्रसाद चौलागाईँले नेतृत्व हस्तान्तरण गर्दैछन् । उनले दुई पटकको निर्वाचनमा विजयी भएर इटहरी खानेपानी उपभोक्ता समितिलाई नेतृत्व गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार