‘रेवतीरमण भण्डारी प्रस्तावक तथा गणेश उप्रेती र किशोरचन्द्र दुलाल समर्थक भएको संकल्प प्रस्ताव नेपालको संविधान २०७२ को धारा १९१, १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांस तथा कोशी प्रदेशसभा नियमावली २०७४ को नियम ४८ (क), (ख),(ग) र (घ) विरुद्ध भई प्रस्तावको रुपमा पेस गर्न नसकिने अवस्था रहेको बेहोरा जानकारीका लागि सादर अनुरोध छ,’ मुख्यमन्त्री कार्कीले सभामुखलाई पठाएको पत्रमा भनिएको छ ।
तर, कार्कीले उल्लेख गरेको संविधानका धाराहरु संकल्प प्रस्तावका विषयमा मौन छन् । संविधानको धारा १८८ (४) मा तत्काल कायम रहेको सम्पूर्ण सदस्यहरु मध्ये एक चौथाई सदस्यले मुख्यमन्त्रीविरुद्ध प्रदेशसभाको विश्वास छैन भनी लिखित रुपमा अविश्वासको प्रस्ताव पेस गर्न सक्ने उल्लेख छ । धारा १९१ मा अदालतमा विचाराधीन मुद्दाका सम्बन्धमा न्याय निरुपणमा प्रतिकुल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनाको सिलसिलामा गरेको न्यायीक कार्यको सम्बन्धमा प्रदेशसभामा कुनै छलफल गर्न सकिने छैन भनिएको छ ।
मुख्यमन्त्री कार्कीले भने अविश्वासको प्रस्तावजस्तै अल्पमत र बहुमतको विषय उठान गरेका कारण संविधानको धारा १८८ (४) अनुसार संकल्प प्रस्ताव पेस गर्न नमिल्ने दाबी गरेका छन् ।
कोशको ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । सत्ता गठबन्धनसँग ५७ मत छ । एमाले र माओवादी केन्द्रको मात्रै ५२ मत पुग्छ । प्रदेशसभामा पेश भएको संकल्प प्रस्ताव पारित गर्न बैठकमा उपस्थित सांसदको बहुमत भए पुग्छ । संकल्प प्रस्ताव पारित भए मुख्यमन्त्री कार्की अप्ठेरोमा पर्ने छन् ।
एमाले र माओवादीलगायतका सत्ता पक्षीय दलहरुले भने आफ्ना प्रदेशसभा सदस्यहरुलाई बिहीबारको बैठकमा अनिवार्य उपस्थितिका लागि सूचना गरिसकेका छन् । एमाले प्रमुख सचेतक भण्डारीले संकल्प प्रस्ताव पारित गर्नुपर्ने भएकाले पनि सांसदलाई अनिवार्य उपस्थित हुन भनिसकिएको बताए ।
कांग्रेसले संकल्प प्रस्ताव ‘फेस’ गर्ने
कांग्रेस नेता कार्की आफ्ना पार्टीका विद्रोही ८ सहित एमालेका प्रदेशसभा सदस्यको समर्थमा असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका हुन् । त्यतिबेला कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले माओवादीको प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । तर, त्यो निर्णयविरुद्ध विद्रोह गर्दा प्रतिपक्षी एमालेले साथ दिएर कार्कीलाई मुख्यमन्त्री बनाएको हो ।
अहिले सत्ता गठबन्धन फेरिएपछि एमाले र माओवादीले उनीविरुद्ध संकल्प प्रस्ताव दर्ता गराएका छन् । कांग्रेस प्रदेश संसदीय दलले भने संकल्प प्रस्ताव ‘फेस’ गरेर जाने निर्णय लिएको छ । कांग्रेस प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले संविधान र कानुनले दिएको अधिकारमा रहेर सरकारलाई सहयोग गर्ने तथा संकल्प प्रस्ताव ‘फेस’ गर्ने निर्णय लिएको हो ।
प्रदेशसभामा कांग्रेसका २९ जना प्रदेशसभा सदस्य छन् । बैठकमा २१ जनाले धाराण राखेका थिए । धारणा राख्ने क्रममा सांसदहरुले सरकारको आलोचना गर्नेदेखि अब सरकारलाई कसरी बचाएर लैजानेभन्ने विषय पनि उठान गरे ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार दलको बैठकबाट सरकार टिकाउनको लागि पहिलो चरणमा बहुमत जुटाउने प्रयास गर्ने बारेमा छलफल भएको छ । प्रदेशसभामा पेस हुने संकल्प प्रस्तावको सन्दर्भमा संवैधानिक र कानुनी व्यवस्थामा रहेर सरकारको पक्षमा उभिने निर्णय भएको उनको भनाइ छ ।
‘संकल्प प्रस्ताव दर्ता हुने भएपछि ‘फेस’ गरेर जाने निर्णय भएको छ,’ तामाङ भन्छन्, ‘सरकार टिकाउन आवश्यक बहुमत जुटाउनलाई सक्दो प्रयास गर्ने बारेमा पनि बैठकमा छलफल भएको छ ।’
प्रतिक्रिया