पाँचथर / पाँचथरको फिदिममा एक तस्करले चोरेको सुन निलेका छन् । सुरेन भनिने २८ वर्षीय सुरेन्द्र कुमार योङयाले फिदिम २ स्थित विष्णुकुमारी तामाङको घरमा लुटपाट गरेको सुन निलेका हुन् ।
उनले चोरेको एक तोला सुन निलेको बताइएको छ ।
दिउँसो ३ बजे दराज खोलेर लुटपाट गर्दै गर्दा घरधनीले देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरी तत्कालै घटना स्थल पुगेर चोरलाई पक्राउ गरेको थियो । पक्राउ परेका सुरेन्द्रको साथबाट नगद १५ हजार रुपैयाँ फेला परे पनि १ तोला सुनको टिल भने भेटिएन ।
घरधनीले नै चोरले सुन निलेको बताएपछि सुरेन्द्रलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले अस्पताल लगेर एक्स-रे गराएर हेर्दा सुन उनको पेटमै देखियो ।
सुन पेटमै देखिएपछि उनलाई निगरानीमा राखियो र ३० घण्टा पछि दिशा मार्फत सुन बाहिर निकालियो ।
उक्त सुनलाई परीक्षणको लागि सुनचाँदी ब्यावसायीलाइ पठाएर सुनको मुल्याङकन गराइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।
गत चैत्र २८ गते भएको घटनामा संलग्न सुरेन्द्र कुमार योङ्यालाइ जिल्ला अदालतले १ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको थियो ।
वैशाख २३ को जिल्ला अदालतको आदेश अनुसार धरौटीको रकम तिर्न नसकेपछि उनी कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।
प्रतिक्रिया