विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेटमा कोशी प्रदेशलाई उपेक्षा नगरिएको बताएका छन् ।
आवश्यकता एवं स्थिति अनुसार पर्याप्त बजेट र कार्यक्रम दिइएको भएपनि कोशीलाई बजेट कम भयो भनेर गलत प्रचार गरिएको उनको गुनासो छ । श्रमाधान रोजगार मेलाको उद्घाटन गर्न विराटनगर आएका दाहालले बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उत्पादन, उत्पादकत्व र रोजगारीलाई केन्द्रित गरेर सन्तुलित बजेट ल्याएको दाबी गरे ।
‘अहिलेको हाम्रो आर्थिक स्थिति र सबै राजनीतिक परिस्थिति हेर्दा यो एउटा सन्तुलित रूपमा आएको बजेट हो,’ उनले भने, ‘सबै विज्ञहरुले त्यही रूपमा लिएका छन् ।’ थुप्रै नयाँ कार्ययोजना र रोजगारीको ठोस कार्यक्रमसहित सन्तुलित बजेट ल्याइएको जिकिर उनको छ । प्रधानमन्त्री दाहालले बजेटमा समेटिएको कृषि र आईटी दशकसँग सम्बन्धित कुरा आफैंमा नयाँ भएको बताए ।
‘वक्तव्यमा जति कुरा आएका छन्, बजेटमा त्यति मात्रै छैन । वक्तव्यमा आउने कुरा र बजेटको व्यवस्था गर्ने कुरा अलिकति फरक हुँदो रहेछ । वक्तव्यमा सबै कुरा आएका हुँदैनन्,’ उनले भने, ‘विराटनगर चक्रपथको र मेडिकल कलेजसँग सम्बन्धित कुरा बजेटमा परेको छ । तर वक्तव्यमा आएन । वक्तव्यमा नआएका त्यस्ता केही कुराहरु बजेटमा समेटिएका छन् ।’
दाहालले नेकपा (एकीकृत समाजवादी) अहिलेको समीकरणभन्दा बाहिर जान नसक्ने जिकिर गरे । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल विपक्षी दलको बैठकमा सहभागी भएको विषयलाई लिएर उनले समाजवादी अहिलेको समीकरणभन्दा बाहिर जान नसक्ने बताएका हुन् ।
‘माधव जी (माधवकुमार नेपाल) पहिलेदेखि नै उता पनि र यता पनि दुवैतिर जोडिनेजस्तो देखिएको थियो,’ प्रधानमन्त्री दाहाल भन्छन्, ‘तर, अहिले बिहान मेरो कुरा हुँदा यो समीकरणभन्दा बाहिर छैन र हुँदैन भन्ने कुरामा उहाँले ‘क्लियर’ गर्नु भएको छ ।’ मधेस प्रदेशमा अहिलेको समीकरणभन्दा बाहिर सरकार नबन्ने दाबी पनि उनले गरे ।
प्रतिक्रिया