विराटनगरमा प्रधानमन्त्रीले गरे ‘श्रमाधान रोजगार मेला’ उद्घाटन

विहीबार, १७ जेठ २०८१
विराटनगर । औद्योगिक नगरीका रूपमा चिनिदै आएको कोशी प्रदेशको राजधानी विराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार ‘श्रमाधान रोजगार मेला’को उद्घाटन गरेका छन् । आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्दै वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन मेलाको आयोजना गरिएको हो । मुलुकका ७ वटै प्रदेशमा हुने मेला विराटनगरबाट सुरु गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको संयोजनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित मेला बिहीबार र शुक्रबार गरेर दुई दिनसम्म चल्ने छ । सरकारी र निजी क्षेत्रबीचको साझेदारी बढाउँदै रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको मेलामा आवश्यक सीप र क्षमता विकासका विषयमा जानकारी गराइने छ । रोजगारीसँग जोडिएका समस्या र गुनासा सुनेर समाधानका प्रयास हुने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । मेलाको मुख्य उद्देश्य रोजगारदाता र कामको खोजीमा रहेका युवालाई एउटै मञ्चमा मिलाउनु, युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्नु हो । मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाल लगायतका ५० वटा स्टल रहने छ । मेलामा सात सय जनाको आवेदन आउने र कम्तिमा दुई सय ५० जनाले रोजगारी पाउने अनुमान गरिएको छ । विराटनगरबाट सुरु भएको सो मेला देशका सातै प्रदेशमा दुई–दुई दिन सञ्चालन हुने छ । बागमती प्रदेशमा जेठ ३० गते मेलाको समापन गर्ने तयारी छ । विराटनगरमा मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छन् । वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गरिने उनको भनाइ छ । वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गर्न तथा रोजगारीको माग र आपूर्तिको विषयमा काम गर्ने रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउन लागेको जानकारी दाहालले दिए । एक लाख रिटर्नीहरूलाई उनीहरूको ज्ञान, पुँजी, सीप र प्रविधि क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले बजेटमा आवश्यक प्रबन्ध गरेको उनको भनाइ छ । उनका अनुसार दीगो विकासका लक्ष्यहरू तथा सरकारको अन्य नीति तथा योजनाले परिकल्पना गरेअनुरूप श्रम क्षेत्रमा पनि स्वास्थ्य र आरोग्यताका लागि काम गरी श्रमिकको हकहित संरक्षण गरिने छ । रेमिटेन्सबाट अर्थतन्त्रको उत्पादनशिलता बृद्धि गरी आन्तरिक रोजगारी बढाउन सरकार लागि परेको जानकारी दाहालले दिए । उनले सबै क्षेत्रको संयोजन गरी तत्कालका लागि सुरक्षित र उपलब्धिमूलक वैदेशिक रोजगारी र दीर्घकालीन रूपमा आन्तरिक रोजगारी बढाएर देशको समृद्धि र नागरिकको सन्तुष्टि बृद्धि गर्नुपर्ने बताए । सरकारले श्रमिकहरू समस्यामा परेपछि मात्र नभइकन श्रममा प्रवेश गर्न चाहनेहरूको सीप तथा क्षमता अभिबृद्धि गरेर प्रतिस्पर्धी बनाउनेसमेत लक्ष्य राखेकाले धेरै युवा प्रत्यक्ष लाभान्वित हुने उनको भनाइ छ । ‘श्रमाधान रोजगार मेला’ सरकारको अर्थपूर्ण कार्यक्रम भएको दाहालले बताए । श्रम र रोजगारीसँग सम्बन्धित सम्पूर्ण अवसर र समस्याहरूलाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने र नागरिकको रोजगारीको संवैधानिक हक प्रत्याभूत गर्न यसले विषेश भूमिका खेल्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेका छन् । उनले डाटा सेन्टर तथा सूचना प्रविधिको विकासमा उच्च प्राथमिकता, औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रको निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालन गरिने बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार