मोरङको रंगेलीमा नगर प्रहरीमाथि आक्रमण, कार्यवाहक मेयर र प्रशासकीय अधिकृतलाई दुर्व्यवहार   

शुक्रबार, २५ जेठ २०८१
विराटनगर । मोरङको रङेली नगरपालिकाका नगर रक्षक (नगर प्रहरी) माथि एउटा समूहले आक्रमण गरेको छ । आक्रमणबाट ४ जना घाइते भएका छन् ।
नगर प्रहरीहरू सुनिता पौडेल, प्रमोद पासवान, पदमबहादुर थापा र ज्योति घिमिरे सामान्य घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार शरीरका विभिन्न भागमा चोटपटक लागेका घाइतेको रंगेलीमै उपचार भइरहेको छ ।
सोही समूहले नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार एवं हातपातसमेत गरेको छ । डिएसपी बस्नेतले नगरपालिकाका कार्यवाहक मेयर एवं रङेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार गरिएको जानकारी दिए । उनका अनुसार ६ जनाको समूहले कार्यकक्षभित्रै प्रवेश गरेर आचार्य र न्यौपानेलाई दुर्व्यवहार एवं हातपात गर्दै नगर प्रहरीमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आफूलाई विद्यार्थी बताउने समूहले निजी विद्यालयहरूले आफूखुसी कानुन विपरीत शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाएको भनी नगरपालिकाको कार्यालय र नगरपालिकाको शिक्षा शाखामा यही जेठ १३ गते ज्ञापन पत्र बुझाएको थियो । तर, चित्तबुझ्दो जवाफ नआएको भन्दै रङेली–७ स्थित नगरपालिकाको कार्यालयमा गत बुधवार विद्यार्थीसहित १५/२० जनाको समूह भेला भएर विरोध गरेको थियो ।
निजी विद्यालयले लिने शुल्क कम गर्नुपर्ने र शिक्षक नियुक्ति नियम अनुसार हुनुपर्ने माग राख्दै पुगेको समूहको नेतृत्व विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)का सदस्य दीपक यादवले गरेका थिए । रङेली जनता बहुमुखी क्याम्पस र पब्लिक माध्यमिक विद्यालयका विद्यार्थीसमेत संलग्न रहेको समूह दिउँसो ४ बजेपछि त्यहाँबाट हिँडेको थियो ।
तर, यादवको नेतृत्वमा ६ जना पुनः भोलिपल्ट अर्थात् बिहीबार दिउँसो ३ः३० बजेतिर नगरपालिका पुगेर नाराबाजी गरेका थिए । त्यति बेलै जबरजस्ती कार्यकक्षमा प्रवेश गरेर उनीहरूले कार्यवाहक मेयर र प्रमुख प्रशासकीयमाथि दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।  रोक्न खोज्दा नगर प्रहरीलाई समेत आक्रमण गर्दै उनी कार्यकक्षमा प्रवेश गरेका थिए ।
डिएसपी बस्नेतका अनुसार कार्यकक्षमा प्रवेश गरेर हातपात एवं दुर्व्यवहार गर्दै टेबल र कुर्सीले प्रहार गर्न खोजेको सिसी क्यामेरा फुटेजमा देखिन्छ । रोक्न खोज्दा नगर प्रहरीमाथि पनि आक्रमण गरिएको उनले बताए । विद्यार्थीको नाम लिएर गैर विद्यार्थीको समूहले हुलदङ्गा मच्चाउन खोजेको प्रहरीको भनाइ छ । विरोधमा उत्रनेमध्ये अधिकांश गैर विद्यार्थी रहेको प्रहरीको भनाइ छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले दुर्व्यवहार एवं आक्रमणमा संलग्नलाई पक्राउ गरेको हो । रङेली–६ का २३ वर्षीय दीपक यादव,  २० वर्षीय राहुल यादव, रुकुम यादव, रङेली–७ का १८ वर्षीय रमणकुमार राय, रङेली–८ का १९ वर्षीय विषेक झा र रङेली–२ का मिलन मिश्रलाई पक्राउ गरिएको डिएसपी बस्नेतले बताए ।
पक्राउ परेका विरुद्ध अभद्र व्यवहार मुद्दा चलाइने उनले बताए । पक्राउ परेकालाई छाड्न र मुद्दा नचलाउन नेपाली काँग्रेसका नेताहरूले दबाब दिएको प्रहरी स्रोतले बतायो । प्रहरीका अनुसार पक्राउ परेकालाई तत्काल छाड्नुपर्ने भन्दै काँग्रेसका नेताहरूले बारम्बार दबाब दिइरहेका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार