विराटनगरमा राजमार्ग अवरुद्ध पारेर विद्यार्थीको प्रदर्शन, पक्राउ परेकालाई छाड्नुपर्ने माग

शुक्रबार, २५ जेठ २०८१
मोरङ : मोरङको रंगेली नगरपालिकाका कार्यवाहक मेयर, प्रमुख प्रशासकीय अधिकृत एवं नगरप्रहरीमाथि दुर्व्यवहार र आक्रमण गर्ने समूहको समर्थनमा विराटनगरमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीले कोशी राजमार्गअन्तर्गत विराटनगरको रोडशेष चोकमा यातायात अवरुद्ध पारेर शुक्रबार दिउँसो २ः३० बजेदेखि प्रदर्शन सुरु गरेका हुन् । विद्यार्थीको अवरोध र प्रदर्शनका कारण सवारीसाधन आवागमन ठप्प भएको छ । सडकमा सयौं सवारीसाधन लाम लागेका छन् । विद्यार्थीहरुले दुईतर्फी यातायात बन्द गर्दै सवारीसाधन सञ्चालनमा रोक लगाएका हुन् । उनीहरुले मोरङको रंगेलीमा पक्राउ परेका विद्यार्थीलाई तत्काल छाड्नुपर्ने माग गर्दै नाराबाजी र प्रदर्शन गरिरहेका छन् । प्रदर्शनको नेतृत्व महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) का कार्यवाहक सभापति एवं नेपाल विद्यार्थी संघ (नेविसंघ)का सभापति प्रशान्त यादवले गरेका छन् । विद्यार्थीको हकहितका लागि आवाज उठाउने र शैक्षिक क्षेत्र सुधारको माग राख्ने विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेर थुनेका कारण विरोध प्रदर्शन गरिएको यादवले बताए । रंगेली नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि बिहीबार एउटा समूहले दुव्र्यवहार एवं हातपात गरेको थियो । त्यही समूहको आक्रमणमा परेर ४ जना नगरप्रहरी सामान्य घाइते भएका छन् । नगरप्रहरीहरु सुनीता पौडेल, प्रमोद पासवान, पदमबहादुर थापा र ज्योति घिमिरे घाइते भएका हुन् । प्रहरीका अनुसार आक्रमणको नेतृत्व विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सदस्य एवं नेविसंघका सदस्य दीपक यादवले गरेका थिए । दुव्र्यवहार र आक्रमणमा संलग्न यादवसहित ६ जनालाई प्रहरीले पक्राउ गरेर अभद्र व्यवहार मुद्दा चलाउन प्रक्रिया अघि बढाएको छ । रंगेली–६ का २३ वर्षीय यादवसहित २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र पक्राउ परेका हुन् । उनीहरुलाई तत्काल छाड्नुपर्ने र मुद्दा चलाउन नपाइने माग राख्दै क्याम्पसका विद्यार्थी सडकमा ओर्लिएर सवारी आवागमन ठप्प पारेका lyP । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईविरुद्ध पनि नाराबाजी गरेका थिए । प्रदर्शनस्थलमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी बुद्ध श्रेष्ठको नेतृत्वमा परिचालित टोलीले आन्दोलनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले सम्झाइबुझाइ गरेर अवस्था साम्य पार्दै यातायात सुचारु गरेको थियो . पक्राउको विरोधमा रंगेलीमा पनि विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । निजी विद्यालयहरुले आफूखुसी कानुनविपरीत शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाएको भनी आफूलाई विद्यार्थी बताउने समूहले नगरपालिकाको कार्यालय र नगरपालिकाको शिक्षा शाखामा यही जेठ १३ गते ज्ञापन पत्र बुझाएको थियो । तर, चित्तबुझ्दो जवाफ नआएको भन्दै रंगेली–७ स्थित नगरपालिकाको कार्यालयमा प्रवेश गरेर कार्यवाहक मेयर, प्रमुख प्रशासकीय अधिकृत एवं नगर प्रहरीमाथि दुव्र्यवहार र आक्रमण गरिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनासँग सम्बन्धित सीसी क्यामेरा फुटेज पनि छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार