विराटनगरमा खाली जमिनमा भेटियो १६९ किलो गाँजा बरामद

शुक्रबार, २१ असार २०८१
विराटनगर । विराटनगरमा खाली जमिनमा ठूलो परिमाणमा लागूऔषध गाँजा भेटिएको छ । नेपाल–भारत सीमा क्षेत्रनजिक विराटनगर महानगरपालिका–१७ गुजार टोलस्थित खाली जमिनमा १ सय ६९ किलो गाँजा फेला परेको हो । उक्त गाँजा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त टोलीले बिहीबार राति ११ बजेतिर बरामद गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार गाँजा कसले ल्याएर खाली जमिनमा छाडेको हो भन्ने यकिन भइसकेको छैन । गाँजाको ओसारपसार एवं कारोबारमा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकिरहेको छैन । गाँजाको अवैध धन्दामा संलग्नको पहिचान हुन बाँकी रहेको र खोजी जारी राखिएको डीएसपी बस्नेतले बताए । खाली जमिनमा त्यत्तिकै छाडिएको ६ वटा पोकाभित्र गाँजा भेटिएको जानकारी उनले दिए । गाँजा आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । नेपालबाट भारततर्फ कटाउने तयारी गर्दैगर्दा प्रहरी आएको थाहा पाएका कारण ओसारपसारमा संलग्नहरु गाँजा फालेर भागेको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार