विराटनगर / चितवनमा पहिरोले बस बगाउँदा ६० जना भन्दा बढी यात्रु बेपत्ता भएका छन् ।काठमाडौँबाट रौतहटको गौर आइरहेको गणपति डिलक्स बसलाई चितवनको सिमलतालमा पहिरोले बगाउँदा यात्रु बेपत्ता भएका हुन् । तीन जना यात्रुले हाम फालेर ज्यान जोगाउन सफल भए ।
रौतहटको देवाही गोनाहीका दुई जना र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना छन् । उनीहरूलाई बस खसेको स्थानबाट उद्धार गरेर अर्को बसमा चढाइ नारायणगढ पुर्याइएको छ । अर्को बस चढेर नारायणगढतर्फ जाँदै गर्दा सिसवाधमौराका एक यात्रुले आफू बाँचेको तर सँगैका साथी बेपत्ता भएको बताएका छन् ।
ती यात्रुले बस खस्न थालेपछि आफू क्याबिनतिरको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएका छन् । यात्रुको नामथर पत्ता लागेको छैन तर उनी वृन्दावन नगरपालिका सिसवा धमौराका वासिन्दा रहेको बताइएको छ । अरू दुई जनाले पनि त्यसै गरी ज्यान जोगाएका छन् । ती यात्रुका अनुसार उनीसँगै क्याबिनमा चार जना पनि थिए । उनले आफूसँगका यात्रु र आफ्ना झोलासहितका सामान बेपत्ता भएको बताएका छन् ।
आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौँतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका थिए ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान छ । यद्यपि यात्रुहरूको यकिन विवरण भने थाहा हुन सकेको छैन ।
प्रतिक्रिया