इटहरीमा दुई दर्जन सहकारी मापदण्ड विपरीत, केही झोलामा सीमित हुँदा आधा सहकारीको अत्तोपत्तो छैन

शनिबार, २९ असार २०८१

पल्सका १४ सूचक र सदस्य केन्द्रीयताका ३ वटा सूचकका आधारमा प्रदेशभरिमा ४ सय ६२ वटा सहकारी संस्थाको जोखिम विश्लेषण गर्दा ७८ वटा उच्च जोखिम, ३ सय ४७ वटा मध्यम जोखिम, ३७ वटा न्यून जोखिम

पवन अधिकारी इटहरी : इटहरी उपमहानगरपालिका क्षेत्रमा दुई दर्जन बढी सहकारी संस्थाहरू मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । इटहरीमा कार्यक्षेत्र, मापदण्ड र नियमभित्र पर्ने एक सय २८ सहकारीमध्ये दुई दर्जन बढी सहकारीहरूले न्यूनतम मापदण्डसमेत पालना नगरेको पाइएको हो । इटहरी उपमहानगरपालिकाको सहकारी शाखाले गरेको अनुगमनका क्रममा ती सहकारीहरूमा समस्या पाइएको छ । उपमहानगर क्षेत्रभित्र रहेका सहकारीहरूले विषयगत कार्यलाई प्राथमिकतामा नराखी बचत ऋणलाई मुख्य प्राथमिकतामा राखिनु, बिना धितो जथाभाबी ऋण प्रवाह गर्नु, प्रचलित सहकारी ऐन अनुरूप बिनियम संशोधन नगरिएको, लगानी गरिएको ऋण असुल गर्ने भरपर्दो संयन्त्र नबनाउनु, वार्षिक साधारण सभा समेत नगर्नुजस्ता ‘फल्ड’ पाइएको छ । यस्तै, धितोसहित ऋण प्रवाह गर्दा पनि प्रचलित कानुनलाई पालना नगरेको, ऋणीहरूले ऋण लगिसकेपछि संस्थामा फर्केर समेत आउने नगरेको, ऋण उठाउन जाँदा विभिन्न धाक धम्की समेत दिएर ऋण उठाउन नदिएको सञ्चालकहरूको गुनासोसमेत छ । अनुगमनका क्रममा हलेसी, कलश, खनार बचत तथा ऋण सहकारी संस्थालाई कानुनी कारबाही लागि प्रक्रिया अगाडि बढाएको सहकारी शाखाका प्रमुख बालकुमार पोखरेलले बताए । सो क्रममा खनार बचत तथा ऋण सहकारी संस्थाका चार जना सञ्चालकहरूलाई प्रहरीले पक्राउ गरेर कार्वाहि प्रक्रिया समेत अघि बढाएको छ । अनुगमन गरिएकामध्ये इटहरी–३ मा रहेको सरस्वती कृषि सहकारी संस्थाले अहिलेसम्म वार्षिक साधारण सभाको प्रतिवेदनसमेत बुझाउन नसकेको पाइएको छ । यस्तै, इटहरी ६ मा रहेको सङालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा बचत फिर्ता गर्न समस्या देखिएको पाइएको छ । यस्तै, इटहरी ४ मा रहेको हिमाली बचत तथा ऋण सहकारीमा पनि बचत फिर्तामा समस्या देखिएको पीडितहरूले गुनासो गरेका छन्। इटहरीमै रहेको दियो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकहरूलाई नगरले पत्र काटेर सम्पर्क आउन अल्टिमेटम दिए पनि अहिलेसम्म सम्पर्कमा नआएको पोखरेलले बताए । उक्त सहकारीले अहिलेसम्म बचतकर्ताहरूको बचत फिर्ता दिन नसकेको पीडितहरूको गुनासो छ ।
इटहरीमै रहेको तलेजु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि बचतकर्ताहरूको बचत फिर्ता दिन नसकेको पीडितहरूको भनाइ छ । तलेजुका सञ्चालकहरूले आफू खुसी बजारमा कर्जा प्रवाह गरेको भएपनि ऋण उठाउन नसकेपछि समस्या उत्पन्न भएको बताइन्छ । यस्तै, सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताहरूको बचत ६ महिना अघिदेखि दिन सकेको छैन । सहकारीले बचत फिर्ता दिन नसकेपछि सहकारीमा सङ्कलकहरूबिचमै बेमेल भएका कारण उक्त विषय इलाका प्रहरी कार्यालय इटहरीसम्म पुगेको छ ।
यसैगरी महक महिला कृषि सहकारी संस्था लिमिटेड, राजमार्ग कृषि सहकारी संस्था लिमिटेड, त्रिकोण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सहकारी संस्था लिमिटेड, पार्वती बचत तथा ऋण सहकारी संस्था लिमिटेड, छिन्ताङदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मण्डली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गीताञ्जली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय कहाँ छ भन्ने अत्तोपत्तो नभएको उपमहानगरले जनाएको छ ।
नगरले पटक पटक सूचना प्रकाशित गरेर सम्पर्कमा आउन आग्रह गर्दासमेत सम्पर्कमा नआएपछि सहकारीलाई अब के गर्ने भन्ने अन्योल भएको छ । यता, वसुन्धरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्वाधीन सूचना सञ्चार सहकारी लिमिटेड, किसान हित बङ्गुर पालन कृषि सहकारी संस्था लिमिटेड, हाँसपोसा महिला उपभोक्ता सहकारी संस्था लिमिटेडका सञ्चालकहरू सम्पर्कमा आएको भएपनि अहिलेसम्म कुनै पनि कागजात नबुझाएको स्रोतले जनाएको छ ।
इटहरी नगर सहकारी शाखाका प्रमुख पोखरेलले नगर सहकारी समितिको बैठक राखेर समस्याग्रस्त सहकारीहरूलाई के गर्ने भन्ने निर्णयमा पुग्ने बताए । उनले निष्क्रिय रहेका तथा सम्पर्कमा नआएका सहकारीहरूलाई अब अन्तिम पटक सूचना प्रकाशित गरी सम्पर्कमा आउन अनुरोध गर्ने बताए । नियमसंगत चलाउने भनेर सहकारीहरू दर्ता हुने गरेको भएपनि सञ्चालकहरूबिच नै बेमेल हुन थालेपछि धेरै सहकारीहरू दर्ता मात्रै भएको जिल्ला सहकारी सङ्घ सुनसरीका अध्यक्ष गङ्गाप्रसाद दाहाल बताउँछन् । ‘अघिल्ला वर्षहरूमा पटक पटक अनुगमन गरेर सुधारका प्रयास गर्न खोज्दा पनि अटेर गरेका कारण समस्या उत्पन्न भयो,’ उनले भने, ‘सहकारी ऐन कानुलाई भन्दा पनि व्यवहारिक ढङ्गले व्याख्या गरी संस्थाहरूले आफू खुसी चलेका कारण समस्या विकराल बन्दै गयो ।’ सञ्चालकहरूले सहकारी भन्ने शब्दलाई नै अपव्याख्या गरेको कारण समस्या निम्तिरहेको उनको बुझाई छ । आफूहरूले जिल्लाभरका सहकारीहरूलाई व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पटक पटक जानकारी गराएको र सहकारी अभियानले मात्र समस्या चिर्न नसकिने बताए । प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाका सूचना अधिकारी मनोज कार्कीले आफूहरूले नियमन गर्ने एक हजार ८७ सहकारीमध्ये पाँच सय सहकारीले वार्षिक विवरण बुझाए पनि आधा बढी सहकारीहरूले प्रतिवेदनसमेत नबुझाएको बताए । उनका अनुसार रजिस्ट्रार कार्यालयले यस वर्ष दुई सय ५६ वटा सहकारीको नियमित अनुगमन, १५ ओटा सहकारीको सघन अनुगमन गरेको थियो । ‘अनुगमन गरिएकामध्ये समस्या देखिएका सहकारीहरूलाई सुधार गरेर सञ्चालन गर्न निर्देशन दिएका छौँ,’ उनले भने । पल्सका १४ सूचक र सदस्य केन्द्रीयताका ३ वटा सूचकका आधारमा प्रदेशभरिमा ४ सय ६२ वटा सहकारी संस्थाको जोखिम विश्लेषण गर्दा ७८ वटा उच्च जोखिम, ३ सय ४७ वटा मध्यम जोखिम, ३७ वटा न्यून जोखिम रहेको पाइएको कार्कीले जनाए ।
प्रदेश भरमा हाल खोटाङको लालुपाते सहकारी संस्था, ओखलढुङ्गाको ककनी गौरिबन कृषि सहकारी संस्था, इटहरीको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था, झापाको जयपुर बहुउद्देश्यीय सहकारी संस्था, माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था, झापाकै प्रथम पाइला बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताको बचत फिर्तामा समस्या देखिएको उनको भनाइ छ ।
सञ्चालकहरूले रकमसमेत अपचलन गरेपछि कानुनी कारबाहीको दायरामा रहेको उनले बताए । ‘असीमित स्वार्थ राखेर सीमित व्यक्तिहरूको समूहले विभिन्न अनुदान हत्याउन तथा सञ्चालकले पैसा चलाउनका लागि केही समय अघिसम्म जथाभाबी सहकारी दर्ता गर्ने प्रचलन रहेका कारण यो समस्या आएको हो,’ एक जानकारले भने ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार