एक वर्षमा पौने ८ अर्बको अलैँची निर्यात

शनिबार, १२ साउन २०८१
इलाम / एक वर्षमा करिब आठ अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष ७ अर्ब ९४ करोड ९ लाख ६४ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो । ५० लाख १८ हजार ३३५ किलो अलैँची निर्यात भएको हो । अघिल्लो वर्षको तुलनामा निर्यात मूल्य ४ प्रतिशत र परिमाणका आधारमा ५० प्रतिशतले घटेको विभागको तथ्याङ्क छ । गत आर्थिक वर्ष ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँ बराबरको ९९ लाख ९१ हजार १४९ किलो अलैँची निर्यात गरेको थियो  । नेपाली अलैँची व्यवसायी महासङ्घका अध्यक्ष निर्मल भट्टराईले अघिल्लो वर्षको तुलनामा गत वर्ष अलैँची उत्पादन ५० प्रतिशतले घटेको तर मूल्य वृद्धि भएका कारण निर्यात मूल्यमा भने ठुलो असर नपरेको बताए । ‘उत्पादन ५० प्रतिशतले घटेकाले अलैँचीको परिमाण पनि स्वाट्टै घटेको बताइएको छ । मूल्यवृद्धि भएकाले निर्यात मूल्य थोरै मात्र घटेको जनाइएको छ । गत वर्ष प्रतिमन ६० हजार रुपैयाँमा कारोबार भएको अलैँची यस वर्ष ९० हजार रुपैयाँसम्ममा कारोबार भएको भट्टराईले बताए । उत्पादन घटे पनि मूल्य बढेकाले अलैँचीको निर्यात मूल्यमा खासै असर नपरेको उनको भनाइ छ । यद्यपि अलैँची उत्पादन नघटेको भए यस वर्ष १२ अर्ब रुपैयाँसम्मको अलैँची निर्यात हुने महासङ्घको आकलन थियो । पछिल्ला दुई वर्षदेखि समयमा पानी नपर्ने, नचाहिने बेला पानी पर्नेलगायत विविध कारण अलैँची उत्पादन घटिरहेको महासङ्घले जनाएको छ । अलैँचीका लागि माघ र फागुनमा पानी पर्नुपर्थ्यो । तर यसपालि चैतमा पानी पर्‍यो । सुक्खा यामका कारण अलैँचीका बोट पनि मरेको किसानहरूको भनाई छ । यसपालि ५० प्रतिशत अलैँची उत्पादन घट्ने अनुमान किसानहरूको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार