इटहरी । अचेल हरेकजसो क्षेत्रमा ‘सिन्डिकेट’ छ । राजनीति, साहित्य, उद्योग–व्यापार सबै क्षेत्रमा आफ्ना र नजिकका मान्छेहरुका लागि मात्रै अवसर दिने प्रवृत्ति बढ्दो छ ।
यस्तो प्रवृत्तिका कारण योग्य, दक्ष र प्रतिभावान व्यक्तिहरुले मौकै नपाउने अनि आफ्नो रुचिको क्षेत्रबाट पलायन हुनुपर्ने अवस्था आउँछ । यस्ता धेरै उदाहरण पाइन्छ ।
गीत–संगीतको क्षेत्र पनि यो प्रवृत्तिबाट मुक्त छैन । यसको ज्वलन्त उदाहरण हुन्– गंगा बिष्ट । उनलाई पटक पटक निरास पारियो । त्यसो गर्दा क्षणिक रुपमा दुःखी भए पनि उनी बिचलित भइनन् ।
आफ्नो मनले खाएको रुचिको क्षेत्र संगीत नै थियो । त्यसैले लागिरहिन् । अनेक हण्डर खाइन् तर त्यसबाट उनले अनुभव हासिल गरिन् अनि आफूलाई अझ परिमार्जित गर्दै लगिन् ।
त्यसैले अबका दिन उनका लागि सफलता बोकेर आउने क्रममा छन् । उनको स्वर र गीतलाई मन पराउने अचेल धेरै छन् । प्रशंसाका साथमा उनले आगामी दिनमा अझ राम्रो गर्न प्रोत्साहन पनि पाइरहेकी छन् ।
सुनसरीको इटहरीकी बिष्ट गायन क्षेत्रका लागि अचेल नौलो नाम होइन । जब उनी यो क्षेत्रमा भरखर पाइला चाल्दै थिइन्, कसैले पत्याएन । अवसर दिएन । तर उनले हरेस खाइनन् । लगातार लागिरहिन् । अन्ततः उनको मेहनत र लगावले अब उनी स्रोतामाझ राम्ररी परिचित भएकी छन् ।
सानैदेखि गायनमा रुचि भएकी उनले ४ वर्षअघि ‘कभर गीत’ गाएर यस डेब्यु गरेकी थिइन् । त्यसयता ५ वटा गीत गाएकी बिष्ट नयाँ गीतको तयारीमा जुटेकी छन् ।
डा। नवराज लम्सालको शब्द र बाबुल गिरीको संगीतमा आउन लागेको ‘फूल राम्री, फूलभन्दा म राम्री, कोही भन्दैन किन हो नराम्री’ बोलको गीत केही दिनमै स्रोतामाझ आउँदैछ ।
खोटाङको सिम्पानीमा जन्मिएर २०७० सालमा इटहरी झरेकी बिष्ट गाउन क्षेत्रमा केही गर्ने अठोटका साथ साधनमा लागेकी छन् ।
इटहरीको निशान्त संगीत विद्यालयमा संगीतसम्बन्धी कौशल सिकेर आफनो ब्यावसायिक गायन क्षेत्रमा प्रबेश गरेकी उनी हाल काठमाडौको डिल्लीबजारमा रहेको संगीत पाठशालामा गुरु चण्डिप्रशाद काफ्लेबाट संगीत सिकिरहेकी छन् ।
प्रशिक्षण र गायन लागि संघर्ष गर्ने क्रममा उनले तीतो–मीठो दुवै अनुभव गरेकी छन् । ‘गीत निकालेर मात्र हुँदैन रहेछ’ विष्टले भनिन्, ‘यहाँ बिक्न र टिक्न निकै गाहो रहेछ ।’
नवप्रवेशी कलाकारहरुलाई कसैले मञ्चसम्म दिन नमान्ने गरेको उनको भागाइ छ । ‘यहाँ बलेको आगो ताप्ने मात्रै धेरै भेटिने रहेछन्’ उनी भन्छिन्, ‘तर पनि निरास कत्ति पनि छैन र विचलित पनि छैन, निरन्तर अघि बढछु, एकदिन अवश्य सफल हुने आत्मविश्वास छ ।’
सुरु सुरुमा गीत गाएर आएँ भनेर घर र छरछिमेकमा सुनाउँदा मन दुखाउने गरेको तर समयसँगै तिनै आफन्त तथा छरछिमेकहरुले प्रशंसा गर्ने गरेको उनी बताउँछिन् ।
कतिपटक मञ्चमा बोलाएर पनि अन्तिममा गीत गाउन नदिएर फर्काएको घटना पनि भोगेकी छन् उनले । त्यस्तो बेला भने निकै दुःख लाग्ने गरेको उनी बताउँछिन् ।
इटहरीमै रहेको एक क्लबले समेत कार्यक्रममा बोलाएर गीत समेत गाउन नदिएको अनुभव उनीसँग छ । आफूप्रति त्यस्तो व्यवहार गर्दा धेरैपटक रोएको उनले सुनाइन् ।
‘चर्चितहरुलाई मात्र ठाउँ दिने गर्छन्’ उनले भनिन्, ‘हामी जस्तो यस क्षेत्रमा भरखर लागेर केही गरौं भन्नेलाई ठाउँ दिन कन्जुस्याईं गर्ने रहेछन् ।’
काठमाडौको एक संस्थामा रोजगारी गर्ने विष्टले कामसँगै संगीतलाई पनि निरन्तरता दिइरहेकी छन् । यसअघि उनले वसन्त सापकोटाको शब्द तथा संगीत रहेको ‘कान्छाको के छ खबर’ बोलको गीत गाइसकेकी छन् ।
डिजे मेवाहाङको शब्द र संगीतमा उनले गायक किरण भुजेलसँग पनि गीत गाएकी छन् । चर्चित कलाकार ‘राता मकै’ किरण केसीसँग ‘दसैँको जमरा’ बोलको गीत गाएर स्रोता तथा दर्शकको मन जित्न सफल भइसकेकी छन् ।
उनले सुवास कार्कीको शब्द–संगीतमा ‘मेरो सपना अधुरै भयो’ बोलको गीत स्रोतामाझ ल्याइसकेकी छन् । सलार्ही जिल्लामा रहेको बागमती नगरपालिकास्थिते भरत तालका बारेमा शब्द तथा संगीत रहेको चेतन सापकोटासँग गीत गाएकी छन् ।
सानैदेखि रुचि भएकैले उनले खोटाङको सिम्पानीमा रहेको सिम्पानी माध्यामिक विद्यालयमा आयोजना हुने सबैजसो कार्यक्रममा सहभागी हुने गरेकी थिइन् ।
त्यस्ता कार्यक्रमहरुमा सहभागी भएर प्रस्तुति दिंदा उनी धेरैपटक विजयी पनि बनेकी थिइन् । अनि शिक्षक र अरु विद्यार्थी उनका प्रशंसक बनेका थिए । उनलाई अझ गाउन हौसाउँथे ।
माध्यामिक तहसम्म सोही बिद्यालयमा अध्ययन गरकी बिष्टले उच्च माध्यामिक तहको कक्षा भने उदयपुरको हडियास्थित हडिया उच्च माबिमा अध्ययन गरेकी थिइन् ।
पढाईकै क्रममा इटहरीमा रहेको त्रिशक्ति टेक्निकल कलेजमा ल्याब टेक्निसियन पनि पढेकी थिइन् । पढाईसँगै गायन क्षेत्र र आफनो घर परिवारलाई समेत समय दिनुपर्ने अवस्थाका कारण यस क्षेत्रलाई भनेजति समय दिन नसकेको उनी बताउछिन् ।
प्रतिक्रिया