मधेशको २० सदस्यीय मन्त्रिपरिषद्मा जनमतबाट मुख्यमन्त्रीसहित ५ (२ मन्त्री र २ राज्यमन्त्री), एमालेबाट ७ (४ मन्त्री र ३ राज्यमन्त्री), कांग्रेसबाट ६ (४ मन्त्री र २ राज्यमन्त्री) र लोसपाबाट २ (१ मन्त्री र १ राज्यमन्त्री) मन्त्री थिए । जम्बो मन्त्रिपरिषद् बनेको भन्दै तीव्र आलोचना भएपछि मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार आठै राज्यमन्त्रीलाई हटाएका छन् । यससँगै अब मधेशमा १२ सदस्यीय मन्त्रिपरिषद् कायम भएको छ ।
जनकपुरधाम : मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह २० सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाएको आठ दिनमै ब्याक भएका छन् । आठ जिल्ला प्रदेश सभामा ६४ निर्वाचन क्षेत्र रहेको मधेशमा जम्बो मन्त्रिपरिषद् बनेको भन्दै तीव्र आलोचना भएपछि मुख्यमन्त्री सिंहले मंगलबार राजधानी काठमाडौं लाग्नुअघि आठै राज्यमन्त्रीलाई हटाएका हुन् । आठ राज्यमन्त्री हटाएसँगै मधेशमा १२ सदस्यीय मन्त्रिपरिषद् कायम भएको छ ।
सिंहले जनमत, एमाले, कांग्रेस र लोसपाबाट राज्यमन्त्री बनेका मोहम्मद जैद आलम, केशव राय, शारदादेवी थापा, रञ्जुकुमारी मण्डल, शम्भु साह, रामबाबु यादव, रेखा ठाकुर र नीलमकुमारी रजकलाई हटाएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएका थिए । मुख्यमन्त्री सिंहले १५ सदस्यीय मन्त्रिपरिषद्लाई गत २२ साउनमा एकैपटक पाँच राज्यमन्त्री थपेर २० पुर्याएका थिए । संविधानतः प्रदेश सभाको सदस्यीय संख्याको २० प्रतिशतसम्म मन्त्रिपरिषद् बनाउन सकिन्छ । मधेशमा एक सय सात सदस्यीय प्रदेशसभा छ । यसरी मधेशमा २१ सदस्यीय मन्त्रिपरिषद् बनाउन सकिन्छ । तर, केन्द्रमा २५ सदस्यीय मन्त्रिपरिषद् रहेका बेला आठ जिल्ला रहेको प्रदेशमै २० सदस्यीय बनाइएपछि राजनीतिक वृत्तमा पनि चर्काे आलोचना भएको थियो ।
प्रतिपक्षी दल जसपा नेपालका निकट युवा र विद्यार्थी संगठनले आन्दोलन नै गरेका थिए । कुर्सी जुलुस र सिटी जुलुस भएको थियो । चौतर्फी आलोचना भएपछि जनमत नेतृत्वले मुख्यमन्त्री सिंहसँग स्पष्टीकरण नै सोधेको थियो । पार्टीसँग कुनै समन्वय नगरी मन्त्रिपरिषद् विस्तार तथा सरकारको आवश्यक कामभन्दा उद्घाटन तथा कार्यक्रममा बढी सहभागी हुने गरेको आरोप मुख्यमन्त्री सिंहमाथि थियो ।
मुख्यमन्त्रीमाथि दबाब बढेपछि प्रधानमन्त्री केपी ओलीले एमाले मधेश संसदीय दलका नेता सरोज यादव र मुख्यमन्त्री सिंहलाई फोन गरेर मन्त्रिपरिषद्को संख्या घटाउन भनेका थिए । एमाले संसदीय दलका नेता यादवले गठबन्धन दलबीचको सहमतिमै राज्यमन्त्री हटाइएको बताए । ‘मन्त्रिपरिषद् ठूलो भयो, राज्यमन्त्री नथपौँ भनेर मैले पहिले पनि भनेको थिएँ । अहिले मन्त्रिपरिषद् ठूलो भयो भन्ने कुरा भएपछि हटाएका हौँ,’ उनले भने । काठमाडौं पुगेका मुख्यमन्त्री सिंहसँग टेलिफोन सम्पर्क हुन सकेन । तर, उनको सचिवालयले गठबन्धन दलको सहमतिअनुसार राज्यमन्त्री हटाइएको जनाएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया