पाँचथर / विदेश मोह कति छ भन्ने बुझ्न पाँचथरको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क हेरे पुग्छ । किनकि यहाँ नागरिकता लिनेभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी छ ।
आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय पाँचथरबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको सङ्ख्या ७ सय ३३ जनाले बढी रहेको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरका अनुसार आव २०८०र८१ मा पाँचथरबाट चार हजार ६ सय १० जनाले नागरिकता लिएका थिए । सोही अवधिमा ५ हजार ३ सय ४३ जनाले राहदानी लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय पाँचथरबाट आव २०८०/८१ मा प्रतिलिपिबाहेक वंशजका आधारमा र गैर आवासीय नागरिकता र वैवाहिक अङ्गीकृत नागरिकता गरी चार हजार ६ सय १० जना लाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।
पाँचथरबाट वैवाहिक अङ्गीकृत नागरिकता ७ वटा र ६ वटा गैर आवासीय नागरिकता वितरण भएको प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कोइरालाले जानकारी दिए ।
‘जिप्रकाबाट नागरिकताभन्दा राहदानी लिने सेवाग्राही बढी छन्’, कोइरालाले भने, ‘अध्ययन, रोजगारीका लागि तथा घुम्न जाने, तत्काल आवश्यक नपरे पनि बनाएर राख्ने तथा चाहिँदा तत्काल प्रयोग गर्न पाइने भएकाले पनि राहदानी बनाउनेको सङ्ख्या धेरै देखिएको हो ।’
प्रतिक्रिया