२१ हिमताल विस्फोटको जोखिममा

मंगलबार, ०४ भदौ २०८१
 ससाना हिमताल फुट्दा नै ठूलो क्षति भइरहेका वेला ठूला ताल विस्फोट हुन रोक्ने उपाय तत्काल थाल्न विज्ञको सुझाव अति जोखिमको सूचीमा रहेका ६ हिमतालमध्ये दुईवटामा पानीको सतह घटाइयो, बाँकीका लागि बजेट खोज्दै सरकार
विस्फोटको जोखिममा रहेका ४७ हिमताल नेपाल, भारत र तिब्बतमा रहे पनि ती सबैको असर नेपालमा पर्छ । तीन हजार ६२४ हिमताललाई कोशी, गण्डकी र कर्णाली जलाधारमा समावेश गरिएको छ । यीमध्ये ४२ कोशी, तीन गण्डकी र दुईवटा कर्णाली जलाधारमा पर्छन् । भूगोलका हिसाबले हेर्दा जोखिममा रहेका हिमतालमा २५ वटा तिब्बत, २१ वटा नेपाल र एउटा भारतमा पर्छ । काठमाडौं : दुई अन्तर्राष्ट्रिय संस्थाले तीन वर्षअगाडि गरेको अध्ययनले नेपालका २१ हिमताल फुट्ने जोखिममा छन् । तर, जोखिम न्यूनीकरणका लागि चाहिने बजेट जुटाउन सरकारलाई सकस भएको छ । नेपाललाई असर पार्ने विस्फोटको जोखिममा रहेका हिमताल ४७ छन् । यसबाट जोखिम रहेकाले ठुलो धनजनको क्षतिको खतरा कायमै छ । त्यसैले विज्ञको सुझाव छ– ठुला ताल फुट्नबाट जोगाउन तत्काल उपाय थाल्नुपर्छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले तीन वर्षअघि सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा हिन्दुकुश हिमालय क्षेत्र भनिने यस क्षेत्र(नेपाल, भारत र तिब्बत)मा मा रहेका पहिचान भएका तीन हजार ६२४ हिमतालमध्ये ४७ विस्फोटनको उच्च जोखिममा छन् । यीमध्ये सबैभन्दा बढी तिब्बतमा २५, नेपालमा २१ र एउटा भारतमा छ । अध्ययनमा संलग्न इसिमोडका वरिष्ठ जलवायु विशेषज्ञ अरुणभक्त श्रेष्ठ ससाना हिमताल फुट्दा नै ठूलो क्षति भइरहेका वेला ठूला ताल फुट्नबाट जोगाउन उपाय थाल्नुपर्ने बताउँछन् । ‘इम्जा १ वर्गकिलोमिटर र च्छोरोल्पा १.६ वर्गकिलोमिटरमा फैलिएका जोखिमयुक्त ठूला हिमताल हुन् । ससाना ताल फुट्दा विनास भइरहेको छ, ठूला ताल फुट्दा त प्रलय नै हुन्छ,’ श्रेष्ठले भने, ‘हिमनदी पग्लिएर नयाँ हिमताल बनिरहेका छन् । हिमनदीले ओगटेको क्षेत्रमा ताल बनेका छन् । पहिले प्राकृतिक रूपमा ताल बढिरहेका थिए । पछिल्ला दशकमा मानवसिर्जित जलवायु परिवर्तन, तापक्रम वृद्धिका कारण हिमनदी पग्लिएका हुन् ।’ उनले हिमतालको समग्र अध्ययन भएको र क्षेत्रगत रूपमा भौगर्भिक अध्ययन पनि गर्नुपर्ने बताए । ‘ताल फुट्दा जलाधार क्षेत्रमा नोक्सानी हुने देखियो । मानववस्तीसँगै जलविद्युत् र सिँचाइका परियोजना त्यहीँ छन् । तालको जोखिम घटाउने त छँदै छ । नदीका तटीय क्षेत्रमा तटबन्धन गर्ने, बस्ती स्थानान्तरण गर्ने काम पनि सँगै अघि बढाउनुपर्ने देखियो,’ उनले भने । जलवायु विशेषज्ञ सुदीप ठकुरीले अहिले ठूला हिमताललाई मात्र प्राथमिकतामा राखिएको, तर ससाना तालले पनि जोखिम बढाइरहेको बताए । ‘हिमनदी आइसभित्र पनि ताल हुन्छन् । ती ताल फुट्न सक्ने सम्भावना हुन्छ । अध्ययन नगरी तटीय क्षेत्रवरपर बस्ती बसाल्नुभएन, भएका बस्ती पनि स्थानान्तरण गर्नुपर्छ । पहिलो काम अध्ययन–अनुसन्धान हो । यथार्थ विवरण ल्याइसकेपछि तालको जोखिम घटाउने र बस्ती स्थानान्तरणका कार्यक्रम अगाडि बढाउन सकिन्छ । पूर्वदेखि पश्चिमसम्म भिरालो पहाड छ । जतिखेर पनि पहिरो जान सक्ने, ढुंगा, चट्टान खस्न सक्ने भएकाले हिमताल विस्फोटको जोखिममा हुन्छन्,’ उनले भने । युनडिपी र इसिमोडको अध्ययन प्रतिवेदनमा उल्लेख भएअनुसार सुनकोशी सहायक जलाधार क्षेत्रमा मात्र तिब्बततिर चारवटा हिमताल उच्च जोखिममा छन् । ती तालमध्ये कुनै एउटा फुटेर भोटेकोशीमा बाढी आएमा कम्तीमा १६ हजार जनसंख्या प्रभावित हुन सक्छ । २७१ रोपनी खेतमा असर गर्न सक्ने, भोटेकोशी जलाधार क्षेत्रमा रहेका जलविद्युत्मा क्षति हुन सक्ने र चार अर्ब डलरको क्षतिको आकलन गरिएको छ । श्रेष्ठले भनेझैँ नेपालमा ठुला हिमताल फुट्दा निकै ठुलो क्षति बेहोर्नुपरेको छ । जस्तो, सनु १९६४ र १९८१ मा गरी दुईपटक तिब्बतमा रहेको सेरेमाचो हिमताल फुट्दा नेपाल र तिब्बतमा गरी दुईवटा पुल बगाएको थियो । सुनकोशीको बाढीले ४० घर रहेको पुरानो बाह्रबिसे बजार बगाएको थियो । पछिल्लोपटक थामे जलाधार क्षेत्रमा रहेको करिब चार हेक्टरको थ्याङ्बो हिमताल फुट्दा खोलाछेउको थामे बस्ती बगायो । दुधकोशी नदीको सहायक खोला थामेमा ३२ साउन दिउँसो आएको बाढीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेका १५ घरमा पूर्ण क्षति गर्दा १० घरमा आंशिक क्षति गरेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय विज्ञान प्रविधि स्कुलका डिन सुदीप ठकुरीको अध्ययनअनुसार ताल फुट्दा तीन लाख ४० हजार घनमिटर पानी बाहिर निस्किएको छ । जसको परिणामस्वरूप तालको पानीको गहिराई १५ मिटर घटेको छ  । दिउँसो घटना भएकाले मानवीय क्षति हुनबाट जोगिए पनि यो घटनाले ठुलो पाठ सिकाएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय विज्ञान प्रविधि स्कुलका डिन सुदीप ठकुरी  भन्छन्, ‘दुई वर्षअघि हामीले अध्ययन गर्दा जोखिमपूर्णमा देखिएको थिएन । अहिलेको घटनाले ससाना हिमताल पनि अध्ययन गर्नुपर्ने र ती जोखिमपूर्ण छन् भन्ने देखिन्छ ।’ जस्तो, २१ असार ०७३ मा सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा आएको भीषण बाढीले निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजनाको बाँध भत्काउनका साथै तटीय बस्तीका घर बगाएको थियो । मितेरी पुलभन्दा २० किलोमिटरमाथि रहेको जाङ्जाम्बो हिमतालबाट १२ सय मिटर उत्तरमा रहेको एउटा सानो हिमताल फुट्दा दुई लाखदेखि साढे दुई लाख घनमिटर पानी बाहिरिएको थियो । ०७४ मा पनि मकालु हिमशृंखलाअन्तर्गत पर्ने यउपा पिकको फेदमा रहेको सानो आकारको लाङ्माले हिमताल फुट्दा होटेल, गोठ, पुल र चौपाया बगाएको थियो । किन बढिरहेका छन् हिमताल ? विज्ञहरू सम्मिलित अध्ययनअनुसार बढ्दो तापक्रमका कारण हिमाली क्षेत्रमा हिमनदी पग्लिएर हिमताल बढे्का हुन् । ‘हिमनदी पग्लिएर नयाँ हिमताल बनिरहेका छन् । हिमनदीले ओगटेको क्षेत्रमा ताल बनेका छन् । पहिले प्राकृतिक रूपमा ताल बढिरहेका थिए । पछिल्ला दशकमा मानवसिर्जित जलवायु परिवर्तन, तापक्रम वृद्धिका कारण हिमनदी पग्लिएका हुन्,’ वरिष्ठ जलवायुविज्ञ शेष श्रेष्ठले भने । तीनवटै देशमा रहेका हिमतालको क्षेत्रफलसमेत बढेको पाइएको छ । हिन्दुकुश हिमालय क्षेत्रमा हिमतालको क्षेत्रफल ९४.४ वर्ग किमिदेखि १२७.६ वर्ग किमिसम्म बढेको छ । तालको संख्यामा ८६ र क्षेत्रफलमा ३५.१ प्रतिशतले वृद्धि एकीकृत प्रतिवेदनमा उल्लेख छ । जल तथा मौसम विज्ञान विभागको अध्ययन (सन् १९७१–२०१४) अनुसार नेपालको अधिकतम तापक्रम वृद्धिदर वार्षिक ०.०५६ डिग्री सेल्सियस छ । यो वृद्धिदर हिमालमा ०.०८६, उच्च पहाडमा ०.०६८, मध्यपहाडमा ०.०५२, शिवालिक क्षेत्रमा ०.०३० र तराईमा ०.०२१ डिग्री सेल्सियस छ । किन फुट्छन् हिमताल ? २० साउन ०४२ मा विस्फोट भएको सोलुखुम्बुको डिग च्छो हिमताल । विस्फोटले निर्माणाधीन नाम्चे जलविद्युत् आयोजना र १४ वटा झोलुंगे पुलमा क्षति पुर्‍याएको थियो । बाढीले ९० किमिसम्म असर गरेको थियो । हिमपहिरो वा चट्टान हिमतालमा खसेमा फुट्ने हुन्छ । त्यस्तै, कमजोर बनोटमा बनेका तालको बाँध फुट्न सक्छ । हिमताल विस्फोटबाट आउने बाढीको बहावको घनत्व १.४७ टन प्रतिघनमिटर अनुमान गरिन्छ । आकारमा ठुला रहेका हिमताल फुटे ढुंगासमेत बगाएर ल्याउने र त्यसले सय किलोमिटरसम्म क्षति पु¥याउन सक्छ । हिमताल विस्फोटको बाढीले बस्ती, खेत, जलविद्युत् आयोजना, सडकमा क्षति गर्ने गरेको छ । हेलिकोप्टरमार्फत गरिएको निरीक्षणका आधारमा सरकारले थामेमा दुईवटा हिमताल फुटेको बताए पनि विज्ञहरूले फरक तर्क गरेका छन् । हिमनदी र हिमतालको क्षेत्रमा अनुसन्धानमा सक्रिय वरिष्ठ जलवायु विशेषज्ञ अरुणभक्त श्रेष्ठ र जलवायु विशेषज्ञ सुदीप ठकुरीले थ्याङ्बो नामक एउटा मात्र हिमताल फुटेको देखिएको बताए । ‘माथिल्लो तालको पानी छचल्किएर तल्लो तालमा आएको देखिन्छ, तल्लो ताल भने फुटेर थामेखोलामा मिसिएको छ,’ इसिमोडका वरिष्ठ जलवायु विशेषज्ञ श्रेष्ठ भन्छन्, ‘माथिल्लो तालको पानी किन छचल्कियो अनि तल्लो ताल किन फुट्यो पुस्ट्याइँ हुन सकेको छैन ।’ यसबारे इसिमोडले पनि विस्तृत अध्ययन गर्ने उनले बताए । मध्यपश्चिमाञ्चल विश्वविद्यालय विज्ञान प्रविधि स्कुलका डिन ठकुरीले पहिरो वा अन्य कारणले माथिल्लो तालको पानी तल्लो तालमा पुगेको हुन सक्ने, तर माथिल्लो ताल नफुटेको बताए । ‘तल्लो ताल फुटेको प्रस्ट देखिन्छ । त्यो तालको अगाडिपट्टि पनि पहिरो गएको हो कि भन्ने छ,’ उनले भने । विपत् प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले पनि माथिल्लो तालको पानी तल्लो तालमा खसेर डिल भत्किएको देखिएको बताए । ‘तालको पानी एकैपटक बगेकाले क्षति भएको देखिन्छ,’ उनले भने, ‘ठुला चट्टान, गेग्रानसहितको बाढीले खोलाको सतह खोतल्दै अघि बढेको पाइयो ।’ अति जोखिममा रहेका नेपालका हिमताल दोलखाको च्छोरोल्पा, संखुवासभाको तल्लो बरुण, सोलुखुम्बुको इम्जा, लुम्दिङ र पश्चिम चामजाङ तथा मनाङको थुलागी हिमताल अति जोखिममा रहेको अध्ययन प्रतिवेदनले देखाएको छ । अध्ययनअनुसार च्छोरोल्पाबाट १२ सय घरका ५१ सयजना, तल्लो बरुणबाट ११ हजार ७८२ घरका ५३ हजार ८५९, इम्जाबाट १५ सय घरका ७७ सय, लुम्दिङबाट ६ हजार ९५ घरका २९ हजार १५४, थुगालीबाट ६३० घरका ३८ सय जना प्रभावित हुन सक्छन् । जोखिम घटाउन के भइरहेको छ तयारी ? विस्फोटको उच्च जोखिममा रहेका हिमतालबाट पानी घटाउन सके जोखिम कम गर्न सकिन्छ । तर, बजेटको अभावमा सरकारले यो काम अपेक्षाकृत गर्न सकेको छैन । नेपालले अहिलेसम्म विस्फोटको उच्च जोखिममा रहेका ६ मध्ये दुईवटाको पानी घटाइसकेको छ । दोलखाको च्छोरोल्पा र सोलुुखुम्बुको इम्जाको पानी घटाइसकिएको छ । तर, ती हिमताल पनि पूर्ण रूपमा जोखिमयुक्त भइसकेका छैनन् । च्छोरोल्पाको सन् २००० मा र इम्जाको सन् ०१६ मा पानीको सतह घटाइएको हो । यहाँ हिमतालमा पानीको सतह घटाइनुका साथै तल्लो तटीय क्षेत्रका बस्तीमा बाढीको पूर्वसूचना प्रणालीसमेत जडान गरिएको छ । नेपालले संखुवासभाको तल्लो बरुण, सोलुखुम्बुको लुम्दिङ र पश्चिम चामजाङ तथा मनाङको थुगाली हिमतालको जोखिम न्यूनीकरणका लागि बजेट खोजिरहेको छ । ‘जोखिममा रहेका हिमतालको पानी घटाउन र जोखिम टार्न ठुलो धनराशि चाहिन्छ । सरकारी तवरबाट सकिने कुरा भएन,’ जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले भने, ‘२० लाख डलरको फन्ड जुटाउन हरित जलवायु कोषसँग कुरा भइरहेको छ । टुंगिएको छैन ।’ आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार