बारम्बार सडकको विषयमा छलफल हुँदा काम गर्ने भनेर निर्माण व्यवसायीले प्रतिबद्धता जनाउने तर काम नहुने गरेको राईको भनाइ छ । ट्र्याक चौडा गर्दै कालोपत्रेका लागि तीन खण्डमा छ वर्षअघि नै ठेक्का लागेको सडकको अहिलेसम्मको प्रगति करिब ५० प्रतिशत मात्र रहेको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । दमकदेखि चिसापानी ३३ किलोमिटर सडकमध्ये अहिले करिब दुई किलोमिटर मात्र कालोपत्रे भएको छ । दमकको जिरो प्वाइन्टदेखि सात किलोमिटर सडक पहिलो खण्ड अन्तर्गत ६० प्रतिशत काम पूरा भएको सडक डिभिजन कार्यालय दमकका इन्जिनियर एवं सूचना अधिकारी गौतमकुमार देवले बताए ।पहिलो खण्डमा करिब दुई किलोमिटर कालोपत्रे भएको छ । पाँच पटकभन्दा बढी म्याद थप गर्दा पनि काम पूरा हुन नसकेको बताइएको छ । कालोपत्रेका लागि तयारी अवस्थामा रहेको छ तर निरन्तर पानी परेको र विभिन्न कारणले रोकिएको छ । ढिला काम गरेकाले निर्माण व्यवसायीले जरिबाना पनि तिरिरहेको बुझिएको छ । २०७५ साल साउन २९ गते महालक्ष्मी–किराँतेश्वर जेभीले ३० महिनाभित्र सक्ने गरी ठेक्का लिएको थियो । यो ठेक्का तोडिएको छैन । सन्तोषजनक काम नभएको र बारम्बार पत्राचार गरिएको देवको बताइएको छ । सडकको दोस्रो खण्ड १५ किलोमिटर र तेस्रो खण्डको ११ किलोमिटर सडक भने निर्माण सम्झौता रद्द भएको छ । लुम्बिनी–गणपति जेभीले निर्माण सम्झौता अनुसार काम नगरेपछि ठेक्का सम्झौता रद्द गरिएको प्रवक्ता देवले जानकारी दिए । दोस्रो खण्डमा ६० प्रतिशत र तेस्रो खण्डमा २२ प्रतिशत प्रगति छ । यो दुवै खण्डमा कालोपत्रेको काम भने सुरु भएकै छैन । २०७६ फागुनमा दोस्रो र तेस्रो सडक खण्डको ठेक्का लागेको थियो । दोस्रो ५४ करोड ४४ लाख ८७ हजार र तेस्रो ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का लागेको बताइएको छ । अब स्रोत सुनिश्चित गरेर सडक निर्माणका लागि फेरि नयाँ प्रक्रियामा जानुपर्ने अवस्था रहेको र त्यही अनुसारको तयारी गरिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । सो सडक २०४९ सालदेखि निर्माणका लागि पहल भएको बताइएको छ ।
प्रतिक्रिया