इटहरी : इटहरी उपमहानगरपालिकाले नगरभित्रका निजी शिक्षालय कक्षा ११ मा पढ्ने दुई सय १४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
उपमहानगरपालिकामा चार सय ८३ जनाले शैक्षिक सत्र २०८१।०८२ का लागि आवेदन दिएकामध्ये परीक्षा लिएर छात्रवृत्ति प्रदान गरिएको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख द्रोणप्रसाद दाहालद्दारा सार्वजनिक गरिएको नतिजामा उल्लेख छ ।
उपमहानगरपालिकाद्दारा सार्वजनिक गरिएको नतिजाअनुसार आवेदन दिएकामध्येबाट परीक्षा लिदाँ सबैभन्दा बढी विश्व आदर्शबाट ६७ जनालाई छात्रवृत्ति प्रदान गरिएको छ । यस्तै, सुष्मा सेकेन्डरीमा ३९ जनालाई छात्रवृत्ति प्रदान गरिएको छ ।
कोशी सेन्ट जेन्सबाट २७, ग्रीनपिस एकेडेमीबाट १४, पूर्वाञ्चल सेकेन्डरीबाट आठ, प्रिमियर ग्लोवलबाट सात र सेतो बङ्गला एकेडेमीबाट छ जनालाई छात्रवृत्ति प्रदान गरिएको छ ।
यस्तै, बालविकास सेकेन्डरीबाट चार, बेबिलोन सेकेन्डरी, ज्ञानदर्पण एकेडेमी र चामुन्डा सेकेन्डरीबाट तीन–तीन जना, गोदावरी विद्या मन्दिरबाट दुई र इटहरी नोवेल एकेडेमीबाट एक जनालाई छात्रवृत्ति प्रदान गरिएको छ ।
छात्रवृत्ति पाउनेमा व्यवस्थापन, विज्ञान, होटल म्यानेजमेन्ट, र कम्प्यूटर विज्ञान अध्ययन गर्ने विद्यार्थी रहेको उपमहानगरले जनाएको छ ।
निजी विद्यालयले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने सरकारले घोषणा गरेतापनि ती शिक्षालयले आफूखुसी छात्रवृत्ति कार्यक्रम चलाइरहेका थिए ।
इटहरी उपमहानगरपालिकाले भने अघिल्लो शैक्षिक सत्र २०८०।८१ बाट नगरप्रमुख हेमकर्ण पौडेलको अग्रसरतामा निजी शिक्षालयमा छात्रवृत्ति कार्यक्रम प्रभावकारी बनाएको हो ।
मेयर पौडेलले शिक्षा सुधारमा सुधार गर्ने भन्दै अभियान सुरूसमेत गरेका छन् ।
प्रतिक्रिया