नाम संशोधन गर्न २ घण्टाको समय, प्रदेशको नाम ‘कोशी’ आजै घोषणा गर्ने तयारी

बुधबार, १७ फागुन २०७९
विराटनगर । प्रदेश १ लाई ‘कोशी’ नामकरण गर्ने विषय आज बुधबारै टुंग्याइने भएको छ । यसका लागि प्रक्रिया तीव्र रुपमा अघि बढाइएको छ । प्रदेशसभाका सभामुख बाबुराम गौतमले प्रदेश सभामा दर्ता भएको ‘कोशी’ नाममा संशोधन गर्न चाहने सांसदका लागि दुई घण्टा समय दिएर बैठक स्थगन गरेका छन् । नेकपा एमालेले प्रस्ताव गरेको कोशी प्रस्तावबारे सांसदहरूले बोल्ने क्रम सकिएको छ । दुई घण्टाको अवधिमा नाम संशोधन गर्न चाहने सांसदले संशोधन दर्ता गर्न सक्ने संसद सचिवालयले जनाएको छ । प्रक्रिया पूरा गरेर आजै नाम घोषणा गर्ने तयारी गरिएको छ । छलफलमा बोल्ने अधिकांश सांसदहरूले कोशीकै पक्षमा धारणा राखेका थिए । दिउँसो प्रदेश सभा सचिवालयमा प्रदेशको नाम कोशी राख्नुपर्ने र लिम्बुवान किरात सगरमाथा राख्नुपर्ने प्रस्ताव दर्ता भएका थिए। सुरूमा कोशी प्रस्तावलाई छलफलका लागि अघि बढाउन सभामुखले ध्वनि मतका आधारमा निर्णय गरेका थिए । उक्त प्रस्ताव छलफलका लागि स्वीकृत भएपछि नेकपा एकीकृत समाजवादी ले राखेको प्रस्ताव अस्वीकृत भएको थियो। कोशीको पक्षमा एमालेसहित नेपाली कांग्रेस र माओवादी केन्द्र छन् । छलफलमा बोल्दै कांग्रेस सांसदहरू कोशी प्रस्तावको पक्षमा देखिएका छन्। कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले पनि कोशी प्रस्तावको पक्षमा धारणा राखेका थिए भने माओवादी केन्द्रका ईन्द्र आङ्बोले पनि घुमाउरो तरिकाले कोशी प्रदेशकै पक्षमा धारणा व्यक्त गरेका थिए । माओवादी केन्द्रले कोशीका पक्षमा मत हाल्ने निर्णय गरिसकेको छ। एकीकृत समाजवादी र जसपाका सांसदहरू भने कोशी प्रस्तावको विपक्षमा उभिएका छन्। एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले सबै दलहरूले चुनावका बेला पहिचानको आधारमा प्रदेशको नाम राख्ने बाचा गरेको उल्लेख गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार