कास्की प्रहरीद्वारा रवि लामिछानेसँग बयान

सोमबार, १७ भदौ २०८१
काठमाडौँ : सरकार छाडेको दुई महिना नुपुग्दै तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग प्रहरीले बयान लिएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन उजुरीमा कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका लामिछानेसँग केही दिनअघि बयान लिएको हो। ‘उहाँ (रवि लामिछाने) लाई प्रहरीले सामान्य सोधपुछ गरेको हो। सहकारी ठगीमा छानबिन गर्न गठित संसदीय विशेष समितिले लामिछानेसँग नौ घण्टा बयान लिएको केही दिनपछि कास्की प्रहरीले सोधपुछ गरेको हो’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो। संसदीय विशेष समितिले लामिछानेसँग यसै प्रकरणमा यही भदौ ७ गते बयान लिएको थियो। स्रोतका अनुसार सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्तकुमार शर्मासहितको टोलीले काठमाडौं आएर पूर्वगृहमन्त्री तथा सांसद लामिछाने, रास्वपा सहमहामन्त्री विपीन आचार्य र नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीसँग लिएको हो। लामिछानेविरुद्ध २०८० माघ २२ गते कास्की प्रहरीमा परेको जाहेरीका आधारमा प्रहरीले उनीसँग बयान लिएको हो। सूर्यदर्शन सहकारीमा बचत रकम तत्कालीन अवस्थामा लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा लगेको र लामिछानेकै नाममा पनि ऋण प्रवाह भएको पाइएपछि बचतकर्ताले उनीविरुद्ध पूरक जाहेरी दिएका थिए। उनी गृहमन्त्री हुँदासम्म प्रहरीले जाहेरी अघि बढाउन सकेको थिएन। अहिले बल्ल प्रहरीले प्रक्रिया अघि बढाएको हो। ‘प्रहरीले यो विषयमा अनुसन्धान गर्नेछ’, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने। त्यस्तै बुटबलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट २०७८ असार २२ मा कुमार रम्तेलको नाममा एक करोड ९० लाख रूपैयाँ ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आइएमई बैंकमा भएको खातामा एक करोड तीन लाख ३६ हजार जम्मा गरी बाँकी लामिछानेको खातामा ऋण फस्र्योट देखाएर कुमार रम्तेलकै नाममा ऋण कायम गरेको छानबिनबाट पाइएको छ । यसैगरी सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट भूपेन्द्रबाबु राईको नाममा ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा सिद्धार्थ बैंकमा भएको खातामा २०७७ असोज ११ मा एक करोड, गोर्खा मिडिया नेटवर्क प्रालिकै ग्लोबल आइएमई बैंकमा भएको खातामा २०७८ वैशाख ५ मा एक करोड, २०७८ वैशाख ९ मा ३० लाख र २०७८ असार ४ मा एक करोड गरी तीन करोड ३० लाख रूपैयाँ जम्मा भएको छानबिनबाट पाइएको छ। सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ माघ २९ मा छविलाल जोशीका नाममा २ करोड ५० लाख रूपैयाँ ऋण खडा गरी गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा ग्लोबल आइएमई बैंकमा भएको खातामा दुई करोड ४५ लाख रूपैयाँ जम्मा भएको पनि पाइएको छ। यस विषयमा संसदीय विशेष समितिले प्रश्न गर्दा लामिछानेले यस्तो काममा आफू संलग्न नभएको दाबी गर्दै जिबी राईलाई थाहा होला भनेका थिए। पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा पेस्की जनाई २०७८ जेठ ३ मा ५० लाख रूपैयाँ मेगा बैंकको एकाउन्टपेयी चेक नं. २०२७२२१०८५ मार्फत र २०७८ असार ९ मा पनि ५० लाख रूपैयाँ मेगा बैंकको एकाउन्टपेयी चेक नं. २०२७२२१०९९ मार्फत गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा प्रवाह भएको देखिएको छ। त्यतिबेला पनि लामिछाने गोर्खा मिडिया नेटवर्कको सञ्चालक थिए। २०७८ असार ३१ मा लामिछानेकै नाममा सूर्यदर्शन व्यावसायिक कर्जा शीर्षकमा कर्जा नं ११६–४४५६ मा रकमान्तर गरी कर्जा खडा गरी पेस्की सेटल गरेको पाइएको छ। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा लामिछानेको नाममा रहेको कर्जा नं. ११६–४४५६ को ऋण एक करोड रूपैयाँको १४.७५ प्रतिशत ब्याजदरमा पहिलो वर्षको ब्याज १४ लाख ७५ हजार र दोस्रो वर्षको ब्याज रु. १६ लाख १३ हजार ७३० समेत गरी एक करोड ३० लाख ८९ हजार रूपैयाँ २०८० असार १३ मा गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा नयाँ कर्जा खाता नं. ११६–४८०१ खडा गरी ऋण कायम गरिएको थियो। २०७८ असार ३१ मा सुप्रिम सहकारीबाट पुलेसो कर्जामार्फत लामिछानेका नाममा १ करोड रकम निकासा गरिएको पाइएको छ। यी सबै विवरणमा आफ्नो संलग्नता नरहेको दाबी लामिछानेले संसदीय विशेष समितिसँग गरेका छन्। रास्वपाका सहमहामन्त्री आचार्य गोर्खा मिडिया नेटवर्ककमा तत्कालीन समयमा क्रिएटिभ डाइरेक्टर थिए । उनका नाममा पनि २०७८ पुस ६ मा सूर्यदर्शन सहकारीबाट १ करोड रूपैयाँ गोर्खा मिडियामा गएको पाइएको छ। ग्यालेक्सी टेलिभिजनका पूर्वसंस्थापक एवं पूर्वडिआइजी जोशीसँग पनि प्रहरीले बयान लिएको छ। जोशी पनि ग्यालेक्सी टेलिभिजनका लगानीकर्ता अर्थात् जिबी (गितेन्द्रबाबु) राईका साझेदार थिए। पछि उनी गोर्खा मिडियाबाट बाहिरिएका थिए। सहकारीका रकम गोर्खा मिडियामा लगेर अपचलन गरिएको र जोशी पनि कुनै समय गोर्खा मिडियाको साझेदार भएका कारण उनीसँग प्रहरीले बयान लिएको हो। आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार