स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धर्मशास्त्रविद् गौतमले जानकारी दिनुभयो । श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।
“अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, महिला र पुरुषहरुले असल वर तथा बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ”,उहाँले भन्नुभयो । नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् ।
यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरुको भनाइ छ । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रविद्हरुको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् ।
समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ । व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । तीजको व्रत हिन्दू मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख गरिएको पनि धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताउनुभयो ।
‘अकरणे प्रत्यवाय श्रवणात् करणे फल श्रवणाच्च हरितालिका व्रतं नित्यं काम्यं च भवति’ भनी धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएकाले पनि यस व्रतलाई संकुचित अर्थमा लिन नहुने उहाँले बताउनुभयो । जसको अर्थ हुन्छ यो व्रत नगर्दा दोष लाग्छ, गरेमा फल प्राप्त हुन्छ, यो व्रत नित्य र नैमित्तिक दुवै हो । पुरुषले घर बाहिरको काम गर्ने र महिलाले गृह व्यवस्थापनका काम गर्ने प्रचलन बस्न थाल्यो । महिलाले घर लगायत धर्मकर्मका काम गर्न थालेपछि व्रत बस्ने जिम्मेवारी पनि दिइएको बुझिन्छ ।
प्रायः घरमा धर्मकर्मका काम महिलाले नै गर्छन् । दर खानुपर्छ दुई भाग रात हुँदैमा यो व्रत सक्ने नीराहार बस्ने भएकाले बिहीबार व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् ।
विशेषगरी माइती एवं दाजुभाईले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने शास्त्रीय विधान छ । महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा तीजलाई उपयोग गर्ने गरेका छन् ।
तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । महिनाँै अघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा स्थापित गर्न खोजेको छ ।
यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा संस्कृतिविद् एवं धर्मशास्त्रीहरुले जोड दिएका छन् । एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा यसका लागि तोकिएको छ ।
बिहीबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । तीजलाई नेपाली नारीले मौलिक पर्वका रुपमा मनाउने गरेका छन् ।
प्रतिक्रिया