प्रभावकारी भएन इलाम अस्पतालको हेल्पडेस्क

शुक्रबार, १९ फागुन २०७९
इलाम । सेवाग्राहीलाई सजिलो होस् भनेर इलाम अस्पतालमा स्वास्थ्य हेल्पडेस्क स्थापना गरिए पनि प्रभावकारी बन्न सकेको छैन । इलाम नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि हेल्पडेस्क स्थापना गरिएको थियो । डेस्क स्थापनापछि धेरैले सहज सुविधा पाउने आशा गरेका थिए । तर आशा जरेजस्तो सहज नभएको सेवाग्राहीहरुको भनाई छ । सामान्य बिरामी पर्दासमेत यहाँ उपचार नभएर बाहिर जानु पर्ने बाध्यता हटेको छैन । अस्पतालको भवन पर्याप्त छ । ज्वरो आउँदा समेत उपचार नपाएको गुनासोसेवाग्राहीको छ । हेल्पडेस्क छ भन्ने नै धेरैलाई थाहा छैन । सोझै अस्पतालमा गएर सेवा लिने सेवाग्राही त्यहाँ पुगेर पुरानै शैलीमा सेवा लिन्छन् । न हेल्प डेस्क स्थापना गर्ने इलाम नगरपालिकाले हेल्पडेस्कको सेवा सिकायो न सेवाग्राहीले बुझ्न नै चाहे । इलाम अस्पतालबाट स्वास्थ्य बीमाको रेफर लिएर जाने सेवाग्राहीले समेत उल्टै समस्या झेल्नु परिरहेको छ । अस्पतालको प्रशासन शाखाबाट छाप लगाएर थप सेवा लिन जाने सेवाग्राहीहरु पनि कहिले जिल्ला प्रशासन कार्यालय पुग्छन् त कतिले छाप नै नलगाई झापाका अस्पतालमा पुग्छन् । छाप नलगाई झापाका अस्पतालमा पुगेका सेवाग्राहीले पुनः इलाम आएर रेफरकार्डमा छाप लगाएर जानुपर्ने बाध्यता हुन्छ । यस्ता सेवा प्रवाहमा समेत इलाम अस्पतालको स्वास्थ्य हेल्पडेस्कले सहयोग नगरेको उनीहरुको गुनासो छ । यस्तो समस्याले दोहोरो भाडा तिर्न बाध्य हुनु परेको सन्जोक पी गुरुङको भनाई छ । उनले अस्पतालले दिने रेफर कार्डमा छाप नलगाइदिएका कारण दोहोरो मार परेको गुनासो गरे । छाप नलगाएको रेफर कार्डबाट झापाका अस्पतालले उपचार गर्न नमान्दा सेवाग्राहीले आफलैँ खर्च गरेर उपचार गराउनु पर्ने बाध्यता छ । इलाम नगरपालिकाले स्थापना गरेको स्वास्थ्य हेल्पडेस्कमा एकजना अधिकृत स्तरसहित दुईजना कर्मचारी राखिएको छ । केहीले पुराना केही कर्मचारीलाई ब्यवस्थापन गर्न मात्रै हेल्पडेस्क स्थापना गरिएको बताउने गरेका छन् । स्वास्थ्य हेल्पडेस्कका लागि नयाँ निर्माण भएको भौतिक संरचना र कर्मचारीलाई दिइने तलब अनुसारको काम पनि नदेखिएको सेवाग्राहीको भनाई छ । इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले यस विषयमा इलाम नगरपालिकाको ध्यानाकर्षण भएको बताए । उनले यसलाई थप ब्यवस्थित बनाउँदै स्तरोन्नति गर्नतर्फ लाग्ने बताए । आएका गुनासाहरुलाई सम्वोधन गरेर अघि बढ्ने बताउँदै उनले यसको छुट्टै कार्यविधि रहेको र त्यसलाई समेत कार्यान्वयन गर्ने बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार