कोशी प्रदेशमा आफ्नै नेतृत्वको सरकारले निरन्तरता पाउने एमालेको दाबी

शनिबार, २० फागुन २०७९
विराटनगर । केन्द्रमा राजनीतिक समीकरण फेरिए पनि कोशी प्रदेशमा आफ्नै नेतृत्वकै सरकारले निरन्तरता पाउने एमालेले दाबी गरेको छ । निर्वाचनअघि देखिएको एमाले र राप्रपाबीचको गठबन्धनले निरन्तरता पाएसम्म कोशी प्रदेश सरकारको फेरबदल सहज देखिँदैन । त्यही भएर पनि तत्काल कोसी प्रदेश सरकार नफेरिने अवस्था देखिएको छ । कोशी प्रदेश सरकारलाई समर्थन गरेर सरकारमा रहेका नेकपा माओवादी केन्द्र र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएका छन् । समर्थन कामयै रहेपछि हिक्मतकुमार कार्की नेतृत्वको एमाले सरकारले निरन्तरता पाउने भएको हो । ९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ जना प्रदेश सभा सदस्य आवश्यक पर्छ । कांग्रेस नेतृत्वको पछिल्लो गठबन्धनमा ४७ जना प्रदेशसभा सदस्य छन् । गठबन्धनकै एक घटक नेकपा माओवादी केन्द्रका बाबुराम गौतम सभामुख छन् । सदनमा कुनै विषयमा मत बराबर भए सभामुखले निर्णायक मत दिन पाउने व्यवस्था छ । नयाँ बन्ने सरकारले विश्वासको मत लिँदा कुनै प्रदेशसभा सदस्य अनुपस्थित भएर मत बराबर नभएको स्थितिमा सभामुखले निर्णायक मत दिन नपाउने भएकाले नयाँ बन्ने सरकारले विश्वासको मत नपाउने अवस्था आउने देखिन्छ । राप्रपाले नयाँ समीकरणलाई सहयोग नगर्ने र नयाँ गठबन्धनलाई बहुमत पुर्‍याउन प्राविधिक जटिलता भएका कारण एमाले नेतृत्वको सरकारले निरन्तरता पाउने मुख्यमन्त्री कार्कीको दाबी छ । कोशी प्रदेशको वर्तमान सरकारमा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका छ र जसपाका एक गरी ६० जना प्रदेशसभा सदस्य छन् । कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादीका चारजना गरी विपक्षमा ३३ जना प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार