इलाम । इलामको रोङ गाउँपालिकालाई ताजा तरकारी उत्पादनको कामका लागि एक करोड रुपैयाँ दिइने भएको छ । सहरी क्षेत्रलक्षित ताजा तरकारी उत्पादनका लागि अर्थ मन्त्रालयले सहयोग गर्ने भएको हो ।
आगामी असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी सहरी क्षेत्र लक्षित ताजा तरकारी उत्पादन अभिबृद्धि र बजारीकरणका लागि मन्त्रालयले बजेट दिने भएको हो । कार्यक्रम स्वीकृत भइसकेको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास) ले बताए । उनका अनुसार कृषि मन्त्रालयको समन्वयमा कृषि अन्र्तगतको उक्त बजेट अर्थ मन्त्रालय मार्फत गाउँपालिकाले पाउने छ ।
कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेस गरिसकिएको गाउँपालिकाले जनाएको छ । पूर्व अर्थमन्त्री जनार्दन शर्माको पहलमा कार्यक्रम स्वीकृत भएको गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए ।
तराई र छिमेकी मुलुक भारतसँग सीमा जोडिएको रोङ गाउँपालिकाबाट प्रशस्त तरकारी निर्यात भइरहेको छ । ढुवानीमा समेत सस्तो पर्ने भएकाले भारतीय ब्यापारी आएर खरिद गर्ने गरेका छन् । बजार राम्रो भएकाले स्थानीय किसान तरकारी तथा फलफूल खेतीमा व्यावसायिक रुपमा लागेका छन् ।
नयाँ बजेटबाट कम लागतमा गुणस्तरीय तरकारी उत्पादन गर्ने गरी काम थालिने गाउँपालिकाले जानकारी दिएको छ । कार्यक्रमले तराईमा हुने डुवान लगायतका समयमा समेत यहाँबाट सहज रुपमा तरकारी पठाउन पहल गरिने छ ।
औल क्षेत्र भएका कारण पनि सो क्षेत्रमा तरकारी खेती फस्टाउने गरेको छ । झापा, मोरङ, सुनसरी हुँदै काठमाडौसम्म यहाँ उत्पादित तरकारी पुग्ने गरेको छ ।
रासायनिक औषधि प्रयोग भएका भारतीय तरकारी प्रयोगले स्वास्थ्यमा प्रतिकल असर पार्ने भएकाले पनि अर्ग्यानिक तरकारी उत्पादनमा आफुहरु लाग्ने पालिका अध्यक्ष तामाङको भनाई छ ।
स्थानीय उत्पादनलाई भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न सक्ने गरी कार्यक्रम अघि बढाइने भएको छ ।
प्रतिक्रिया