विराटनगर महानगरपालिका–८ मा रहेको जेबी ट्रान्सपोर्टमा छापा

शनिबार, ०५ असोज २०८१
विराटनगर : राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले विराटनगर महानगरपालिका–८ मा रहेको जेबी ट्रान्सपोर्टमा छापा हानेको छ । तस्करीको कपडा रहेको सूचनाका आधारमा राजस्वका अधिकृत सरोज कोइराला नेतृत्वको टोलीले शुक्रबार दिउँसो १ बजेतिर छापा हानेको हो । छापा हानेर २७ बोरा कपडा बरामद गरिएको राजस्व अनुसन्धान कार्यालय इटहरीका अधिकृत रामप्रसाद लुइँटेलले जानकारी दिए । काठमाडौं पठाउन ठिक्क पारिएको कुर्त सलवारलगायतका कपडा बरामद गरिएको उनले बताए । बरामद गरिएका कपडा भारतबाट भन्सार छली गरी तस्करी गरेर विराटनगर ल्याइएको राजस्वको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तस्करी गरेर ल्याइएको कपडाको भ्याट बिल असम्बन्धित फार्मले काटिदिने गरेको पाइएको छ । बरामद गरिएकामध्ये २३ बोरा कपडाको कृष्ण ट्रेडर्स र ४ बोराको ग्लोबल ट्रेडर्सले भ्याट बिल काटिदिएको पाइएको लुइँटेल बताउँछन् । ‘व्यापारिक कारोबार गर्ने उद्देश्यले दर्ता गरिएका फार्ममार्फत भ्याट बिल काटेर कपडाको तस्करी गर्ने गरेको पाइयो,’ उनले भने, ‘कृष्ण र ग्लोबल ट्रेडर्सले भ्याट बिल मात्रै काटिदिँदा रहेछन् ।’ दुवै फार्मले कपडाको कारोबार, खरिद, बिक्री भने नगर्ने गरेको पाइएको छ । ‘भ्याट बिल र भीसीटीएसको बिल बनाउँदा रहेछन् । तस्करीको कपडालाई वैधानिक देखाउन मात्रै बिल काट्ने गरेको पाइयो,’ उनी भन्छन्, ‘दुवै फार्म कपडाको कारोबारमा कतै जोडिदैनन् । बिल चैं बेच्ने गरेको खुलेको छ ।’ बिल बेचेबापत ५ सयदेखि १ हजार रूपैयाँसम्म लिने गरेको पाइएको राजस्वले जनाएको छ । राजस्वका अनुसार दुवै फार्मबाट भ्याट र भीसीटीएसको बिल काटेर जेबी ट्रान्सपोर्टमार्फत कपडा काठमाडौं पठाउन लागिएको थियो । कृष्ण ट्रेडर्स विराटनगर–१४ र ग्लोबल ट्रेडर्स विराटनगर–९ मा छ । राजस्वको टोलीले कृष्णका संचालक सुव्रत देलाई पक्राउ गरेको छ । देसँग मिलेर कपडा तस्करी गर्ने ओमप्रकाश साह र मनिष चौधरीलाई पनि राजस्वको टोलीले नियन्त्रणमा लिएको थियो । देलाई थुनामा राखेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको बताउँदै लुइँटेलले साह र चौधरीलाई सोधपुछ गरेर खोजेका बेला उपस्थित हुने गरी छाडिएको जानकारी दिए । उनका अनुसार तस्करीमा संलग्न भनिएका गणेश साह र शंकर साह फरार छन् । ग्लोबल ट्रेडर्सका सञ्चालक मञ्जर आलम पनि फरार छन् । राजस्वको टोलीले जेबी ट्रान्सपोर्टमा छापा हानेर कृष्ण ट्रेडर्सका संचालकलाई पक्राउ गरेको थाहा पाएपछि मोबाइल अफ गरेर मञ्जर भागेको अधिकृत लुइँटेलको भनाइ छ । उनका अनुसार फरार भएकाको खोजी भइरहेको छ । बरामद गरिएको कपडा अन्दाजी ६ करोड मूल्य बराबरको रहेको बताइएको छ । ‘कपडाका पोका खोल्न बाँकी छ । खोलेर मूल्यांकन गरेपछि वास्तविक मूल्य थाहा हुन्छ । थप अनुसन्धान भइरहेको छ,’ लुइँटेलले भने । उनका अनुसार कपडाको तस्करी गरिरहेका राजकुमार रौनियारको गोदाममा पनि यसअघि छापा हानिएको थियो । विराटनगर भन्सार कार्यालयका एजेन्टसमेत रहेका रौनियारको कपडासहितको ट्याक्टर राजस्वले नियन्त्रणमा लिइएको थियो । रौनियार नामुद कपडा तस्कर रहेको राजस्वले जनाएको छ । तस्करीको कपडासहितको ट्याक्टर नियन्त्रणमा लिएर उनीसँग राजस्वले १५ लाख धरौटी माग गरेको थियो । त्यसबापत रौनियारले बैंक ग्यारेन्टी दिएका छन् । ‘लामो समयदेखि कपडाको तस्करी गरिरहेको सूचनाका आधारमा रौनियारको गोदाममा पटकपटक छापा हानिएको छ । प्राप्त केही प्रमाणले उनी कपडामा तस्करीमा संलग्न छन् भन्ने देखाउँछ,’ लुइँटेल भन्छन् । रौनियारले भने मुलुकलाई घाटा पुग्ने भएका कारण आफू तस्करीमा संलग्न नरहेको दाबी गरेका छन् । ‘म राजस्वमारा काम गर्दिन । तस्करी गर्नेका बारेमा सम्बन्धित निकायलाई सूचना चैं दिन्छु,’ उनले भने। तस्करीसँग सम्बन्धित धेरै सूचनाहरु आफूसँग रहेको रौनियार बताउँछन् । उनले आफू भन्सार एजेन्ट नरहेको र व्यापार गरेर बस्ने गरेको दाबी गरे ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार